धूलो, धूवाँले उकुस–मुकुस काठमाडौं



काठमाडौँ — स्वच्छ भई बाँच्न पाउनु हरेक प्राणीको नैसर्गिक अधिकार हो । हरेक जीवित प्राणी जोकोहीलाई पनि स्वच्छ वातावरणसाथ निर्धक्कसँंग श्वास फेर्न पाउने अधिकार छ । तर यसो भनिरहँदा सबै प्राणी बारेमा यहाँ चर्चा गर्न आवश्यक नहोला । तर जीवित प्राणीहरूमध्येको एक चेतनशील प्राणी मानव जीवन जसले काठमाडौं उपत्यकामा दिन–प्रतिदिन ज्यानमारा धूलो र धूवाँँ खाइरहेका छन् ।

यदि यस्तै अवस्था काठमाडौंमा रहिरहने हो भने मानिसको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य दिन–प्रतिदिन घट्दै जाने अनुमान गर्न सकिन्छ । काठमाडौंमा आजभोलि विकासको नाममा मानव शरीरको विनाश भइरहेको छ । यस्तो अवस्थाले सर्ने र नसर्ने दुवै रोगको संक्रमण दर बढ्दै जाने र नयाँ–नयाँ व्यक्तिहरूमा गम्भीर स्वास्थ्य समस्या सिर्जना भई उसले दैनिक गर्ने कार्यमा समेत ह्रास आउँछ र उत्पादकत्वसमेत घट्छ । जुन राष्ट्रका लागि धेरै चुनौतीको विषय हो ।

यदि समयमा नै नागरिक समाज, सरकार र सम्बन्धित सरोकारवालाहरूको यो विषयमा संयुक्त प्रयास भएन भने मानिसको मृत्युदर र रोगदरमा त वृद्धि आउने नै छ । तर धूवाँँमा भएको नकारात्मक ऊर्जाले अपांगता र अदृश्य जीर्ण रोगको समेत प्रकोप बढ्ने सम्भावना छ । अत: उक्त समस्यालाई सुधार गर्ने हो भने तलका कुरामा ध्यान दिनु आवश्यक छ ।

व्यक्तिगत भूमिका
काठमाडौं लगायतका अन्य सहरमा बसोबास गर्नेहरूले आम मानवमा प्रत्यक्ष असर पर्ने क्रियाकलाप सिर्जना गर्ने क्रममा एकले अर्काेलाई दोषारोपण गरेको पाइन्छ । यो समस्या उसले गर्दा भएको हो, तर मैले गर्दा भएको होइन भन्नेजस्ता आरोपित शब्दहरू । तथापि हरेकले दैनिक जीवनमा स्वस्थकर जीवनशैली अपनाउने घरपरिवार वा कार्यालयहरूबाट निस्केका फोहोर–मैला जथाभावी नफाल्ने, पलाष्टिक जथाभावी नजलाउने, घर वरिपरि धूलो नियन्त्रण गर्ने र पानीले भिजाएर जमिनको धूलो कम गर्ने । व्यक्तिगत गाडीहरू जथाभावी पार्किङ नगर्ने, जसले सडक जाम गराउँछ, पुराना गाडी र मोटरसाइकल नचलाउने ।

समुदायको भूमिका
काठमाडौं उपत्यकामा रहेका विभिन्न सहरी समुदायका व्यक्तिहरूले आफ्नो टोल सुधारका लागि संयुक्त पहल गर्नुपर्छ । आआफ्नो घरबाट निस्केको फोहोरलाई जथाभावी नफाली नगरपालिकाको समन्वयमा टोल सुधारबाट फोहोर उठाई विसर्जन गर्नुपर्छ । आफ्नो क्षेत्रमा घर वरिपरि र खाली ठाउँमा बिरुवाहरू लगाउनुपर्छ । पुराना गाडीहरू चलाउन बन्द गर्ने र टोलभित्र पर्ने सडकहरू पिच गर्ने । टोल सुधार अभियानका लागि सम्बन्धित स्थानमा कलकारखाना बन्द गर्ने । ‘समाज स्वस्थ भए म स्वस्थ हुन्छु’ भन्ने कुरामा विश्वास गर्ने । स्वास्थ्य र सरसफाइमा सधैं सामुहिक प्रतिबद्धता जाहेर गरी अवलम्बन गर्ने ।

सरोकारवालाहरूको भूमिका
स्वस्थ वातावरणसंँग सरोकार राख्ने निकायहरू स्वास्थ्य, शिक्षा, कृषि आदि सरकारी र गरैसरकारी संस्थाहरूले काठमाडौंको धूलो न्यूनीकरणका लागि वातावरण सरसफाइ, वृक्षरोपण, गाडीको व्यवस्थापनजस्ता क्रियाकलापमा सहभागितामूलक कार्य गर्दै जानुपर्छ । स्वस्थ समाज परिकल्पनालाई पूर्णता दिई व्यवहारमा लागू गर्न संयुक्त प्रयासको सिद्धान्त अनुसार स्वस्थकर समाजको निर्माण गर्नतिर लाग्नुपर्छ । धूवाँँ र धूलो प्रदूषणको नकारात्मक प्रभाव मानव स्वास्थ्यमा पर्छ र यो समस्याको समाधान स्वास्थ्य निकायले मात्र गर्नुपर्छ भन्ने संकुचित सोचाइबाट टाढा हुनुपर्छ ।

सरकारको भूमिका
स्वास्थ्य प्रबद्र्धनको माध्यमबाट त्यसको मूलभूत सिद्धान्त जस्तै– वकालत, सेवा र नीति नियमहरूको पूर्णरूपमा कार्यान्वयन गरी काठमाडौंको धूलो र धूवाँँको मात्रामा कमी गर्नु राजनीतिक प्रतिबद्धता र सरकारी नीतिको व्यवस्था हुनुपर्छ । सरकारले हरेक नागरिकलाई वातावरणीय सरसफाइ, धूवाँँ, धूलोको प्रकोप र त्यसबाट बच्न खेल्नुपर्ने भूमिका आदिबारे जानकारी दिने, उपलब्ध स्रोत र साधनको अत्यधिक प्रयोग गरी प्रदूषण कमी गर्ने । जस्तै– सवारी साधनहरूको मापदण्ड तोकी गुणस्तरीय सवारी साधनहरू उपलब्ध गराउने, सडकहरूमा धूलो कम गर्न स्थानीय सरकारले जलस्प्रे गरी धूलो उड्नबाट बचाउने । सबै जनतालाई ट्राफिक नियमको पालना गर्न लगाउने । प्रदूषण सम्बन्धी हरेक कुराको लागि स्रोत र साधनमा जनसहभागिता बढाउने । त्यस्तै सरकारले सम्बन्धित मन्त्रालय र विभागमार्फत गैरसरकारी निकाय समेतको सहभागिता र सक्रियतामा प्रदूषण न्यूनीकरण सम्बन्धी समय–सापेक्ष नीति–नियम र निर्देशिका तयार गरी प्रभावकारी कार्यान्वयन गर्ने र गर्न लगाउने ।

अन्त्यमा, आम नागरिकको स्वास्थ्यसँंग सम्बन्धित काठमाडौंमा धूवाँँ र धुलाको मात्रा कम गर्न एउटै निकाय र तहबाट मात्र सम्भव छैन । त्यसको प्रभावकारी कार्यान्वयन र सफलताका लागि सर्वसाधारणदेखि नीति निर्माण तहसम्म रहेकाहरूको निस्वार्थ भूमिका हुनु जरुरी छ । आफ्नो व्यक्तिगत स्वार्थबाट एक तह माथि उठेर सोची स्वस्थ समाज र नगर विकास गर्नसके मात्र व्यक्तिको स्वास्थ्य स्वस्थकर भई दिगो स्वास्थ्य हासिल हुनसक्छ ।
धिताल न्युक्यासल विश्वविद्यालयअस्ट्रेलियामा विद्यावारिधि गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्