कल्पना गर्नुहोस् ! अबको केहि वर्षपछि कस्तो हुनेछ संसार ?



सन् २०१८ मा विज्ञान–प्रविधिको क्षेत्रमा धेरै नै विकास हुनेछ । अहिले विभिन्न क्षेत्रमा भएका गतिविधिलाई नियाल्दा यो वर्षभित्रै प्रविधिले ठूलो फड्को मार्ने अनुमान गर्न थालिएको छ । विभिन्न क्षेत्रमा भैरहेका अनुसन्धान एवं विकासका कारण यो सब सम्भव भएको हो ।

१.सेल्फ ड्राइभिङ भेइकल
ड्राइभरलेस कार निर्माणको क्षेत्रमा पश्चिमी देशदेखि लिएर चीन र जापानसम्म ठूला–ठूला अनुसन्धान भैरहेका छन् । यो प्रविधि सन् २०१८ मै सर्वसाधारणको पहुँचमा पुग्ने अनुमान गरिएको छ । यसको सुरुवात भने ड्राइभरलेस ट्रकबाट हुन सक्छ । यसको सफल परीक्षण सन् २०१७ मै भैसकेको छ । ड्राइभरलेस सवारी साधनबाट सडक दुर्घटनामा कमी आउनुका साथै इन्धनको खपत समेत घट्नेछ ।

२.यातायातका लागि ड्रोन
ड्रोनको प्रयोग अहिले पनि भैरहेको छ, तर अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अलि फरक खालको ड्रोन विकास गरिरहेको बताएको छ । खासगरी अन्तरिक्ष प्रयोजनका लागि निर्माण गरिएको उक्त ड्रोन परिवहनका लागि अर्थात् यातायातको क्षेत्रमा समेत प्रयोग गर्न सकिनेछ ।

यद्यपि अन्य विभिन्न कम्पनीका ड्रोनले पनि एक स्थानबाट अर्को स्थानसम्म सामान ओसार्न अर्थात् यातायात प्रयोजनका लागि अहिले पनि ड्रोन प्रयोग गरिरहेका छन् । यो वर्ष यसको प्रयोगले थप व्यवहारिक रूप लिनेछ ।

३.रोबोटको संसार
सन् २०१७ को अक्टोबरमै हङकङको कम्पनी ह्यान्सन रोबोटिक्सले मानवीय स्वरूपको रोबोट निर्माण गरिसकेको छ । उक्त रोबोटको नाम सोफिया राखिएको छ र साउदी अरबमा त उक्त रोबोटलाई नागरिकतासमेत प्रदान गरिएको छ ।

सन् २०१८ मा यो कार्यले अझ गति लिनेछ र आमजनजीवनमा यस्ता रोबोटको भूमिका समेत बढ्नेछ । गुगलले हालै पर्सनालिटी रोबोटको पेटेन्ट पाएको घोषणा पनि गरेको छ, जसले मानिसको व्यक्तित्वअनुसारको रोबोट उपलब्ध गराउनेछ । विभिन्न क्षेत्रमा मानिसको सट्टा रोबोटले काम गर्न थाल्नेछन् ।

४.आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रभाव
यो वर्ष आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोगमा निकै वृद्धि हुनेछ । यसले मानिसको दिमागभन्दा निकै अगाडि बढेर कार्य गर्नेछ । मानिसको जीवनलाई सहज बनाउन यसको निकै उपयोग हुनेछ ।

समय, दिन र कालअनुसार यो प्रविधिले आफैं कार्य गर्नेछ । यसका लागि छुट्टै व्यक्ति वा प्रविधिको सहयोग आवश्यक पर्नेछैन । यद्यपि एआई मानवका लागि खतरनाक पनि साबित हुनसक्छ । त्यसैले सतर्कतापूर्वक यसको अध्ययन एवं प्रयोग गर्नुपर्ने कुरा बताइँदै आएको छ ।

५.सबैका लागि इन्टरनेट
विश्वका सबै मानिसले नि:शुल्क रूपमा इन्टरनेट चलाउन पाउनुपर्छ भन्ने आवाज पहिलेदेखि नै उठिरहेको छ । यसका लागि आवश्यक कार्य पनि भैरहेका छन् । विभिन्न वैज्ञानिक संस्थाहरू अहिले हाई स्पिड इन्टरनेट नि:शुल्क उपलब्ध गराउन अन्तरिक्षमा स्याटेलाइट स्थापना गर्ने प्रयास गरिरहेका छन् । सन् २०१८ मा यो कार्यले पूर्णता पाउने अनुमान छ ।

इन्टरनेटको प्रयोग अझ बढ्दै जानेछ । सन् २०१८ मा विश्व जनसंख्याको अनुपातअनुसार प्रत्येक २० नागरिकमा एक जनासँग वाइफाइ हुनेछ । विश्वमा इन्टरनेट ट्राफिकले १ सय ३२ एक्साबाइट पार गर्नेछ । त्यसैगरी मोबाइलमा १० दशमलव ५ एक्साबाइट डाटा उपयोग हुनेछ ।

६.तीव्र गतिमा डाटा ट्रान्सफर
लाइट पिक एउटा नयाँ डाटा ट्रान्सफर गर्ने प्रविधि हो । यसलाई सुपर हाई डाटा ट्रान्सफर प्रविधि भनिन्छ । यो प्रविधिमार्फत प्रतिसेकेन्ड १ सय जिबी डाटा ट्रान्सफर गर्न सकिन्छ । इन्टरनेटको बढ्दो प्रयोगसँगै मानिसहरू डाटा स्टोर गर्न विभिन्न डिभाइस प्रयोग गरिरहेका छन् । अब डाटा जिबीमा होइन, टिबीमा स्टोर गरिँदैछ । यसका लागि विभिन्न प्रकारका एक्सटर्नल हार्ड ड्राइभसमेत प्रयोग गरिन्छ । यो अवस्थामा डाटा ट्रान्सफर गर्न लाइट पिकले धेरै नै सहयोग पुर्‍याउनेछ ।

७.आँखाबाट नियन्त्रण हुने प्रविधि
मोबाइल फोनमा अनुहार पहिचान गर्ने प्रविधि अहिले नै उपलब्ध छ । फेस आइडी नामकरण गरिएको उक्त प्रविधि आइफोन एक्समा प्रयोग गरिएको छ । सन् २०१८ मा आँखाबाट नियन्त्रण हुने प्रविधि समेत आइसक्नेछ । यो अनुहार पहिचान गर्ने एड्भान्स स्टेज हो । आँखाको नानी पहिचान गर्ने उक्त सफ्टवेयर क्यामेरा, सुरक्षा उपकरणदेखि लिएर विभिन्न प्रकारका मेसिनहरूमा प्रयोग गरिनेछ ।

८.स्मार्टफोनको प्रविधिमा आउने परिवर्तन
सन् २०१७ मा बेजललेस डिस्प्ले, फेस रिकग्निसन तथा ड्युअल क्यामेराजस्ता नयाँ प्रविधि आए । सुरुमा महँगा स्मार्टफोनमा मात्र उपलब्ध यो प्रविधि अब बिस्तारै सस्ता स्मार्टफोनमा समेत प्रयोग हुनेछ । सन् २०१८ मा पनि यस्ता विभिन्न प्रविधिका फोन बजारमा आउनेछन् ।

९.४ हजारभन्दा बढी ग्रह
नासाको केप्लर मिसनले हालसम्म हाम्रो सौर्यमण्डलभन्दा बाहिर २ हजार ३ सय ४१ वटा नयाँ ग्रहको खोजी गरेको छ । त्यसैगरी यस्तै खालका ४ हजार ४ सय ९६ वटा ग्रह पनि धेरै दृष्टिकोणले उपयोगी मानिएका छन् । पृथ्वीभन्दा बाहिर पनि जीवनको खोजी गर्ने क्रममा यी ग्रह पत्ता लागेका हुन् ।

यद्यपि तीमध्ये ३० वटा ग्रह हाम्रो पृथ्वीभन्दा दोब्बर ठूला छन् र त्यहाँ जीवनका लागि अनुकूल परिस्थिति उपलब्ध छ । यो खोजी कार्यले वर्ष २०१८ मा तीव्रता लिनेछ । यसका लागि गुगलको आर्टिफिसियल इन्टेलिजेन्सको उपयोग गरिनेछ ।

१०.क्वालकम फाइभ जी
फाइभ जी प्रविधिको प्रयोग सन् २०१९ देखि मात्र प्रारम्भ हुने अनुमान गरिएको छ । यद्यपि सन् २०१८ मै फाइभ जी प्रविधिका केही फोन तथा मोडेम बजारमा आउने अनुमान छ । विश्वको प्रमुख चिप निर्माता कम्पनी क्वालकमले केही महिना पहिले फाइभ जी मोडेम प्रदर्शन गरेको थियो । यो वर्ष उक्त मोडेम बजारमा आउनेछ । मोबाइल प्रविधिको मानक निर्धारण गर्ने संस्था थ्रिजीपीपीले फाइभ जी नेटवर्क, स्पेसिफिकेसन तथा फिचरका लागि मानक निर्धारण गरिसकेका कारण पनि यसतर्फ थप कार्य हुने अनुमान छ । यसबाट मोबाइल फोन निर्माता, टावर निर्माता तथा रेडियो इक्विपमेन्ट निर्माताले विभिन्न प्रकारका डिभाइसको निर्माण गर्न थाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्