मुख्यमन्त्रीका लागि आज प्रदेश १ मा एमाले संसदीय दलको निर्वाचन



माओवादीले मिलायो विवाद : माओवादीभित्रको विवाद एक दिनमै मिल्यो, संसदीय दलको नेता टंक आङबुहाङ, इन्द्र आङबोले सरकारको नेतृत्व गर्ने

प्रदेश १ को मुख्यमन्त्रीको टुंगो शुक्रबार लाग्दै छ । सकेसम्म सर्वसम्मत, नभए मतदान प्रक्रियाबाट एमालेले संसदीय दलको नेता टुंगो लगाउने भएको छ । त्यसका लागि शुक्रबार ११ बजे विराटनगरस्थित प्रदेश सभा भवनमा दलको बैठक बोलाइएको छ । बहुमत प्राप्त दल एमालेको संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने पक्का छ । एमाले दलको नेता बन्न सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्य प्रतिस्पर्धामा छन् । केन्द्रीय सदस्य जीवन घिमिरेले दलको नेता बन्न आकांक्षा देखाए पनि उनी अन्तिममा दौडबाट बाहिरिने एमाले नेताहरूको विश्लेषण छ ।

दलको नेता राई कि आचार्य ?
एमाले प्रदेश १ का संयोजक सचिव आचार्य र सहसंयोजक राईबीच सहमतिको सम्भावना देखिँदैन । बिहीबार दिनभर दलको नेताका आकांक्षी आचार्य र राई आफ्नो पक्षका प्रदेश सभा सदस्यसँगको छलफलमा व्यस्त थिए । बिहान अबेरसम्म सहमति नभए ११ बजेपछि मनोनयन दर्ता हुने र अपराह्न ४ बजेसम्म संसदीय दलको नेता टुंगो लगाउने एमाले नेताहरूले बताएका छन् ।

बिहीबार दिनभर गुटको बैठक
संसदीय दलका प्रतिस्पर्धी सचिव भीम आचार्य पार्टीमा नेता माधव नेपाल पक्षका मानिन्छन् । अर्का नेता शेरधन राई संस्थापन पक्षका हुन् । संसदीय दलको नेता प्रक्रियाबाट छान्ने सम्भावना बढिरहँदा प्रदेश १ मा एमालेभित्रको गुट उदांगो भएको छ । बिहीबार दिनभर नेपाल पक्ष र संस्थापन (अध्यक्ष केपी ओली) पक्षका प्रदेश सांसदहरू भेला तथा छलफलमा थिए ।

संसदीय दलको नेताका अर्का आकांक्षी जीवन घिमिरे माधव नेपाल पक्षकै हुन् । उनलाई सहमतिमा ब्याक गराएर सचिव भीम आचार्यलाई सघाउन नेपाल पक्षले आग्रह गरिरहेको छ । नेपाल पक्षका एक नेताका अनुसार घिमिरे पछि हटिसकेका छन् । शुक्रबार मनोनयन दर्ताको समयसम्म घिमिरेले खुलेर आचार्यको पक्षमा मतदान गर्ने र आफ्नो उम्मेदवारी नदिने एमाले स्रोतको दाबी छ ।

उता, संस्थापन पक्षले भने सहमति शेरधनको नाममा गर्ने र नभए त्रिपक्षीय भिडन्त गराउने दाउमा छ । जीवन घिमिरेले समेत उम्मेदवारी दिए आचार्यको पक्षमा कम मत जाने भन्दै संस्थापन पक्षले घिमिरेलाई अन्तिम अवस्थासम्म प्रतिस्पर्धा गर्न सुझाइरहेको स्रोतले बतायो ।

घिमिरे ब्याक भए आचार्यको सम्भावना, नत्र शेरधन
केन्द्रीय सदस्य जीवन घिमिरेले चुनावी प्रक्रियामा गए सचिव भीम आचार्यलाई संसदीय दलको नेता बन्न गाह्रो हुने एमाले नेताहरूको आकलन छ । घिमिरे नेपाल पक्षकै भएकाले केही भोट घिमिरेको पक्षमा जाने र शेरधन संसदीय दलको नेता बन्ने बुझाइ कतिपय सांसदको छ । तर, घिमिरे पछि हट्ने सम्भावना बढी रहेकाले आचार्य दलको नेता बन्न सक्ने अर्कोथरीको बुझाइ छ । प्रदेश १ मा एमालेका ५१ सांसद छन् । नेपाल पक्षमा २५, संस्थापन पक्षमा २१ र पाँचजना तटस्थ देखिएको एमालेका एक नेताले बताए ।

को कहाँ बसेर सक्रिय ?
प्रदेश १ को संसदीय दलको नेता टुंगो लगाउन माधव नेपाल पक्षका सचिव योगेश भट्टराई र अध्यक्ष केपी ओली पक्षका नेता भानुभक्त ढकाल दुवै विराटनगरमा छन् । सचिव भट्टराई विराटनगरस्थित एसिया पिक होटेलमा बसेर सांसदहरूलाई आचार्यको पक्षमा मनाउन प्रयासरत छन् । मुख्यमन्त्रीका आकांक्षी शेरधन राई भने फन एन्ड फुड रिसोर्टमा आफ्ना पक्षकासँग भेटघाटमा व्यस्त छन् । सचिव भीम आचार्यले भने इटहरीलाई बेस बनाएर आफ्नो गुट सांसदसँग सम्पर्कमा रहेको एमाले स्रोतले बतायो ।

कसरी मिलाइँदै छ सन्तुलन ?
प्रदेश १ का एमाले संयोजक भीम आचार्यसँग यसअघिको निर्वाचनमा टिकट लिने विषयमा माधव नेपाल पक्षकै केही नेता असन्तुष्ट छन् । जसलाई मिलाउने प्रयास सचिव योगेश भट्टराईलगायतले गरिरहेका छन् । माधव नेपाल पक्षले आचार्यलाई संसदीय दलको नेता छानेर उषाकला राई वा गणेश कामहाङमध्ये एकजनालाई सभामुख बनाउने निष्कर्ष निकालेको छ । अर्कोतर्फ संस्थापन पक्षले शेरधन राईलाई मुख्यमन्त्री बनाउने र जगदीश कुसियत वा अन्य कुनै खस–आर्य समुदायका सांसदलाई सभामुख बनाउने तयारी गरेको छ ।

माओवादीमा चर्किएको आन्तरिक द्वन्द्व तत्काल समाधान
संसदीय दलको नेता बन्ने विषयलाई लिएर माओवादी केन्द्रमा चर्किएको द्वन्द्व समाधान भएको छ । माओवादी प्रदेश १ को पहिलो संसदीय दलको बैठकले दलको नेतामा सदस्यमध्येका वरिष्ठ मानिएका टंक आङबुहाङलाई सर्वसम्मत चयन गरेपछि द्वन्द्व समाधान भएको हो । माओवादी प्रदेश सभाकी ज्येष्ठ सदस्य सौभाग्यवती राईको अध्यक्षतामा विराटनगरमा बसेको पहिलो संसदीय दलको बैठकले ताप्लेजुङ (ख) बाट प्रदेश सभामा विजयी सदस्य आङबुहाङलाई संसदीय दलको नेता सर्वसम्मतले चयन गरेको हो । बैठकले पाँचथर (ख) बाट विजयी इन्द्र आङबोको नेतृत्वमा सरकारमा पठाउने निर्णय गरेको छ । दुवैबीच दलको नेता बन्ने विषयलाई लिएर आन्तरिक द्वन्द्व चर्किएको थियो ।

भूमिगत जनयुद्ध लडेर आएका दुवै हाल माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य छन् । जनयुद्धकालमा टंक जनमुक्ति सेनाका कमिसार थिए भने इन्द्र कमान्डर थिए । दुवैले एक दर्जनभन्दा बढी मोर्चामा सँगै युद्ध लडेका थिए ।

पार्टीमा सिनियर नेता टंकलाई क्षमता कम भएको भन्दै पाखा लगाएर कनिष्ठ सदस्य इन्द्रलाई दलको नेता बनाएर सरकारको नेतृत्वमा पठाउने तयारी गरेपछि माओवादीभित्र आन्तरिक द्वन्द्व चर्किएको थियो । प्रदेश १ इन्चार्ज गोपाल किरातीले एकलौटी सिफारिस गरेको भन्दै २९ जना पोलिटब्युरो सदस्यले उनलार्ई कारबाही माग गर्दै पार्टी हेडक्वार्टरमा उजुरी गरेका थिए । ‘सर्वसम्मत निर्णयले कुनै गुट र विवाद छैन भन्ने प्रस्ट भयो, योभन्दा बढी केही भन्नु छैन,’ नेता किरातीले भने । प्रदेशमा माओवादी केन्द्रका १६ सांसद छन् ।

उपसभामुख, सचेतक र मन्त्रीहरूको नाम टुंग्याउन बाँकी
उपसभामुख, मन्त्री र सचेतक कसलाई बनाउने भन्ने विषयमा छलफल जारी रहेको र चाँडै निर्णय गर्ने माओवादी प्रदेश १ का संयोजक सावित्रीकुमार काफ्लेले बताए । वाम गठबन्धनमा रहेको एमालेले प्रदेश १ मा पुरुष वा महिला कसलाई सभामुख बनाउने भन्नेबारे निर्णय गरिनसकेकाले माओवादी केन्द्रले पनि आफ्नो भागमा परेको उपसभामुखको नाम टुंग्याउन नसकेको हो ।

म माओवादी केन्द्रमै छु : गोपाल किराती
प्रदेश १ इन्चार्ज गोपाल किरातीले आफूले माओवादी छाडिनसकेको, मात्र फरक विचार राखेकाले आफू जिम्मेवारीसहित पार्टीभित्रै रहेको बताए । उनले माओवादीले पहिचानको राजनीतिलाई छाडेर एमालेमा एकीकृत भएमा आफू माओेवादी छाड्न बाध्य हुने बताए । ‘पार्टीले पहिचानको मुद्दा नछाडेमा म पनि पार्टीसँगै रहन्छु, छाड्यो भने म पनि अलग हुन्छु,’ उनले भने । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्