अर्डर आइफोन, डेलिभरी भयो लुगा धुने साबुन : प्रसंग अनलाइन सपिङ्ग



आजभोलि अनलाइन शपिङको जमाना छ । ई-कमर्स साइट तथा एप्सहरुको बढोत्तरी सँगै अनलाईन सामान खरिद गर्न सकिने वेबसाइट तथा एपहरु लोकप्रिय हुँदै गएका छन्। बाहिर जाँदा समयको बर्बाद र शारीरिक कष्ट हुने भएकाले नेपालमा पनि अनलाइनमार्फत् शपिङ गर्नेहरुको संख्या बढ्दै गएको छ । घरमै बसीबसी अर्डर गरेको सामान घरमै आइपुग्छ भने किन घुम्नु बजार-बजार ? यस्तै सोचेर एक व्यक्तिले अनलाइनमार्फत् आईफोन अर्डर गरे । तर घरमा डेलिभरी भयो लुगाधुने साबुन ।

यस्तो घटना नेपालमा भएको भने होइन । भारतको मुम्बईमा भएको हो । २६ वर्षीय एक सफ्टवेयर इन्जिनियरले अनलाइन शपिङ साइट फ्लिपकार्ट मार्फत् आइफोन-८ अर्डर गरेका थिए । त्यसको लागि पैसा पनि अनलाइनमार्फत् नै भुक्तानी गरे । तर, घरमा आइदियो आइफोनको सट्टा लुगा धुने साबुन ।

तबरेज मेहबुब नाग्रलीका अनुसार उनले आईफोन-८ को लागि ५५ हजार रुपैयाँ अनलाइनमार्फत् नै भुक्तानी गरेका थिए । तर जनवरी २२ तारिकमा पानभेलस्थित निवासमा डिटर्जेन्ट साबुन डेलिभरी भएको दावी उनको छ ।

उनले आफूलाई ठगेको भन्दै फ्लिपकार्टविरुद्ध मुम्बईको बिकुला प्रहरीमा उजुरी दिएका छन् ।

बिकुला प्रहरी स्टेशनका वरिष्ठ प्रहरी निरीक्षक अविनाश शिंगटेले भनेका छन्, ‘फ्लिपकार्टले धोका दिएको र अपराध गरेको भन्दै उजुरी दर्ता गराएका छन् ।’

फ्लिपकार्टका प्रवक्ताले भने यस विषयमा अनुसन्धान गरिरहेको भारतीय समाचार एजेन्सी पीटीआईलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्