सम्भवत मेसीको अन्तिम विश्वकप २०१८



अर्जेन्टिनासँग लियोनल मेसीका रूपमा विश्व फुटबलकै सबैभन्दा राम्रा खेलाडी छन्, तैपनि यिनै मेसीले आफ्नो देशका लागि अहिलेसम्म कुनै ठूलो उपाधि जित्न सकेका छैनन् ।

अर्जेन्टिना चार वर्षअघि पनि विश्वकपको फाइनलमा पुगेको थियो, तर ऊ जर्मनीको हातबाट पराजित भएको थियो । उक्त फाइनलको समाप्तिसँगै मेसी निकै निराशसमेत देखिएका थिए । अब प्रश्न उठ्छ, के मेसीले यसपल्ट अर्जेन्टिनाका लागि चमत्कार गर्न सक्छन् अर्थात् के आफ्नो देशलाई विश्वकपको उपाधि दिलाउन सक्छन् ?

यो प्रश्न दुई कारणले महत्त्वपूर्ण छ । पहिलो कारण, सम्भवत: मेसी आफ्नो खेल जीवनकै अन्तिम विश्वकप खेल्दैछन् । यही कारणले पनि उनी अझ राम्रो खेल्न प्रेरित हुन सक्छन् ।

दोस्रो कारण, दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले राम्रो गर्न सकेन । अन्तिम समयमा आएर मात्र अर्जेन्टिना छनोट हुन सफल भएको थियो । इक्वेडरविरुद्धको अन्तिम छनौट खेल अघिसम्म अर्जेन्टिना छनौट नहुने सम्भावनाबाट गुज्रिरहेको थियो, मेसीले उक्त खेलमा सनसनीपूर्ण ह्याट्रिक गरेका थिए । अहिलेसम्म खेलेका १२ विश्वकपमध्ये ११ वटामा नकआउट चरणमा पुगेको छ ।

यही समूहबाट अर्को चरणमा पुग्ने टिम कुन हुने हो, दाबी गर्न कठिन छ । आइसल्यान्ड, क्रोएसिया र नाइजेरिया लगभग उस्तै टिम हुन् । तीनवटै टिमको उद्देश्य अर्जेन्टिनासँग बराबरी खेल्नु र अरू खेलमा आफ्ना प्रतिद्वन्द्वीलाई हराउनु हुनेछ । अर्जेन्टिनाका लागि नाइजेरिया विश्वकपमा परिचित विपक्षी टिम हो ।

नाइजेरियाले अहिलेसम्म खेलेका छ विश्वकपमध्ये पाँचौं पटक अर्जेन्टिनाको सामना गर्दैछ । यसअघिका विश्वकपमा खेलिएका सबै चार खेलमा अर्जेन्टिना विजयी भएको थियो ।

अर्जेन्टिनाको ठीक विपरित आइसल्यान्ड यसपटकको विश्वकपमा डेब्यु गर्ने दुई टिममध्ये एक हो । आइसल्यान्डको जनसंख्या नै ३ लाख ३४ हजार मात्र छ । त्यसैले पनि आइसल्यान्ड विश्वकपमा छनोट हुने अहिलेसम्मकै सबैभन्दा सानो देश हो, जनसंख्याका आधारमा ।

आइसल्यान्डको टिम आफैं पनि कमजोर छैन, किनभने उसले युरो २०१६ मा इंल्यान्डलाई समूह चरणबाटै बाहिर पठाएको थियो । उसलाई कमजोर मान्ने भूल कसैले गर्ने छैनन् ।

क्रोएसिया युरोपेली प्ले अफमार्फत विश्वकपमा पुगेको हो । यसका लागि उसले ग्रिसलाई निराश तुल्याएको थियो । यद्यपि विश्वकपका पछिल्ला तीन संस्करणको आफ्नो पहिलो खेलमा क्रोएसियाले हार बेहोरेको छ ।

त्यसैले पनि क्रोएसियालाई कमजोर सुरुआत लिने टिमका रूपमा लिइन्छ, तर क्रोएसियालाई सन् १९९८ को विश्वकपका लागि पनि सम्झिइन्छ, जति बेला टिमले पहिलो पल्ट विश्वकप खेल्दै तेस्रो स्थान हात पारेको थियो । त्यसैले अर्जेन्टिनालाई छाडेर बाँकी तीन टिममध्ये कुन राम्रो छ, यसै भन्न सकिँदैन ।

जुन १६ अर्जेन्टिना–आइसल्यान्ड

जुन १६ क्रोएसिया–नाइजेरिया

जुन २१ अर्जेन्टिना–क्रोएसिया

जुन २२ नाइजेरिया–आइसल्यान्ड

जुन २६ नाइजेरिया–अर्जेन्टिना

जुन २६ आइसल्यान्ड–क्रोएसिया

प्रतिक्रिया दिनुहोस्