आज यसरी बस्दैछ पोखरामा प्रदेश सभा बैठक



प्रदेश ४ का ५७ सांसदले गरे रिहर्सल, सभामुख र उपसभामुखको निर्वाचन तोकिँदै

प्रदेश ४ को ऐतिहासिक पहिलो प्रदेश संसद् बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार ११ बजे बस्ने संसद् बैठकका लागि आइतबार नमुना अभ्यास (रिहर्सल) समेत गरी तयारी पूरा गरेको हो । ६० जना सांसदमध्ये ५७ जनाले संसद् भवनमै उपस्थित भएर रिहर्सल गरे ।

पोखरा–लेखनाथ महानगरपालिका–३ नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा बैठक बस्दै छ । बैठकमा कुनै कमजोरी नहोस् भनेर आइतबार नै नमुना अभ्यास (रिहर्सल)समेत गरिएको प्रदेश मुख्यसचिव लक्ष्मण अर्यालले बताए । सोमबार हुने पहिलो प्रदेश संसद् बैठकको अध्यक्षता संसद्का ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठ गर्नेछन् ।

सभामुख र उपसभामुखको निर्वाचन तोकिँदै
प्रदेश ४ को सभामुख र उपसभामुखको निर्वाचन मिति सोमबार तोकिने भएको छ । पहिलो संसद् बैठक बस्नुभन्दा १ घन्टाअगाडि बस्ने तय भएको सर्वदलीय बैठकले सभामुख र उपसभामुखको निर्वाचन मिति तय गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रदेश संसद्को सुरक्षा दुई तहमा
प्रदेश संसद्को सुरक्षा प्रहरीले गर्ने गरी व्यवस्था मिलाइएको छ । संसद् भवनमा दुईतहको सुरक्षा व्यवस्था गरिएको छ । भित्र मर्यादापालकले र बाहिर प्रहरीले सुरक्षा दिनेछन् । सभाहलमा दर्शकदीर्घामा बस्ने दर्शक, आमन्त्रित व्यक्तित्व, प्रदेश सरकारका कर्मचारी र पत्रकार बस्ने गरी व्यवस्थापन भएको छ । संसद् सचिवालयमा मिडिया सेन्टर स्थापना गरिएको छ । संघीय संसद्मा गरिएका अभ्यासहरू सबै प्रदेश संसद्मा रहेको मुख्यसचिव लक्ष्मण अर्यालले जानकारी दिए ।

१६ जना मर्यादापालक खटिए
संसद्को पहिलो बैठकका लागि १६ जना मर्यादापालक खटिँदै छन् । जसमा १२ पुरुष र ४ महिला छन् । प्रहरी निरीक्षक लिलाराज लामिछानेको नेतृत्वमा मर्यादापालक टोली खटिएको छ । टोलीमा १ जना प्रहरी सहायक निरीक्षक र ७ प्रहरी हवल्दार र ६ जना जवान खटिँदै छन् । यसअघि ३० जना मर्यादापालक खटाउने तयारी भए पनि सामान्य अवस्थामा संसद् चल्ने अनुमान गरी संख्या घटाइएको हो ।

सांसद्लाई पुरानै, दर्शकलाई नयाँ कुर्सी
संसद् बैठकमा सांसदलाई बोल्नका लागि ३५ वटा माइकको व्यवस्था गरिएको छ । एउटा माइकले दुईजनालाई पुग्ने गरी माइकको व्यवस्था गरिएको छ । त्यसैगरी ३ जनालाई एउटै टेबलमा लेख्न मिल्ने गरी व्यवस्थापन गरिएको छ ।

दर्शकदीर्घा, आमन्त्रितसहित ८० जना अट्ने गरी नयाँ कुर्र्सीको व्यवस्था गरिएको छ भने सांसदहरूका लागि पुरानै कुर्सी नै व्यवस्थापन भएको छ । प्रदेश सभा सांसद औपचारिक पोसाकमा पहिलो बैठकमा सहभागी हुनेछन् । अर्यालका अनुसार मर्यादित र भद्र पोसाक लगाएर संसद्मा आउनुपर्ने छ ।

कर्मचारीको कमीले व्यवस्थापनमा समस्या
प्रदेश ४ को संसद् सचिवालयका लागि कुल २७ जना कर्मचारी खटाइएको भए पनि अझै आधाभन्दा बढी संसद् भवनमा आइपुगेका छैनन् । प्रदेश संसद् सचिवालयका उपसचिव नगेन्द्रराज पौडेलका अनुसार आइतबारसम्ममा १३ जना कर्मचारी मात्र हाजिर भएका छन् ।

त्यसमध्ये उपसचिव ४ जना, शाखा अधिकृत ४ जना, नायब सुब्बा ३ जना र कार्यालय सहयोगी २ जना रहेका छन् । ‘कर्मचारी प्रर्याप्त नहुँदा तत्कालीन व्यवस्थापनका लागि गाह्रो भइरहेको छ’ उपसचिव पौडेलले भने ।

यस्तो छ संसद्भवन
नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा संसद् भवन छ । भवन १ सय ५० जना क्षमताको भए पनि १ सय ७० जनासम्म अटाउने गरी व्यवस्थापन भएको छ । ठूलो हलसँगै हलबाट आउनजान मिल्ने गरी जोडिएका (एटेज) दुईवटा कोठा रहेका छन् भने बाहिर एउटा कोठा रहेको छ ।

हलभित्र महिला तथा पुरुषका लागि छुट्टाछुट्टै शौचालयसमेत रहेका छन् । संसद् हलमा केही नयाँ र केही पुराना फर्निचरहरूको व्यवस्था गरिएको छ । संसद् भवनसँगै रहेको दुईतले भवनमा संसद् सचिवालयका कर्मचारीको कार्यालय छ ।

पहिलो बैठकका ५ कार्यसूची
१. प्रदेश ४ को पहिलो बैठकले संसदीय परम्पराअनुसार सुरुमा ज्येष्ठ सदस्यले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् ।
२. प्रदेश सभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ लाई संसद्समक्ष प्रस्ताव गर्ने र छलफल गरी पारित गरिनेछ ।
३. प्रदेश सभाको ऐतिहासिक पहिलो अधिवेशन प्रारम्भका अवसरमा दलका प्रतिनिधिलाई मन्तव्यको समय दिइनेछ ।
४. चौथो कार्यसूचीमा सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यसूची रहेको छ । प्रदेश सभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ अनुसार सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यक्रम छ । सभामुखको अनुपस्थितिमा संसद् सञ्चालनका लागि संसद्मा सहभागी ५ दलका १–१ जना प्रतिनिधि रहने गरी अध्यक्षमण्डल गठन गर्ने तयारी छ ।
५. प्रदेश सभाको सभामुखको निर्वाचनका लागि दिन तोकिनेछ । प्रदेश सभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा १ अनुसार सभामुखको निर्वाचनको मिति तोकिनेछ ।

भव्य र सभ्य बनाउँदै छौँ : लक्ष्मण अर्याल, मुख्यसचिव, प्रदेश ४
ऐतिहासिक संसद् बैठकका लागि आधारभूत तयारी पूरा भएको छ । बैठकका लागि आवश्यक प्रदेश संसद्का लागि सभाहल, संसद् सचिवालय तयारीको काम सकिएको छ । सामान्य भौतिक सुधारका कामहरू अझै बाँकी रहेका छन् ।

केही व्यवस्थापकीय सुधारका काम पनि रहेका छन् । ती कामलाई क्रमशः सुधार गर्दै लगिनेछ । संघीयता कार्यान्वयनका लागि प्रदेश ४ को पहिलो ऐतिहासिक बैठकलाई भव्य र सभ्य तरिकाबाट पूरा गर्नका लागि हाम्रा संरचना, कर्मचारी सुरक्षा व्यवस्था तयारी अवस्थामा रहेका छन् । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्