सौगातको दावी : सृष्टिसँगै बज्छ बिहेको बाजा



काठमाडौं, माघ २५ – गत वर्ष अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रेमसम्बन्ध चर्चामा थियो । तर उनीहरुले यसको बारेमा खुलेर कुरा नगरेपछि यो कुरा यत्तिकै सेलाउनपुग्यो ।

सिनेमाको छायाकंन स्थलदेखि हलसम्म उनीहरुलाई एकसाथ देखेपछि मिडियाले उनीहरुको सम्बन्धमा प्रश्न ठड्याएको थियो के तपाईँहरु मायामा हुनुहुन्छ ?

तर उनीहरुको यसको खास जवाफ दिएका थिएनन् । कहिँकतै कार्यक्रमहरुमा यस विषयमा प्रश्न गर्दा दुवै जनाले यसको सीधा जवाफ दिँदैनथे । एकपटक त सौगातकै कारण सृष्टिले हातको नशा काटेको खबर पनि आएको थियो । तर यो खबरको खण्डन गर्दै सृष्टिले यो दुर्घटना भएको बताइन् ।

अहिले सिनेमा ‘पञ्चेबाजा’को प्रचार–प्रसारमा रहेका सौगात मल्लले आफू सृष्टिसँग प्रेममा रहेको आधिकारिक जानकारी दिएका छन् । उनले ‘पञ्चेबाजा’को कुरा गर्दै सिनेमामा आफ्नो जोसँग पञ्चेबाजा बजे पनि वास्तविक जीवनमा सृष्टिसँग नै बज्ने बताएका छन् ।

सौगातले सृष्टिसँग प्रेमको सुरुवात भएको पल सम्झदै भने, ‘उनले अभिनय कक्षा लिने गर्थिन् । म त्यो प्रत्येक क्लासमा गएर आफ्नो अनुभवहरु शेयर गर्ने गर्थे । यहिक्रममाहाम्रो भेट भएको हो । फिल्ममा सँगै काम गर्ने कुराहरु पनि भैराख्थ्यो हाम्रो । बेलाबखत,चार पाँच महिनामा कामकै सिलसिलामा कहिँकतै भेट भईराख्थ्यो । पछिउनले थिएटरमा काम गरिन् । उनले थियटरमा काम गरेको म हेर्न गइरहन्थेँ । यो क्रममा एकले अर्कालाई चिन्दै गयौं र नजिक भयौँ ।’

सिनेमामा काम गर्ने भए पनि आफूले सृष्टिलाई फिल्मी शैलीमा प्रपोज भने अहिलेसम्म नगरेको उनले सुनाए । राम्रो चिनजान र भेटघाट बाक्लो भएपछि एक अर्कालाई मन पराउने कुरा दुवैलाई थाहा भएको उनको भनाई छ । सृष्टिको बानीले आफूलाई उनीप्रति आकर्षित गरेको सौगात बताउँछन् ।

सौगातका अनुसार यी दुईको प्रेमसम्बन्धले परिवार पनि खुशी छ । उनीहरुको चाहना अनुसार उपयुक्त समय मिलाएर दुईको लगनगाँठो कसिदिने सोचमा दुवैको परिवार छ । (उज्यालाे र गफगाफ डटकमकाे सहकार्य)

प्रतिक्रिया दिनुहोस्