विराटनगर, २२ माघ
प्रदेश नं १ को अस्थायी मुकाम विराटनगरमा आज प्रदेशसभाको पहिलो बैठक बस्यो ।
बैठकको अध्यक्षता गर्नुभएका जेष्ठ सांसद ओम प्रकाश सरावगीले प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङद्वारा प्रदेशसभा बैठक आह्वान गरिएको पत्र पढेर सुनाउनुभएपछि राजनीतिक दलका प्रतिनिधिहरुको बोल्ने क्रम शुरु भयो ।
बैठकमा ६ दलका एक–एक प्रदेशसभा सदस्य र एक स्वतन्त्र सदस्यले आ–आफ्ना धारणा राख्नुभएको थियो । प्रदेशसभाको कार्य सञ्चालनका लागि नियमावली नबनेसम्मका लागि तयार पारिएको अन्तरिम कार्यविधि २०७४ लाई बैठकले पारित गर्यो ।
सभामुखको अनुपस्थितिमा प्रदेशसभा बैठक सञ्चालन गर्न गणेश तामाङ, प्रतापप्रकाश हाङगाम, राम कुमार राई, राधा थापा र विष्णु तुम्बाहाम्फेलाई तोक्ने काम भयो ।
बैठकको प्रारम्भमा ज्ञात अज्ञात शहीदको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो । प्रदेशसभाको अर्को बैठक माघ २९ गते सोमबार दिनको एक बजे बस्नेछ । सोही दिन सभामुखको निर्वाचन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।