अन्तर्राष्ट्रिय पाँच तारे होटल चेन नेपालमा



भैरहवा, २४ माघ

भैरहवामा अष्ट्रेलियाको सिल्भर हेरिटेज ग्रुपले  पाँच तारे स्तरको रिसोर्ट सञ्चालन गरेको छ। एसियाका विभिन्न शहरमा क्यासिनो चलाउँदै आएको सिल्भर हेरिटेजले झापामा पनि पाँच तारे होटल खोल्ने प्रक्रिया  अघि बढाइएको छ।

टाइगर प्यालेस ब्रान्डबाट होटल तथा रिसोर्टमा लगानी बढाउने योजना बनाएको सिल्भर हेरिटेजले यसअघि नेपालमा क्यासिनो चलाइरहेको थियो।

पछिल्लो समय नेपालमा विश्वस्तरका ठूला होटल ब्रान्डले चेन (सञ्जाल) विस्तार गरिरहेका छन्। राजनीतक संक्रमण सकिएको र पर्यटकीय केन्द्र बन्ने विश्वाससहित उनीहरूले नेपालमा लगानी र सञ्जाल विस्तार गर्न लागेका हुन्।

संसारभरि नै सञ्जाल भएका त्यस्ता होटलले पछिल्लो समय राजधानीसँगै बाहिर पनि चेन खोल्न थालेका छन्। काठमाडौं उपत्यकामा बनिरहेका ५ वटा पाँचतारे होटल सबै अन्तर्राष्ट्रिय चेन होटल हुन्।

यी होटलमध्ये केहीमा विदेशी लगानी छ भने कतिपय फ्रेन्चाइजको रूपमा नेपाल भित्रिएका छन्। काठमाडौंमा बनिरहेका पाँचमध्ये चार वटा चेन मेरियट इन्टरनेशनलका छन्। केही समय अगाडि फेयरफिल्ड मेरियट सञ्चालनमा आइसकेको छ भने पाँचतारे मेरियट निर्माणाधीन छ।

एमएस ग्रुपले काठमाडौंको नागपोखरीमा मेरियट होटल बनाइरहेको छ। यो होटल बनाउन ३ अर्बभन्दा बढी लगानी हुने ‍एमएस ग्रुपले जनाएको छ।

मेरियट संसारकै सबैभन्दा ठूलो होटल चेन हो। ६ हजार होटल तथा रिसोर्टमा १२ लाख कोठाको व्यवस्थापन/सञ्चालन गरिरहेको मेरियट इन्टरनेशनल विभिन्न ब्रान्डबाट नेपाल भित्रिएको छ।

मेरियटले नै व्यवस्थापन गर्ने अर्को पाँचतारे होटल काठमाडौंको ठमेलमा बनिरहेको छ। मेरियटकै सहायक कम्पनी स्टारउडको शेराटन ब्रान्डबाट सञ्चालन हुने उक्त होटलमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको एमआइटी होल्डिङ नेपालको लगानी छ। २१४ कोठा हुने यो होटलमा ८ अर्ब लगानी हुने बताइएको छ।

अलफ्ट नेपाल आउने अर्को अन्तर्राष्ट्रिय होटल चेन हो। स्टारउडकै ब्रान्डको रूपमा रहेको अलफ्टले आधुनिक तरिकाबाट परम्परागत र स्थानीय उत्पादनलाई आफ्नो सेवाको केन्द्रमा राख्छ।

अलफ्ट नाममा संसारका २२ मुलुकमा सयौं होटल सञ्चालनमा छन्। ठमेलमा बनिरहेको छाया सेन्टरमा भित्र नेपालमा अलफ्टकै नाममा हो६ल सञ्चालन हुनेछ। १७५ कोठा हुने यो होटल २०७५ सम्म सञ्चालनमा आइसक्ने व्यवस्थापनले जनाएको छ।

६ महादेशका ८५ देशमा ५ सय ७० होटल तथा रिसोर्ट चलाइरहेको हिल्टन पनि नेपाल आइसकेको छ।

शंकर समूहले नक्सालमा डबल ट्री हिल्टन होटलका लागि भवन बनाइरहेको छ। यो होटल सन् २०२० सम्म सञ्चालनमा आउने छ।

त्यस्तै भारतको ठूलो होटल चेन लिला प्यालेस पनि नेपाल भित्रिसकेको छ। समिट ग्रुप अफ होटल एन्ड रिसोर्टसँग व्यवस्थापकीय सम्झौता गरिसकेको लिलाले हालको समिट होटल विस्तार गरेपछि व्यवस्थपन सम्हाल्ने बताइएको छ। यतिमात्र होइन थाइल्यान्डकै डुस्टी इन्टरनेशनलले पनि काभ्रेको नमोबुद्धमा स्थापना हुने रिसोर्टको व्यवस्थापन सम्हाल्ने छ।

चौधरी ग्रुपको मेघौली सेराईमा भारतको ताज ग्रुप भित्रिएको छ। त्यस्तै जिंक होटल तथा रिसोर्ट पनि नेपाल आएको छ।

हालै अमेरिकी होटल चेन रमडा भित्रिएको छ।

नेपालमा राजनीतिक संक्रमण सकिएपछि आर्थिक विकास सुरु हुने विश्वासले व्यवसायीहरु उत्साहित भएका छन्। त्यसमा पनि होटल क्षेत्र सबैभन्दा अगाडि आएको छ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दिपकराज जोशीले पर्यटकीय सम्भावनाले भरिपूर्ण नेपालमा शान्ति र स्थीरता हुनेबित्तिकै पर्यटक आउने सम्भावना देखेर विश्वविख्यात होटल चेन आइरहेको बताए।

‘यसले संसारभरि नेपालबारे सकारात्मक सन्देश प्रवाह गर्छ’ जोशीले भने, ‘विश्वभर रुचाइएका र चलेका होटलका चेन नेपाल आउनु पर्यटनका लागि शुभ संकेत पनि हो।’

होटल एसोसिएसनका महासचिवत विनायक शाहले नेपालमा राजनीतिक स्थीरताको संकेतपछि सबैभन्दा पहिले पर्यटन नै विस्तार हुन्छ भन्ने विश्वासका साथ होटलमा लगानी मात्र होइन विश्वमा चलेका ब्रान्ड नै नेपाल आएको बताए।

‘पहिले पनि चेन आउने जाने भइरहेको थियो। तर अहिले एकैपटक धेरै आएका छन्’ शाहले भने,’यसले के देखाउँछ भने नेपालको पर्यटन उद्योगमा विदेशीले सम्भावना देख्न थालेका छन्।’

विश्वविख्यात चेन होटल आउँदा नेपाललाई के फाइदा हुन्छ?

विश्वभर छरिएर रहेका होटलका चेन/फ्रेन्चाइज नेपाल आउँदा नेपालको विश्वासनियता बढ्छ। जुन यात्रु पहिले नै मेरियटमा बसिसकेको छ भने उसले मेरियट नेपालमा पनि छ भन्ने थाहा पाउने पर्यटन बोर्ड कार्यकारी जोशीको भनाइ छ।

‘त्यतिमात्र होइन यसले नेपालबारे संसारभर सकारात्मक सन्देश दिन्छ’ जोशीले भने,’ युरोपको मेरियटमा बसेको कुनै ग्राहकले मेरियट कहाँ कहाँ छन् भनेर खोज्दा नेपालको नाम पनि थाहा पाउँछ।’

यस्ता चेनले व्यवस्थापन गरेका होटलको अर्को सकारात्मक पक्ष प्रतिस्पर्धामा खरो उत्रिन सक्नु हो। उनीहरूको संसारभरि नै ग्राहक सञ्जाल हुन्छ। उनीहरूको सञ्जालमार्फत पनि नेपालमा भित्रिने पर्यटकको संख्या बढ्न सक्छ।

चेन होटल आउँदा स्थानीय होटललाई प्रतिस्पर्धामा उत्रन कठिन हुने र त्यसरी व्यवस्थापन सम्हालेवापत् उनीहरुले लिने पैसालाइ छोड्ने हो भने नेपालको पर्यटनमा इँटा थपिंने हानका महासचिव शाहले बताए।

नेपालमा यस्ता अन्तर्राष्ट्रय चेन पहिले आएर पनि गइसकेका छन्। अहिले कतिपय पाँचतारे होटलमा पनि त्यस्ता चेन यथावत् छन्। हायात रेजन्सी, क्राउन प्लाजाजस्ता पाँच तारे होटल चलिरहेका छन्। सेराटन पहिले पनि नयाँ बानेश्वरको एभरेष्ट होटलमा थियो। २०७२ को भूकम्पपछि एभरेष्ट होटल बन्द छ।

नेपालमा विश्वभर सञ्जाल भएका चेन ल्याएर चलाउने तयारीमा रहेका कतिपय व्यवसायी भने ‘पर्ख र हेर’को अवस्थामा छन्।

वैकल्पिक विमानस्थल नबनेसम्म विदेशी पर्यटक आउन चाहे पनि ल्याउनै कठिन हुने उनीहरूको बुझाइ छ।

‘अहिलेकै होटलले यो वर्ष आएका पर्यटकभन्दा ६ लाख बढी पर्यटकलाइ सेवा दिन सकिन्छ’ एक व्यवसायीले भने,’यस्तोमा बरू ब्याज सहेर भए पनि होटल निर्माणको काम विस्तारै गरिरहेका छौ।’

हानका महासचिव शाह प्रवेशद्वारमा समस्या रहेको र त्यसको विकल्प तयार नहुँदासम्म व्यवसायी ढुक्क हुने अवस्था नरहेको बताउँछन्।

सन् २०१७मा १० लाख पर्यटक नेपाल आएका थिए। यसमा स्थलमार्गबाट अाएका भारतीय पर्यटकको हिसाब गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्