बाबु बोगटी र यश कुमार बीच कपीराइटको विवाद (भिडियोसहित)



काठमाडौं, २१ माघ

सांगीतिक यात्रामा सँगै हिँडेको यो जोडी यशकुमार र बाबु बोगटी चलचित्र ‘बाटो मुनिको फूल’को सफलतासँगै सम्बन्ध अझ प्रगाढ बनेको थियो ।

सिनेमामा दाजुभाईको भूमिकामा देखिएपछि धेरैले उनीहरुलाई वास्तविक दाजुभाइ नै भन्ठाने । जे होस् उनीहरुको सहकार्य राम्रै भएको थियो । दुवै जना गायकबाट सिनेमाका कलाकार अझ भनौँ नायक पनि भए ।

तर यति बेला पर्दाका दाजुभाइको सम्बन्ध केही बिग्रिएको छ । कारण ‘सिउँदो’मा कोरिएको सिमाना । १२ वर्ष अगाडि यश कुमारको शब्द तथा संगीत रहेको गीत ‘सिउँदोमा कोरिएको सिमाना’ गायक बाबु बोगटीले गाएका थिए । गीत ठिकठाकै भएको थियो । तर १२ वर्षपछि गायक, संगीतकार तथा नायक यश कुमारले सोही गीत एकदेव लिम्बूलाई गाउन दिए । यही कुराले उनीहरुबीच विवाद बढेको छ ।

बाबु बोगटीले आफूले गाएको गीत थाहै नदिई यशकुमारले अरु कसैलाई दिएको भन्दै आपत्ति जनाएका छन् ।  यता यश कुमार भने आफूले १२ वर्ष अगाडि बाबु बोगटीलाई बिना पारिश्रमिक आपसी समझदारीमा एउटा भाइको नाताले गीत दिएको र पछि एकदेव लिम्बूले गीत माग्दा आफूले सोही गीत दिएको स्वीकार गरेका छन् ।

आफूले कुनै आर्थिक प्रलोभन वा बाबु बोगटीलाई अप्ठेरो पार्ने गरी नभई बाबु बोगटी आफ्नो भाई जस्तै भएको र यसलाई सामान्य रुपमा लिन्छन् भनेर दिएको यशकुमारको भनाई छ । तर यतिबेलाबाबु बोगटीले आफू माथि कपीराइटको मुद्दा हाल्ने धम्की दिएको भन्दै यसकुमारले चिन्ता प्रकट गरेका छन् ।

– उज्यालो र गफगाफ डटकमको सहकार्य ।

प्रतिक्रिया दिनुहोस्