राष्ट्रपति जुमाले राजीनामा नदिने



प्रिटोरियो, २२ माघ : दक्षिण अफ्रिकी राष्ट्रपति जेकब जुमामाथि राजीनामा दिन दवाब बढेको भए पनि आफूले पद नत्याग्ने बताउनुभएको छ ।

राष्ट्रपति जुमाले आइतबारको सत्तारूढ दल एएनसीका वरिष्ठ नेताहरूसँगको वार्तापछि सो प्रतिक्रिया दिनुभएको छ । तर सो वार्ताबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

उहाँको यो सार्वजनिक प्रतिक्रियापछि उहाँको आफ्नै दलका नेताहरूले सोमबार आकस्मिक बैठक बोलाएका छन् । राष्ट्रपति जुमाले भ्रष्टाचारसम्बन्धी आरोपहरूको सामना गरिरहनुभएको छ ।

एएनसी पार्टीका वरिष्ठ नेताहरू आइतबार साँझ नै प्रिटोरियास्थित राष्ट्रपतिको निवासमा वार्ताका लागि पुगेका बताइएको थियो । उनीहरुसँगको वार्तापछि राष्ट्रपति जुमा पद त्याग्न तयार हुनसक्ने अनुमानहरु सर्वत्र गरिएको थियो ।

दक्षिण अफ्रिकामा अर्कोवर्ष आम निर्वाचन हुन लागेको छ । त्यसैले उक्त चुनावअघि नै पार्टी फुट्न सक्ने भएकोले पार्टीका प्रमुखहरू शक्ति संघर्षलाई पन्छाउन चाहेको बताएका छन् ।

उता यहाँका राजनीतिक विश्लेषकहरुका अनुसार संसद्मा संकल्प प्रस्ताव लगेर भए पनि सत्तारूढ दलका नेताहरूले राष्ट्रपति जुमालाई हटाउन सक्नेगरी प्रक्रिया सुरुगर्ने चर्चा पनि यहाँ सुरु भएका छन् ।

यीनै चर्चाहरुबीच राष्ट्रपति जुमाले पदत्याग्न सक्ने अनुमान गरिएको थियो । तर पनि आइतबार रातिको सो वार्तापछि भने यस्तो सम्भावना नरहेको देखिएको विश्लेषकहरुले बताएका छन् ।

सत्तारुढ दलका साथै विपक्षीहरुले पनि राष्ट्रपति जुमाले भ्रष्टाचार गरेकोले सत्ता त्याग्नुपर्ने मागराख्दै आएका छन् । उहाँको विरुद्धमा आन्दोलन भने सुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्