ज्ञानेन्द्र शाहले भने: रुखबाट पात झरे पनि जरा फेरिँदैनन्



काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान् गरेका छन् । भारत उड्नअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै उनले रुखका पात झरे पनि जरा परिवर्तन नहुने बताएका छन् ।

‘हामीले धेरै कुरा प्रकृतिबाट पनि सिक्न सक्छौँ, रुखबाट पात झर्लान, तर जरा भने कहिल्यै परिवर्तन हुँदैनन्’, उनले पारिवारिक भनिएको दुई साता लामो भारत भ्रमणका लागि उड्नुअघि भने । उनले हिँड्ने बाटो फरक भए पनि सिद्धान्तमा भने निष्ठावान भएर अडिग रहिरहनुपर्ने जिकिर गरे ।

स्रोतका अनुसार पूर्वराजा शाह संकटमा रहेको भारतीय देसी गाई जोगाउन सक्रिय श्रीमार्ग नामको संगठनले गर्न लागेको कार्यक्रममा सहभागी हुन भारतको उडिसातर्फ लागेका हुन् । यसअघि नेपागन्जमा करिब एक महिना बसेर शाहले हिन्दु राज्य र राजतन्त्रको पक्षमा वकालत गर्न भ्याएका थिए । त्यो बेला उनी उत्तर प्रदेशका मुख्यमन्त्रीकहाँ पुगेर यी दुई कुराको लविङमा सक्रिय भएका थिए ।

यो भ्रमणमा पनि पूर्वराजाले नेपालमा हिन्दुत्वको मुद्दाबारे भारतीय नेताहरुसँग कुरा हुन सक्ने जनाउ दिए । पूर्वराजा शाह विमानस्थलमा पुग्दा राष्ट्रिय झण्डा बोकेर राजावादी र हिन्दुवादीहरु बिदाईका लागि पुगेका थिए ।

उडिसामा शनिबारदेखि आगामी बुधबारसम्म हुन लागेको गौ स‌ं‌रक्षण महोत्वसमा शाहलाई प्रमुख अतिथिकारुपमा बोलाइएको छ । उनलाई पठाइएको निमन्त्रणमा नेपालका राजाकै हैसियत दिइएको छ।

पछिल्लो समय धार्मिक गतिविधिमा सक्रिया पूर्वराजाले भारतमा पनि महोत्सवको अन्तिम दिन महायज्ञमा पूर्णाहुति दिने तालिका आयोजले सार्वजनिक गरेको छ। रोचक कुरा त के छ भने नेपालबाट राजसिंहासन खोसिएका ज्ञानेन्द्रलाई उडिसामा भारतीय हिन्दुवादीहरुले राजसिंहासनमै राखेर अभिषेक पनि गर्ने भएका छन् । (अन्नपुर्ण पोस्टबाट)

प्रतिक्रिया दिनुहोस्