काठमाडौं, २४ माघ
नेकपा (एमाले)वाट विजयी भएका प्रदेश नं १ का प्रदेश सदस्यहरुसहित तीन जिल्ला कमिटीलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू)ले सम्मान गरेको छ । निर्वाचित सांसदहरुलाई सम्मानसहित बधाई ज्ञापन समेत गरिएको थियो ।
विराटनगरमा एक कार्यक्रमको आयोजना गरी अनेरास्ववीयू प्रदेश–१ संगठन कमिटीले प्रदेशसभामा प्रत्यक्ष तथा समानुपातिक तर्फवाट विजयी एमालेका ५१ सदस्य सांसदसहित इलाम, सोलुखुम्बु र सुनसरी जिल्ला कमिटीलाई सम्मान गरेको प्रदेश संयोजक तथा केन्द्रीय सचिव वसिम आलमले जानकारी दिए ।
सम्मान पत्र एमाले केन्द्रिय सचिव एवम् प्रतिनिधिसभाका सदस्य योगेश भट्टराईले प्रदान गरेका थिए । कार्यक्रममा उनले प्रदेशमा रहेको जलश्रोतको अपार भण्डारको उचित व्यवस्थापन गरी जनताको आर्थिक सम्वृद्धि निर्माण तर्फ प्रादेशिक सरकार लाग्नु पर्नेमा जोड दिए।
सांसदहरुलाई अब बन्ने सरकारले गरिब जनताको छोराछोरीहरुले पनि सहज, गुणस्तरीय र वैज्ञानिक शिक्षा पाउने व्यवस्था गर्न आग्रह गरेको सचिव आलमले बताए । यस्तै जिल्ला ३ जिल्ला कमिटीलाई उत्कृष्ट काम गरेका कारण सम्मान गरिएको पनि उनले बताए ।
एमाले पोलिटव्यरो सदस्य एवम् सांंसद लालवावु पण्डितले अव निर्माण हुने प्रदेश र संघीय सरकारले सरकारी विद्यालय तथा क्याम्पसमा कार्य गर्ने स्थायी शिक्षकलाई निजी क्षेत्रका विद्यालयमा अध्यापन गर्ने कार्यमा रोक लगाउनु पर्ने नीति आवश्यक रहेको औल्याए ।
यस्तै कार्यक्रममा सांसद भानुभक्त ढकालले एमालेको सहीनेतृत्व र विचारले प्रदेश र संघिय संसदको निर्वाचनमा विजय प्राप्त भएको वताउदै जनताको विकासको चाहनालाई सवै एकजूट लाग्नु पर्ने बताए ।
नेकपा एमाले १ नं प्रदेश संयोजक एवंम प्रदेश सदस्य भीम आचार्यले आगामी सरकारले ७० प्रतिशत प्राविधिक तथा ३०प्रतिशत साधारण शिक्षा अध्ययन गर्ने नीति ल्याएमा देशको उद्योग, जलविद्युत् तथा आधुनिक कृषिका दक्ष जनशक्ति उत्पादन हुने धारणा व्यक्त गरे ।
पूर्व मंन्त्री एवम् सभासद शेरधन राईले प्रदेश सरकारले स्थायी शान्ति र सुशासन कायम गरी जनताको विकास र सम्वृद्धिको चाहना पुरा गर्ने कार्यमा सवै एकजुट भै लाग्नु पर्ने वताए । नेकपा एमाले मोरङ्गका अध्यक्ष विनोद ढकालले रोजगारीमूलक शिक्षामा जोड दिई विदेश पलायन हुने युवाहरुलाई स्वदेशमै रोजगार दिने कार्यमा आगामी सरकार सक्षम हुने विश्वास व्यक्त गरे ।
अनेरास्ववियुका केन्द्रिय अध्यक्ष नविना लामाले शिक्षा क्षेत्र तथा विश्वविद्यालयमा देखिएको विकृती हटाउनु पर्नेमा जोड दिए । अखिलका १ नं प्रदेश संयोजक वसिम आलमको सभापतित्वमा भएको वधाई सम्मान कार्यक्रममा मकर खडका, भाष्कर खनाल र रामशरण चौधरीले आगामी सरकारले प्राविधिक शिक्षा नीति ल्याउनु पर्नेमा जोड दिएका थिए ।