शिक्षा दिवस माघ २८ मा मनाइने तयारी



काठमाडौं, २२ माघ

अदालतमा मुद्धा परेसँगै रोकिएको ३८ औं राष्ट्रिय शिक्षा दिवसका कार्यक्रम अदालतद्धारा उक्त रिट खारेज भएसँगै माघ २८ गते अर्थात् आगामी आईतबार गरिने भएको छ ।

रिट खारेज भएसँगै शिक्षा मन्त्रालयले साविककै सूची अनुसार विद्यालयलाई पुरस्कृत गर्ने गरी कार्यक्रम तय गरेको प्रवक्ता डा. हरिप्रसाद लम्सालले जानकारी दिए ।

‘अदालतद्धारा रिट खारेज भएको पत्र प्राप्त भएसँगै हामीले उतिखेरै गरेको निर्णय अनुसार नै विद्यालयहरुलाई शिल्ड प्रदान र पुरस्कृत गर्ने कार्यक्रम तय गरेका हौं’ लम्सालले भने, ‘उक्त निर्णयमा आजै मन्त्री ज्यूले हस्ताक्षर गर्नु भएको हो ।’

दिवसका अवसरमा पुरस्कृत विद्यालयहरुको छनौट प्रकृयामा विरोध जनाउँदै प्रसादी एकेडेमीका तर्फबाट विक्रम राईले मुद्धा दायर गरेका थिए । उक्त रिट उपर सुनुवाई गर्दै उच्च अदालत पाटनले कार्यक्रम रोक्न अन्तरिम आदेश दिएको थियो । आदेश संगै गत भदौ २३ गते दिवस मनाउन शिक्षा मन्त्रालयले आवश्यक सबै तयारी सके पनि भदौ २१ गते कार्यक्रम स्थगित भएको थियो ।

उक्त अन्तरिम आदेश पछि अदालती प्रकृया सम्पन्न भए पश्चात ‘माग बमोजिमको आदेश जारी गरीरहनु पर्ने अवस्था नदेखिँदा उक्त रिट खारेज’ गरेको अदालतको फैसलामा उल्लेख छ । उक्त फैसलाको जानकारी अदालतले गत पुष २१ गते शिक्षा मन्त्रालयलाई दिएसँगै पुनः कार्यक्रम गर्ने गरी मन्त्रालयले निर्णय गरेको हो ।

दिवसका दिन राष्ट्रपतिबाट प्रदान गरिने विद्याभूषण प्रदानको कार्यक्रम भने यथावत् सम्पन्न भएको थियो ।

माध्यमिक विद्यालय राष्ट्रिय तथा प्रदेशस्तरीय शिल्ड, ध्वजा, प्रमाणपत्र एवं पुरस्कार वितरण कार्यक्रम गर्न मन्त्रालयले माघ २८ गते राष्ट्रिय सभागृह बुक गरेको छ ।

उक्त दिन मन्त्रालयले देशभरका ३० हजार सामुदायिक विद्यालय मध्येबाट ११ तथा ७ हजार निजी विद्यालयमध्ये ९ विद्यालय गरी उत्कृष्ट २० लाई पुरस्कृत गर्ने छ । अघिल्ला तीन वर्षका परीक्षामा प्राप्त नतिजा विश्लेषण, परीक्षामा सहभागी विद्यार्थी संख्या तथा तह अनुसार अध्यापन गराइएका विषयका आधार मानेर विद्यालय छनोट गरिएको मन्त्रालयको दावी छ ।

कक्षा ११ र १२ को उत्कृष्ट नतिजाका आधारमा सामुदायिकतर्फ त्रिपुरेश्वरस्थित विश्व निकेतन मावि र निजीतर्फ बागबजारस्थित काठमाडौं मोडेल मावि छनोट भएका छन् ।

कक्षा १० को पुरस्कारका लागि राष्ट्रिय स्तरमा सामुदायिकतर्फ बुटवलको कालिका मावि र निजीतर्फ विराटनगरको बालकल्याण विद्यामन्दिर छनोट भएका छन् । दुवै वर्गका विद्यालयलाई शिल्ड, प्रमाणपत्र र नगद २ लाख रुपैयाँ प्रदान गरिनेछ ।

प्रदेश स्तरमा उत्कृष्ट प्रदर्शन गरेबापत सामुदायिक तर्फ प्रदेश नम्बर १, २ र ३ बाट क्रमशः ओखलढुंगाको वरुणेश्वर मावि, रौतहटको ओम मावि र चितवनको नारायणी मोडेल मावि छन् । सामुदायिक तर्फ नै प्रदेश नम्बर ४, ५, ६ र ७ बाट क्रमशः कास्कीको बालमन्दिर मावि, बुटवलको कान्ति मावि, कालिकोटको मस्टो सरस्वती मावि र डोटीको सीताराम मावि छन् । दुर्गमबाट सामुदायिकतर्फ हुम्लाको महाबुद्ध मावि छनोट भएको छ । यी विद्यालयको पुरस्कार राशि १ लाख रुपैयाँ छ ।

यसपटक निजीतर्फ प्रदेश स्तरमा दिइने पुरस्कारका लागि प्रदेश नम्बर १, २, ३ र ४ बाट क्रमशः विराटनगरको एभरेस्ट बोर्डिङ स्कुल, रौतहटको मुनलाइट एकेडेमी, ललितपुरको जेम्स एकेडेमी र पर्वतको नमुना मावि छन् । निजीतर्फ नै प्रदेश नम्बर ५, ६ र ७ बाट क्रमशः गोरखा युनाइटेड पब्लिक स्कुल, सुर्खेतको छिन्छु इङलिस बोर्डिङ स्कुल र कञ्चनपुरको इन्टरनेसनल पब्लिक स्कुल छन्। प्रदेश स्तरमा छानिएका सबै विद्यालयलाई सिल्ड, प्रमाणपत्र र नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ ।

कक्षा ९ देखि नै प्राविधिक शिक्षा अध्यापन गरिरहेका विद्यालयमध्ये पनि बुटवलको कालिका मावि नै छनोटमा परेको छ । यो विद्यालय सामुदायिकतर्फ पनि राष्ट्रिय पुरस्कारका लागि छनोटमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्