मेडिकल शिक्षामा अनियमितता गर्ने ४३ जनालार्इ कारवाही गर्न सिफारिस



काठमाडौं, २३ माघ

चिकित्सा शिक्षा सम्वन्धी जाँचबुझ आयोगले मेडिकल शिक्षामा अनियमितता गर्ने ४३ जनालार्इ कारवाही गर्न सिफारिस गरेको छ । आयोगले हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा अनियमितता गर्ने विश्वविद्यालयका पदाधिकारी, मेडिकल काउन्सिल र चिकित्सक गरी ४३ जनालार्इ कारवाहीका लागि सिफारिस गरेको हो ।

विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा चिकित्सक उपेन्द्र देवकोटा, शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम सदस्य रहेको आयोगले तयार पारेको प्रतिवेदनले त्रिभुवन विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय र केही स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमिता भएको ठहर गरेको छ । अनियमितता गर्ने त्रिभुवन विश्वविद्यालय र काठमाडौ विश्वविद्यालयका पदाधिकारी, मेडिकल काउन्सिलका पूर्व पदाधिकारी र चिकित्सक गरी ४३ जनालार्इ कारवाहीका लागि सिफारिस गरिएको प्रतिवेदन आयोगले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालार्इ बुझाएको छ ।

आयोगले कारवाहीका लागि सिफारिस गरेकाहरुलार्इ भष्ट्राचारको मुद्दा चलाउन, पदबाट बर्खास्त र भविष्यमा सरकारी नियुक्तीका लागि अयोग्य घोषित गर्नुपर्ने जनाएको छ । नौ महिनासम्म अध्ययन, अनुसन्धान, बयान र छलफल गरेर आयोगले प्रतिवेदन तयार पारेको हो । मेडिकल शिक्षा सुधार, गुणस्तर बृद्धिका लागि चाल्नुपर्ने कदम र अनियमितताको प्रमाणसहित तयार पारेको प्रतिवेदन विभिन्न १० खण्डमा विभाजित छ । कानूनको अपव्याख्या र सरकारको नीतिगत कमजोरीले मेडिकल शिक्षामा अनियमितता भएको प्रतिवेदनको ठहर छ ।

कमजोर व्यवस्थापन र गुणस्तरहीन कलेजहरु खरिद गरेर सरकारले नै सञ्चालन गर्न प्रतिवेदनले सुझाएको छ ।
आयोगले दिएको प्रतिवेदन कार्यान्वयन भए चिकित्सा शिक्षामा सुधार हुने निश्चित छ तर प्रतिवेदन कार्यान्वयनका लागि सरकार ग‌ंभीर हुनेमा भने सर्वत्र आशंका छ । – कान्तिपुर

प्रतिक्रिया दिनुहोस्