भारतीय सहरमा ठगिए बिरामी



बाह्रदशी गाउँपालिका–२ स्थित राजगढका ५७ वर्षीय कालीबहादुर भण्डारी दिसा गर्न बस्दा गाँठो देखा पथ्र्यो । आफूलाई पाइल्स भएको थाहा पाएपछि उनी रेडियोको विज्ञापन सुनेर उपचार गराउन भारतीय सहर पानीट्यांकी गए ।

रेडियोले भारतको सीमावर्ती सहर पानीट्यांकीमा रहेका क्लिनकहरुको विज्ञापन बजाएपछि उनी त्यतैतिर हानिएका हुन् । पानीट्यांकीको पाथीभरा क्लिनिकका डाक्टरले उनलाई शल्यक्रियाबिनै उपचार गर्ने बताए । त्यहाँ नेपाली डाक्टरहरु पनि थिए । ‘निको नभए पैसा फिर्ता गर्नेसम्म भने,’ कालीबहादुरले सुनाए, ‘उनीहरुले सुईबाट औषधि हालिदिए ।’

सुई लगाएपछि उनको पाइल्स सुन्निन थाल्यो । बढ्दै गएपछि फुट्यो । र, मासु झर्न थाल्यो । सँगै अर्को समस्या थपियो– बल गर्दा पनि दिसा निस्कनै छाड्यो । ‘पैसा नलिएसम्म हप्तैपिच्छे बोलाइरहे,’ कालीबहादुरले भने, ‘पैसा लिइसकेपछि अब नआउँदा पनि हन्छ भनेर पठाइदिए ।’ पानीट्यांकीको क्लिनिकमा उनले २० हजार भारतीय रुपैयाँ खर्च गरे । तर, रोग निको भएन ।

भारतमा आफू ठगिएको थाहा पाएपछि उनी बिर्तामोडकै बी एण्ड सी हस्पिटलमा भर्ना भए । बी एण्ड सीका डाक्टर रोहित यादवले लामो प्रयासपछि उनलाई निको पारे । ‘छुरा हानेको बिरामीको उपचार गर्न सजिलो हुन्छ बरु,’ डा. यादवले भने, ‘रोगको उपचार गर्ने बहानामा उल्टै बिगारिदिएपछि त्यसलाई ठीक गर्न साह्रो पर्छ ।’

डा. यादवका अनुसार मेची अञ्चलका धेरै बिरामीहरु भारतीय सहर पानीट्यांकीमा उपचार गराउन गएर यसरी मृत्युको मुखमा पुगेका छन् । ‘त्यही पानीट्यांकीमा कसैले नेपालीलाई छुरा हान्यो भने हाम्रो देशभर हल्लाखल्ला हुन्छ,’ डा. यादवले भने, ‘तर, त्यहीँ सयौँ नेपाली बिरामीलाई उपचारको बहानामा मृत्युको मुखमा पु¥याउँदा पनि मौन छ ।’

भारतबाट गगिएका कालीबहादुरले नेपालमै उपचार त पाए । तर, भारतमै उपचार बिग्रिएकाले उनको दिसा नियन्त्रण हुन अझै सकेको छैन । उपचार पूर्ण रुपमा सकिएपछि केही कसरत सिकाएर दिसा नियन्त्रणमा ल्याउन प्रयास गरिने डा. यादव बताउँछन् ।
रोकिएन ठगी

भारतको सीमावर्ती सहर पानीट्यांकीमा जथाभावी खोलिएका क्लिनिकहरुले नेपालका बिरामीलाई ठग्ने क्रम अझै रोकिएको छैन । पूर्वी नाका काँकडभिट्टाबाट ५ मिनेटमा पुगिने पानीट्यांकी बजारमा रहेका दर्जनौँ क्लिनिकहरुले सस्तोको प्रलोभन देखाएर नेपाली बिरामीलाई ठग्ने गरेका छन् ।

ती क्लिनिकहरुले पाइल्स, फिस्टुला, हाइड्रोशिल लगायत दर्जनौँ रोगको उपचार ग्यारेन्टीका साथ गरिने विज्ञापन गर्छन् । त्यस्ता क्लिनिकहरु नेपाली बिरामीलाई मात्रै लक्षित गरी स्थापना गरिएका हुन् । नेपालका बिरामीलाई क्लिनिकसम्म लैजानका लागि क्लिनिक सञ्चालकले नेपालकै ‘एजेन्ट’ प्रयोग गर्ने गर्छन् । एजेन्टमार्फत बिरामी पानीट्यांकीसम्म पुगिरहेका छन् ।

पानीट्यांकीका क्लिनिकहरुले सस्तोमा ग्यारेन्टीका साथ उपचार गरिने भन्दै मेची अञ्चलका ठाउँ–ठाउँमा पर्चा, पम्प्लेट नै टाँसेका छन् । सोही पर्चा हेरेर र एजेन्टको भनाइमा विश्वास गरेर उपचारका लागि त्यहाँ पुग्नेहरु उपचार बिग्रिएर नेपालका अस्पतालमा इमर्जेन्सीमा भर्ना भइरहेका छन् ।

ती क्लिनिकमा बिरामी पुग्नासाथ पैसाको मोलमोलाइ सुरु हुन्छ । पैसामा कुरो मिलेपछि मात्र उपचार सुरु गरिन्छ । रोग निको नभए पैसा फिर्ता गर्ने प्रचार गरिए पनि हालसम्म कसैको पैसा फिर्ता गरिएको छैन । बिरामीहरुले नेपालका प्रशासनलाई गुहारे पनि हालसम्म केही कारबाही प्रक्रिया अगाडि बढेको छैन ।

पानीट्यांकीका शान्ति पाइल्स क्लिनिक, माँ पाथीभरा आयुर्वेदिक, चाँदसी क्लिनिक लगायत दर्जनौँ क्लिनिकहरुले सस्तो उपचारका नाममा नेपाली बिरामीलाई सास्ती दिइरहेका छन् । नेपालका बिरामीलाई ठग्ने त्यस्ता क्लिनिकहरुको वैधानिकतामाथि सम्बन्धित निकायले चासोसमेत दिएको छैन । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्