अबदेखि अनावश्यक र आपत्तिजनक भिडियोमा युट्युबको कडाइ



युट्युब अहिले धेरैका लागि आम्दानीको स्रोत बनेको छ । युट्युबमा भिडियो अपलोड गरेपछि गुगलले त्यसमा छोटा विज्ञापन राखिदिन्छ । र, त्यो भिडियो जतिपटक हेरिन्छ, त्यसैका आधारमा भिडियो अपलोड गर्ने च्यानलले पैसा पाउँछ । यसरी घरमै बसेर पैसा कमाउन सकिने भएकाले पनि युट्युबप्रति धेरैको आकर्षण बढ्दो छ ।

भ्युज बढाएर पैसा कमाउनकै लागि कतिले त अनावश्यक र आपत्तिजनक भिडियो पनि अपलोड गर्ने गरेका छन् । यसबाट गुगलसँग विज्ञापनदाता पनि असन्तुष्ट हुदै आएका छन् |

किनभने, त्यस्ता भिडियोमा उनीहरुको विज्ञापन आएमा बजारमा उनीहरुको छवि बिग्रिने डर पनि उत्तिकै रहदै आएको छ |

त्यसैले अब युट्युबले यसमा कडाइ गर्न थालेको छ । दस हजारपटक हेरिएपछि मात्रै त्यो भिडियोलाई युट्युबले पैसा दिने गरेको थियो । अब भने दस हजार भ्युजसँग कम्तीमा एक हजार सब्सक्राइबर र पछिल्लो एक वर्षमा चार हजार घन्टाभन्दा बढी हेरिएका च्यानल मात्रै यसका लागि योग्य हुनेछन् ।

यससँग अपलोड गरिएका भिडियोमा भ्युअरले दिने प्रतिक्रिया पनि अध्ययन गरिने भएको छ । ताकि, आपत्तिजनक भिडियो बनाउनेले युट्युबमा अपलोड गरेर पैसा नकमाऊन् । यी नियमहरु अर्को महिनाबाट लागू हुने छन् ।

प्रतिक्रिया दिनुहोस्