व्यक्तिले तागतको नशामा संस्कार र विनम्रता छोड्नुहुँदैन । तागतको घमण्डमा यी कुरालाई छोड्ने मानिसको जीवनमा अनेक समस्या आउँछन् ।
पाण्डवहरूको वनवास चलिरहँदा पाँचै पाण्डव र द्रौपदी जंगलमा घुमिरहेका थिए । उनीहरू कैलाश पर्वतमा रहेको जंगल पुगे । त्यतिखेर यक्षका राजा कुबेरको निवास पनि कैलाश पर्वतमा थियो ।
कुबेरको नगरमा एउटा सरोवर थियो । त्यमा कमलको फूल थियो । द्रौपदीले कमलको सुगन्ध पाएपछि भीमलाई त्यो फूल चाहियो भनिन् । भीम द्रौपदीलाई त्यो फूल लिनका लागि गए ।
बाटोमा उनले एउटा वानरलाई पुच्छर फैलाएर सुतेको देखे । कुनै पनि जीवलाई नाघेर जानु मर्यादाविरुद्ध हुन्थ्यो । त्यसैले भीमले वानरलाई आफ्नो पुच्छर हटाउन लगाए ।
वानरले वास्तै गरेनन् । भीमलाई क्रोध आयो । उनले भने, ‘म महाबली भीम हुँ ।’ वानरले ‘तिमी शक्तिशाली हौ भने मेरो पुच्छरलाई बाटोबाट हटाऊ र जाऊ’ भने ।
भीमले पुच्छर हटाउने कोशिश गरे तर पुच्छर पटक्कै हल्लिएन । भीमले हार माने । उनले वानरसँग प्रार्थना गर्न थाले ।
त्यसपछि वानरले आफ्नो असली रूप देखाए । उहाँ स्वयं पवनपुत्र हनुमान् हुनुहुन्थ्यो । उहाँले भीमलाई आफ्नो शक्तिमा कहिल्यै घमण्ड नगर्नू भनी सम्झाउनुभयो ।