अभिभावकहरुले बालबालिकालाई सीकाउनै पर्ने कुरा के के हुन् ? जान्नुहोस



बिहान सबेरै उठ्न लगाउने
आयुर्वेदमा वर्णन गरिएअनुसार आफ्नो दैनिक कार्यमा संलग्न हुनुभन्दा अगाडि केही घन्टा सबेरै हिँड्नाले दिनभर सक्रिय र खुसी रहन सकिन्छ । समयमै सुत्नाले र बिहान उठेर व्यायाम गर्नाले जीवन नै उत्पादनशील हुन्छ । सबेरै उठ्ने व्यक्तिमा डिप्रेसनको खतरा कम हुन्छ । त्यसैले अभिभावकहरुले आफ्ना बालबालिकालाई सानैदेखि बिहान सबेरै उठ्ने बानी बसाउनुपर्छ ।

बत्ती बाल्ने र प्रार्थना गर्ने
नियमित प्रार्थना र पुस्तादेखि चलेको संस्कार बालबालिकालाई सिकाउँदा उनीहरुमा स्वस्थ जीवनशैलीको विकास हुन्छ । बिहान उठ्नेबित्तिकै आआफ्नो धर्मअनुसार मन्त्र, जप, ध्यान, पाठ गर्नाले स्मरणशक्ति बढ्छ, मुटु स्वस्थ हुन्छ र डिप्रेसनबाट जोगाउँछ । प्रार्थना गर्दा सकारात्मक सोच र आध्यात्मिक ज्ञानको ज्योति आउँछ ।

खाना अगाडि र पछि राम्रोसँग हात धुने
चम्चाले खाना खाए पनि बालबालिकालाई खाना खानु अगाडि र पछाडि हात धुन लगाउनुपर्छ । यसले झाडापखाला, खानाबाट हुने संक्रमण र हेपाटाइटिस हुने खतरा न्यून गर्छ । स्वस्थ र सरसफाइका लागि पनि खाना खुवाएपछि उनीहरुको हात धोइदिनुपर्छ ।

सूर्यास्तको समयमा डिनर
आयुर्वेदमा उल्लेख भए अनुसार साँझ पर्ने/नपर्ने बेलामा खाएको खाना प्रकृतिको नियम र चक्रअनुसार हुन्छ । शरीरलाई पनि निकै हितकर हुन्छ । त्यसैले आफ्ना बालबालिकालाई साँझ ८ बजे अगाडि नै खाना खुवाउने बानी बसालौँ । यो समयमा खाना खाँदा मोटोपनबाट जोगिन्छ, पाचनको समस्या घट्छ, निद्रा बढाउँछ र अर्को दिन बिहान उठ्दा फुर्तिलो भइन्छ ।

खाएपछि मुख राम्रोसँग कुल्ला गर्ने
खाना खाएपछि राम्रोसँग मुख कुल्ला गर्ने बानी आजैबाट बसाल्नुहोस् र आफ्ना बच्चाहरुलाई पनि सिकाउनुहोस् । कुल्ला गर्दा दाँतको गिजामा अल्झिएका खानाका टुक्राहरुलाई फाल्ने र मुख गन्हाउने समस्याबाट बच्न सकिन्छ ।

घर पुग्नेबित्तिकै हातखुट्टा धुने
कार्यालय वा अन्य टाढा हिँडेर घर फर्किएपछि आफ्नो हातखुट्टालाई राम्रोसँग साबुन पानीले धुने गर्नुहोस् । बाहिरी वातावरणमा तपाईंको हातखुट्टामा आँखाले देख्न नसक्ने हजारौँ ब्याक्टेरिया टाँसिएर आएका हुन्छन् । हात नधुँदा यी ब्याक्टेरिया शरीरको अन्य भागमा पनि पुग्ने र विभिन्न रोग लाग्न सक्छ । तपाईंको अनुहार, हात र खुट्टामा भएको ब्याक्टेरियाले पेटको संक्रमण तथा श्वास प्रश्वासको समस्या ल्याउछ र यसले छालासम्बन्धी रोग निम्त्याउन सक्छ ।

भुइँमा पलेँटी कसेर खान लगाउने
हिजोआज अधिकांश मानिस डाइनिङ टेबुलमा बसेर खाने गर्छन् । तर, हाम्रा अग्रज पुस्ताको खाने शैलीसँग तुलना गर्दा यो स्वस्थकर देखिँदैन । पुर्खाहरु जहिले पनि पिर्का वा सुकुलमा पलेँटी कसेर खाने गर्थे । पलेँटी कसेर खाँदा पाचन प्रक्रियालाई सहयोग गर्नुको अतिरिक्त तौलसमेत घट्छ । साथै यो आसनमा खाना खाँदा बस्ने ढंगमा सुधार ल्याउने, घुँडा र जोर्नीको समस्यालाई पनि समाधान गर्छ ।

यो आसनले रक्त प्रवाहमा पनि सुधार ल्याउँने भएकाले बालबालिकालाई पनि भुइँमा पलेँटी कसेर खाने बानी लागाउनु एकदमै जरुरी हुन्छ ।

खाँदा पानी नपिउने
हामीले दैनिकजसो गर्ने एउटा साझा भूल हो, खानाको थालीसँगै ठूलो गिलासभरि पानी लिएर बस्नु । खान खाँदा पानी खानु हुँदैन भनेर बालबालिकालाई अभिभावकले सानैदेखि सल्लाह दिने हो भने बालबालिकामा पनि स्वस्थ बानीको विकास हुन्छ । खानासँग पानी पिउँदा पाचन प्रक्रियामा समस्या हुन्छ र एसिडिटी बढाउँछ । पोषण विज्ञहरुका अनुसार खानासँग पानी खाँदा शरीरमा ब्लड सुगरको मात्रा बढ्छ र पाचनमा पनि समस्या हुन्छ ।

तातो पानीले कपाल ननुहाउने
तातो पानीले नुहाउँदा तालुमा पिएचको मात्रा बढाउँछ र कपाल झर्छ । यसले कपाललाई भद्दा र कमजोर तथा पातलो बनाउँछ । तर, चिसो पानीले तपार्इंको शरीर र तालुको तापक्रमलाई दिगो बनाउनुका साथै कपाल झर्नबाट रोक्छ । तसर्थ बच्चाहरुलाई पनि सानैदेखि सकभर तातो पानीले नुहाउने बानी नबसाल्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्