‘सम्झनामा तरेली’



काठमाडौँ, २२ माघ : सांस्कृतिक संस्थानले ‘सम्झनामा तरेली’ सांगीतिक कार्यक्रमको आज यहाँ आयोजना ग¥यो ।

स्वर सम्राज्ञी अरुणा लामाको २० औँ स्मृति दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा नयाँपुस्ताका महिला गायिकाले स्व लामाले स्वर दिनुभएको कालजयी गीत प्रस्तुत गर्नुभयो ।

देव बज्राचार्यले रचना गर्नुभएको ‘एक्लै बस्दा…’ बोलको गीत गायिका भीमकला गुरुङले, ‘विरहले रोएको रातमा…’ भन्ने गीत गायिका टीका गुरुङले तथा शिला विष्ट, राधिका भण्डारी, राजेन्द्र थापाले रचना गर्नुभएको गीतमा रमा घतानीलगायत महिला गायिकाहरुले सुमधुर गीत प्रस्तुत गर्नुभएको थियो ।

सन् १९४५ मा भारतको दार्जिलिङमा जन्मनुभएका स्व लामाले आठ वर्षको उमेरदेखि गीत गाउन शुरु गर्नुभएको थियो । वरिष्ठ संगीतकार अम्बर गुरुङबाट औपचारिक संगीत शिक्षा हासिल गर्नुभएका लामाले विसं २०१६ सालमा रेडियो नेपालमा पहिलो पटक गीत रेकर्ड गर्नुभएको
थियो ।

गोरखा दक्षिण बाहु प्रथमसहित छिन्नलता पुरस्कारवाट विभूषित लामाले आफ्नो जीवनकालमा १५० भन्दा बढी कालजयी गीत गाउनुभएको थियो । विसं २०५० मा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा स्व लामाको एकल सांगीतिक साँझ प्रस्तुत भएको थियो । विसं २०५४ माघ २२ गते उहाँको निधन भएको थियो ।

कार्यक्रममा वरिष्ठ चलचित्र निर्देशक प्रकाश साय्मीले नेपाली सांगीतिक आकाशका वरिष्ठ महिला गायिका स्व. लामाले नेपालको सांगीतिक विकासमा महत्वपूर्ण योगदान दिएको बताउँदै विसं २०२१ मा नेपालमा चलचित्र उत्पादन शुरु भएपछि नेपाली चलचित्रका लागि पनि थुप्रै गीत गाउनुभएको स्मरण गर्नुभयो ।

उहाँले स्व. लामाको २०३९ सालको ‘स्मृतिका कोशेलीहरु’ विषयक सांगीतिक प्रस्तुतिले उहाँलाई साङ्गितिक क्षेत्रको उचाइमा पु¥याएको पनि बताउनुभयो ।

वरिष्ठ गीतकार राजेन्द्र थापाले गीतसंगीत क्षेत्रमा लाग्ने व्यक्तिमा धैर्यता र लगनशीलताको आवश्यकता हुने बताउँदै त्यस्तो गुण स्व लामामा रहेको थियो भन्नुभयो ।

सांस्कृतिक संस्थानका गायन प्रबन्धक कृष्ण गुरुङले स्व लामाको कालजायी गीतले उहाँलाई अमर बनाएको बताउनुभयो ।

संस्थानका महाप्रबन्धक राजेश थापाले सांगीतिक तथा कला क्षेत्रमा महत्वपूर्ण योगदान गरेका स्रष्टाको स्मरण गर्दै सांस्कृतिक संस्थानले विविध कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्