७२ वर्षीया सुकमाया तामाङले पाइन् नागरिकता



दमकस्थित एक वृद्धाश्रममा रहेकी ७२ वर्षीया वृद्धालाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । लायन्स क्लब अफ दमक माउन्ट एभरेस्ट र सबाल नेपाल अनलाइनको पहल तथा दमक नगरपालिकाको सक्रियतामा सुकमाया तामाङलाई नागरिकता प्रदान गरिएको हो । केही महिनाअघि राहत सामग्री लिएर दमक–४ स्थित रत्न वृद्धाश्रममा पुग्दा सुकमायाले नागरिकता नरहेको भन्दै आँसु झारेपछि पहल गरेको लायन्स क्लबका अध्यक्ष रुद्र गौतमले बताए ।

नागरिकता नहुँदा आफूले पाउने सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै वृद्धा भक्कानिएपछि नागरिकता दिलाउन पहल गरेको उनको भनाइ छ । गौतम र नगरपालिकाका इन्जिनियरसमेत रहेका लायन्सकर्मी तीर्थनारायण श्रेष्ठले नागरिकता दिलाउन पहल गर्ने आश्वसन दिएका थिए ।

लायन्स क्लब र सबाल नेपालले दमक नगरपालिकाका मेयर रोमनाथ ओली, उपमेयर गीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत युवराज दाहाललगायतलाई जानकारी गराएपछि नगरपालिकाले नागरिकता दिलाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

उपमेयर अधिकारीले तत्कालै आवश्यक कागजपत्र जुटाउन नगरपालिकाको सम्बन्धित फाँटमा निर्देशन दिएकी थिइन् । मेयर ओलीले नागरिकता दिलाएर सामाजिक सुरक्षा भत्ता वृद्धाश्रममै पुर्‍याउने प्रतिबद्धता जनाएका थिए ।

आइतबार नगरपालिका उपमेयर अधिकारीले लायन्सकर्मीको रोहबर र सनाखतमा बसेर तामाङलाई नागरिकता दिलाएका हुन् । जनप्रतिनिधि मिना विश्वकर्मा, लायन्सकर्मी मनोज अग्रवाल, बुद्धिशेखर भट्टराई, नगरपालिकाका कर्मचारी दलबहादुर खत्री, वृद्धाश्रममा रेखदेख गर्दै आएकी रीता सुनुवारलगायत इलाका प्रशासन कार्यालय गएर आफूहरू रोहबरमा बस्न तयार रहेको बताएका थिए ।

इलाका प्रशासन कार्यालय दमकका प्रमुख भोजराज श्रेष्ठले जनप्रतिनिधि र समाजका लब्धप्रतिष्ठित व्यक्तिहरूका कारण तामाङलाई नागरिक प्रदान गर्न सकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्