भट्टराई भन्छन्, ‘समृद्धि हेर्न गोरखा जानु भन्ने भनाइ स्थापित गर्नुपर्छ’



काठमाडौं, २१ माघ

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको विदेश भ्रमण बेमौसमी भएको नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बताएका छन् ।

शनिबार गोरखा सदरमुकाममा पत्रकारसँग छोटो कुरा गर्दै भट्टराईले सरकार नबन्दै गरिएको स्वराजको भ्रमण हुनु कूटनीतिक हिसाबले उपयुक्त नभएको बताए ।

‘निर्वाचन सम्पन्न भइसक्यो, नयाँ सरकार बन्ने प्रक्रियामा छ,’ भट्टराईले भने ‘आउनै नहुने भन्ने त होइन, सरकार नबन्दै आउँदा अनावश्यक राजनीतिक अर्थ लागेको छ ।’

भट्टराई गोरखा उद्योग वाणिज्य संघको ४४औँ वार्षिक साधारणसभा तथा १५औँ अधिवेशन उद्घाटन गर्न गोरखा आएका हुन् ।

उद्योग वाणिज्य संघको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले तीव्र गतिले समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिए ।

‘न्याय नपाए गोरखा जानु भन्नु जस्तो गोर्खालीका लागि ठूलो मान अरू हुन सक्दैन,’ भट्टराईले भने ‘अब समृद्धि हेर्न गोरखा जानु भन्ने भनाइ स्थापित गर्नुपर्छ ।’

ऐतिहासिक, र धार्मिक महत्व तथा नेपाल राज्यको उद्गम थलो भएकाले पर्यटन विकासमा जोड दिन उनले उद्योगी व्यवसायीलाई आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्