यी चार नेताबीच नयाँ सरकारको अर्थमन्त्री बन्न तीव्र प्रतिस्पर्धा



काठमाडौं, २२ माघ

निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनपछि प्रतिनिधिसभाको सम्पूर्ण परिणाम सार्वजनिक गर्नेछ । राष्ट्रपतिलाई प्रतिनिधिसभाको अन्तिम परिणाम बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नभए पनि वाम गठबन्धनकै सरकार बन्ने भएको छ । प्रदेश र केन्द्र सरकारबारे एमाले र माओवादी केन्द्रबीच आन्तरिक सहमति भइसकेको छ । माओवादीले उपप्रधानमन्त्रीसहित, अर्थमन्त्री वा गृहमन्त्रीमध्ये एकमा दाबी गरेको छ । तर,

एमालेले भने दुवै आफ्नो पार्टीले राख्ने र अन्य मन्त्रालय दिने बताउँदै आएको बुझिएको छ ।प्रदेश र केन्द्र सरकारमा एमाले र माओवादी केन्द्रबीच ७०–३० प्रतिशत भागबन्डा हुने सहमति भइसकेको छ । यदि पार्टी एकता भएन भने माओवादीले राष्ट्रपति, सभामुख र केन्द्र सरकारमा उपप्रधानमन्त्री लिनेछ ।

तर, नयाँ सरकारको अर्थमन्त्रीलाई लिएर अहिलेदेखि नै एमाले नेताहरूबीच तीव्र प्रतिस्पर्धा चलेको छ । अर्थमन्त्रीका लागि ईश्वर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र प्रदीप ज्ञवालीबीच प्रतिस्पर्धा चलेको एमाले स्रोतले जनाएको छ । चारमध्ये पाण्डे माधवकुमार नेपाल पक्षका नेता हुन् । उनी पूर्वअर्थमन्त्रीसमेत हुन् ।

पार्टी उपमहासचिवसमेत रहेका पौडेल पनि अर्थमन्त्री भइसकेका छन् । फेरि एकपटक उनले अर्थमन्त्री बन्ने सपना देखेका छन् । पार्टी महासचिव पोखरेलको पहिलो दाबी गृहमन्त्री रहेको बताइएको छ । तर उनले आफूलाई अर्थमन्त्री बनाइए पनि स्वीकार गर्ने बताउँदै आएका छन् । तर, मंगलबार आयोजित एक कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरेल नयाँ सरकारको गृहमन्त्री बन्ने बताएकाले एमाले र माओवादी केन्द्रबीच केन्द्र सरकारका मन्त्री बाँडफाँट टुंगिसकेको अनुमान गरिएको छ ।

एमाले अध्यक्ष केपी ओली निकट नेता प्रदीप ज्ञवाली पनि अर्थमन्त्रीको दौडमा छन् । ओलीका विश्वासपात्र भएकाले ज्ञवालीलाई प्रबल दाबेदार मानिएको छ । भारतीय संस्थापन पक्षसँग निकट रहेका र नरेन्द्र मोदी र ओलीसँग सम्बन्ध सुधारका सेतुका रूपमा ज्ञवालीलाई लिने गरिएको छ ।

पूर्वअर्थमन्त्री पाण्डेले भने ओलीले जान्ने हो भने र अर्थतन्त्रलाई उकास्ने हो भने आफूलाई अर्थमन्त्री बनाउनुपर्ने निकटस्थ नेताहरूसँग बताउने गरेका छन् । ‘मैले अर्थशास्त्र पढेको छु । तीनजनाले पढेका छैनन् । पोखरेल र ज्ञवालीबाट अर्थतन्त्र उँभो लाग्दैन । बुटवलमा फेरि एकपटक बजेट हाल्ने मक्सद हो उनको, तर चाकडी गरेर म मन्त्री बन्दिनँ,’ पाण्डेको भनाइ उद्धृत गर्दै एक एमाले नेताले भने ।

प्रतिक्रिया दिनुहोस्