‘भोको पेटले को चढ्ने होला त्यो गाडीमा ?’



रोल्पा – संघीयताले नसोचेका गाउँ बस्तीहरू फेरिएका छन्। कोटधारीदेखि हुने नयाँ–नयाँ मानिसहरूको आवत जावतले चहल पहल बढेको छ। जिल्ला सदरमुकाममा मात्र देखिने भीडभाड अहिले स्थानीय तहका केन्द्रहरूमा पनि देखिन थालेको छ। जनप्रतिनिधी, कर्मचारी, सेवाग्राहीको भीडभाडका कारण स्थानीय तहका होटल व्यबसायी, व्यापारीहरूमा निकै खुशीयाली छाएको छ।

पहिले सुनसान रहने चिया पसलमा अहिले बिहानैदेखि चहल पहल हुन्छ। बिहानै चिया बनाउन व्यस्त व्यापारी अलिबेरमा खाजा र खाना बनाउने चटारोमा हुन्छन्। दिउँसो खाजाको व्यापार पनि राम्रै हुने भएकाले उनीहरू अनुहार निकै हसिलो हुनेगरेको छ। गाउँ घरमा चहल पहल पढेपछि स्थानीयमा पनि निकै खुशीयाली छाएको छ।

तर, गरिखाने र हुँदा खानेहरूको कथा भने बेग्लै छ। उनीहरूलाई यसले खासै प्रभाव पारेको छैन। तिनै मध्यकी एक हुन् परिवर्तन गाउँपालिका ५ रांङकोटकी अस्मिता घर्ती। घर्तीको जीवन आफ्नै गतिमा चलिरहेको छ। सानै उमेरमा विहे गरेकी घर्तीले ४२ बर्षकै उमेरमा नाती समेत पाइसकेकी छन्। दिनभर शहिदमार्गको सडक छेउमा गिट्टी फुटाउनु उनको दैनिकी हो। तीन छोरा र एक छोरीकी आमा घर्तीको एउटा छोरो वैदेशिक रोजगारका लागि पुगेको केही दिन मात्रै भएको छ। उनको माइलो छोरो पनि आमाले जस्तै ज्याला मजदूरी गर्छन्। बाँकी सन्तान सानै छन्। उनले गिट्टी कुटेर नै ति बालबालिकाको पेट पाल्ने गरेकी छन्। ‘छोरालाई विदेश पठाउन एक लाख २० हजार रूपैयाँ ऋण लागेको छ’ घर्तीले भनिन्, ‘उहीले पढ्न पाइन। त्यसैले राम्रो काम पाइन। जीविको पार्जनका लागि गिट्टी फुटाइरहेकी छु।’

आफ्नो टोलमा चहल पहल बढेको देखेपनि किन होला भन्ने उनलाई थाहा छैन। ‘नयाँ नयाँ मान्छे आउँछन्। गाउँमा छलफल बैठक हुन्छ। खै के को बैठक हुन्छ, मलाई थाहा छैन,’ उनले भनिन्।

एक ट्रयाक्टर गिट्टीको ४ हजार आठ सय रूपैयाँ पाउने घर्तीले एक महिना यता गिट्टी बेचेरै १६ हजारको आम्दानी गरेकी छन्। धेरै वर्ष बिदेशमा बसेर कमाएको आम्दानीबाट गाउँमा सानो ब्यापार गरेका उनका श्रीमानको आम्दानीले खान समेत नपुगेपछि घर्ती गिट्टी फुटाउन थालेकी हुन्।

आफूले सानैमा बिहे गरेर पछुताइरहेकी घर्तीले आफ्ना छोराले पनि सानै उमेरमा विहे गरेको आफूलाई चित्त नबुझेको बताइन्। घर्तीले नागरिकसँग दुखेसो पोख्दै भनिन्– ‘हाम्रो बेलामा जे गरे पनि हुन्थ्यो। अहिले त सानोमा बिहे गरेपछि कानून लाग्छ। पढ्छन की भनेको दुई वटा छोराले बिहे गरिहाले। जेठोले बुहारी ल्याउँदा ६ हजार तिरेको हो। फेरि माहिलोको पनि तिर्ने भन्ने कुरो आइरहेको छ।’

गाउँमा बालबिबाह अन्त्यका लागि छलफल गर्नेहरुलाई ६ हजार रकम तिरेको बताउँदै उनले त्यो रकमको प्रयोग कहाँ हुन्छ भन्ने आफूलाई थाहा नभएको बताइन्। भर्खरै सम्पन्न निर्वाचनमा मतदान गरेकी घर्तीलाई कसलाई भोट दिए, कसले जित्यो र अब के हुन्छ केही थाहा छैन। कुनै ब्यक्तिगत अपेक्षा नभएकी उनी काम गर्न पाए हुन्थ्यो भन्नेमा छिन्। ‘काम नगरेर कसले खान दिन्छ र। जग्गा छैन, जागिर छैन केहि काम पाए परिवार पाल्न सकिन्थ्यो। बिरामी भई रहन्छौ नजिक अस्पताल छैन। कसैले अस्पताल खोले पनि राम्रो हुन्थ्यो,’ उनले भनिन्। उनले थपिन ‘पहिलो त पेटभरी खाना हो नि । खाना पाएपछि पो स्कुल, बाटो, घर बिकास हुन्छ। यता हाम्रो पेट भोको हुने उता दिनरात डोजरले बाटो खन्ने। रित्तो पेटले को चढ्ने होला त्यो गाडीमा?’

गाउँगाउँमा घुम्ने बिभिन्न गैरसरकारी निकायका कर्मचारीसंग घर्ती जस्ताको साइनो कहिल्यै पर्दैन। ‘सरसफाई गर्ने, हात धुने, पोषिलो खाना खाने, दुध, अण्डा, माछा मासु, हरियो साग खाने भन्छन्। सुकाएको साग पाए कति अझ हरियो साग, माछा मासु ? हामीले खान नजानेको हो र? पाउनु पर्यो नि।’ उनले भनिन्, ‘बैठक बस्ने समूह बनाउने भन्न आउँछन्। तिनलाई पो तलब आउछ र बैठक बस्छन्। हाम्रो काम छोडेर बैठकमा जाने रे । म त जान्न।’

रेडियो, टिभी, फोनजस्ता प्रबिधीबाट टाढा रहेकी घर्ती स्कुल पढ्दै गरेका छोराछोरीलाई उच्च शिक्षासम्म कसरी पढाउने होला भन्ने चिन्तामा छिन्। उनले छोरा छोरीलाई पढाउनकै लागि पनि गिट्टी कुटेर दुःख गरिरहेको बताइन्। (नागरिक न्युज)

प्रतिक्रिया दिनुहोस्