२६ माघ २०७४
काठमाण्डौ, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा एकता हुने प्रक्रिया चलेसँगै यी दुवै पार्टीका फरक–फरक प्रकृति र प्रवृत्तिका कार्यकर्ताबाट तदनुसारकै प्रतिक्रियाहरू आए, आइरहेकै छन्। कम्युनिस्ट आन्दोलनमा व्याप्त फुट–विभाजन र त्यसबाट उत्पन्न परस्परको आरोप–प्रत्यारोप र विगतको ज्यान मार्ने उद्योगसम्मको गतिविधिबाट त्रस्त, आक्रान्त र देशको निरन्तरको राजनीतिक अस्थिरताबाट भविष्यका बारेमा आशंकित कम्युनिस्ट जनमतका लागि चुनावमा मिलेर जाने र त्यसलगत्तै पार्टी एकता गर्ने सूचना अत्यन्त उत्साहवर्धक रह्यो। सुरुमा अलग–अलग स्वार्थ समूहका मनमा लुकेका विभिन्न पक्षहरू सामुन्नेमा आएका थिएनन्।
कुनै पनि घटनाक्रम अगाडि आउँदा हरेक मानिसले स्वाभाविक वा प्राकृतिक प्रतिक्रिया जनाउँछ। अनि क्रमशः घटनाक्रम थिग्रिँदै जाँदा मानिसभित्र रहेका राम्रा र नराम्रा, सौर्य र कुण्ठा, त्याग र स्वार्थ, पारदर्शिता र षड्यन्त्रजस्ता फरक–फरक प्रवृत्तिहरू बाहिर आउन थाल्छन्। अहिले त्यस्तै भएको देखिन्छ। यी दुई पार्टीका बीचमा एकता प्रक्रिया जति ढिलो हुन्छ, लम्बिन्छ, त्यति नै बढी फरक–फरक प्रवृत्ति उजागर हुँदै जानेछन् भन्ने निश्चित छ। विभिन्न प्रवृत्तिहरूलाई द्वन्द्वात्मक विधिअनुसार मूल दुई भागमा विभाजित गर्ने हो भने देखिन्छ– एकथरी निस्वार्थ कार्यकर्ता छन्, जो हरहालतमा एकता चाहन्छन् र त्यसका लागि सबैथोक गुमाउन तयार छन्। दुवै पार्टीमा रहेको यस्तो पंक्ति नेतृत्वको चाकडी–चाप्लुसीबाट टाढा छ। कार्यकर्ताको यस पंक्तिले निजी प्राप्तिको आशा नगरेको हुँदा गुमाउनुपर्ने पनि केही छैन। त्यसैले यो पंक्ति सम्भावित एकताबाट उत्साहित भएको छ।
दुवै पार्टीमा अर्कोथरी पंक्ति छ, जसले नेतृत्वको भजन गाएर वा उसको वरिपरि घुमेर निरन्तर सुविधा लिएको छ, दृश्य वा अदृश्य रूपमा। विभिन्न चुनावमा टिकट पाए पनि नपाए पनि र चुनाव हारे पनि वा जिते पनि केही फरक नपर्नेहरू, जो राज्य र पार्टीलाई जुकाले जस्तै निरन्तर चुसिरहेका छन् र आफूलाई राज्यसत्ताको केन्द्रमा राखेका छन्, त्यसपंक्तिको माथिल्लो तहमा रहनेहरू ढुक्क छन्। किनभने उनीहरू ‘गाई पनि मेरो, त्रिशूल पनि मेरो’ भन्नेहरू हुन्। हाम्रो तराईमा यस कुरालाई ‘चित भी मेरा, पट भी मेरा’ भनिन्छ। अहिले एमाले र माओवादी केन्द्रको सन्निकट देखिएको एकताको विरोध गर्ने हैसियत कसैमा छैन। यसैले दुवै पार्टीभित्रको स्वार्थी पंक्ति घुमाउरो तरिकाले ‘एकता त हुनुपर्छ तर मेरो सर्तमा’ भनिरहेको छ र नेतृत्वलाई नाना प्रकारले भड्काउने प्रयास गरिरहेको देखिन्छ। निकट भविष्यमा एकता हुने सम्भावना नै बलियो देखिएको हुँदा यो पंक्ति आफ्नो स्थान सुरक्षित राख्न बडो कुशलतापूर्वक लागिपरेको छ। कम्युनिस्ट एकता र वाम सरकार हुन नदिन लागिपरेको देशी–विदेशी प्रतिक्रियावादी शक्तिको षड्यन्त्र सफल भयो भने यो पंक्तिले एकता समर्थकको चोला तुरुन्तै फ्याँक्नेछ र खुलारूपमा आरोप–प्रत्यारोपमा उत्रिनेछ भनेर अनुमान गर्न कुनै गाह्रो छैन। यस्तै भुमरीका बीचमा एमालेको आधिकारिक विचार जनताको बहुदलीय जनवाद (जबज) का बारेमा सानोतिनो बहस पनि चलेको देखिन्छ। तर यो बहस त्यति स्वस्थ ढंगले चलेको देखिन्न र विषयवस्तुको गहिराइ त पटक्कै छैन।
दुई ठूला कम्युनिस्ट पार्टीका बीचमा हुन गइरहेको एकताले कम्युनिस्ट आन्दोलनलाई मात्र हैन, देशको जनजीविकाको समस्या र समग्र लोकतान्त्रिक प्रक्रियालाई नै सकारात्मक दिशा दिनेछ भन्ने आशाका साथ इमानदार कार्यकर्ताले समर्थन गरेका हुन्। हाल कायम रहेको वैचारिक छलफलको खडेरी हट्ला र ध्वस्त आन्तरिक जनवाद पुनः स्थापित होला कि भन्ने आशा नै एकता प्रक्रियाको समर्थनको मूल कारक रहेको देखिन्छ। अहिले त स्थिति कस्तो छ भन्ने बुझ्नका लागि एउटा दृष्टान्त पर्याप्त हुनेछ। एमाले र माओवादी एकता सन्दर्भमा केही मानिसले संगठित ढंगले सामाजिक सञ्जालमा सुरुमा यस्तो लेखे, ‘सिद्धान्तमा जबज, पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओली नै एकताको आधार।’ तिनै मानिसले केही समयपछि यस्तो लेखे, ‘एकतापछि ‘कम्युनिस्ट’ शब्द हटाई ‘सोसल डेमोक्रेटिक पार्टी’ भन्ने नाम राख्नुपर्दछ।’
जबज कुन परिस्थितिमा आएको थियो र त्यसको युगीन महत्व के रहेको छ भन्नेबारेमा अहिले धेरै कमलाई मात्रै चिन्ता छ। नेतृत्वको वरिपरि चक्कर मार्नेहरूले जबज र मदन भण्डारीको नामलाई पद र प्रतिष्ठा प्राप्त गर्ने, जोगाउने, राज्यको दोहन गर्ने र सुविधालाई आर्यघाटसम्म सँगै लैजाने औजारका रूपमा प्रयोग गरेका छन्। कतिसम्म भने २०६३ को गणतान्त्रिक क्रान्तिको पूर्वसन्ध्यामा एमाले पार्टीको नाम र झन्डा फेर्नुपर्दछ भनेर अभियान चलाउनेहरू तथा गणतन्त्रलाई तत्काल कार्यवाहीको नारा बनाउने कुराको विरुद्धमा माइनुटमा फरक मत लेख्नेहरू र तिनका समर्थकहरू अहिले जबजलाई खोल बनाएर आफ्नो कुरूप अनुहार लुकाउन चाहन्छन् तथा साँचो वैचारिक बहस गर्न चाहनेविरुद्ध विष वमन गरिरहेका छन्। यस अवस्थामा जबज लेखिँदाको परिवेश र त्यसले बनाउन चाहेको पार्टीका बारेमा चर्चा गर्नु आवश्यक छ।
जबजको विचार लेखिँदाको परिवेश
एकदलीय राजनीतिक व्यवस्थाको अभ्यास गरिरहेको सोभियत समाजवादी प्रयोग आफ्नो सत्तरी वर्ष लामो यात्रापछि गल्र्यामगुर्लुम ढलेको थियो। सन् १९९१ को २५ डिसेम्बर (१० पुस २०४८) का दिन सोभियत रूसबाट कम्युनिस्ट शासन मात्रै बढारिएन, देशसमेत टुक्रा–टुक्रा पारियो। विभिन्न पुँजीवादी देशका ‘कन्जरभेटिभहरू’ मात्रै होइन, तथाकथित प्रजातान्त्रिक समाजवादीहरू पनि त्यस घटनामा विपत्तै खुसी भएका थिए। जताततै ‘अब समाजवादको भविष्य सकियो’ भन्ने भ्रम फैलाइँदै थियो। कतिपय देशका कम्युनिस्ट पार्टीहरूले नाम र झन्डासमेत फेरे र सिद्धान्तलाई साम्राज्यवादका पाउमा समर्पण गरिदिए।
यता नेपालमा भने सोही अवधिमा क्रान्तिको एक मुख्य नायक वाममोर्चा थियो र त्यसभित्र पनि तत्कालीन नेकपा मालेको सबैभन्दा बढी सांगठनिक शक्ति परिचालित भएको थियो। देशभित्र कम्युनिस्ट क्रान्तिकारी ऊर्जा जाज्वल्यमान थियो भने अन्तर्राष्ट्रिय परिवेशमा कम्युनिस्ट क्रान्ति निभेजस्तै भएको थियो। तिनै परस्पर विपरीत परिवेशको दबाबका बीचमा २०४९ सालमा एमालेको पाँचौं महाधिवेशन आयोजना भएको थियो, जहाँ ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ पारित गरिएको थियो। त्यतिखेर नेपालको कम्युनिस्ट आन्दोलनका अगाडि तीनवटा चुनौती थिए– (१) कम्युनिस्ट विचारधारा र कम्युनिस्ट पार्टीको रक्षा गर्नु, (२) एकदलीय सत्ता अभ्यासबाट उत्पन्न परिणामबाट शिक्षा लिई नयाँ युगलाई ‘कनभिन्स’ गर्ने गरी कार्यक्रम लेख्नु र (३) नयाँ तरिकाले माक्र्सवादी–लेनिनवादी पार्टी संगठित गर्नु।
जबजले आफ्नो एउटा मिसन पूरा गरेको छ र नयाँ मिसनका लागि देशमा रहेका विभिन्न कम्युनिस्ट घटकहरूका बीचमा एकता कायम गरेर जानुको विकल्प छैन।
जबजअनुसारको पार्टी
युग परिवर्तनको प्रसव वेदनाको बेला नै नयाँ नीति र नेतृत्व जन्मिने गर्दछ। महान् व्यक्ति इतिहासको खास चरणमा मात्रै जन्मिनुको कारण नै यही हो। न त सधैं पृथ्वीनारायण शाह नै जन्मिन्छन्, न पुष्पलाल न मदन भण्डारी। युग परिवर्तन भइसकेपछि पनि धेरै प्रतिभा जन्मिन सक्छन् तर उनीहरूले पुर्खाले सिर्जना गरेका कुरा व्याख्या गर्नमा या दोहोर्याइराख्नमा आफूलाई सीमित भएको पाउँछन्। इतिहासको कटुसत्य यही हो। कतिले पुर्खाका कुरा नयाँ परिवेशमा सिक्नेभन्दा पनि भद्दा नक्कल गर्ने वा आफ्नो स्वार्थअनुरूप तोडमरोड गरेर प्रस्तुत गर्दै ‘हाम्रा बाउले भनेको त यो हो नि’ भन्ने धृष्टता गर्दछन्। अहिले कतिपय आफूलाई जबजको कट्टर हिमायती भन्नेहरूले (सबैले हैन) जबजको मूल मर्मलाई तोडमरोड गरेका छन्, त्यसको सारलाई बिर्सिएका छन् या सत्ताको चास्नीमा डुबाएर खाएका छन्।
बहुदलीय व्यवस्थामा राज्यसत्ता सञ्चालन गर्ने काम राजनीतिक पार्टीहरूको हो। जबजले कस्तो पार्टी निर्माण गर्ने सोच अगाडि सारेको थियो त ? यसबारेमा मदन भण्डारीकै लेखाइलाई उद्धृत गर्नु सान्दर्भिक हुनेछ।
‘कुनै एउटा नेता वा केही नेताहरू सर्वेसर्वा हुँदैनन्। सिंगो पार्टी निश्चित तहबीच अन्तरसम्बन्ध भएको शृंखलाबद्ध कमिटी प्रणाली (च्यानल सिस्टम) मा आधारित भएर सञ्चालित हुन्छ। केन्द्र र आम जनताबीच सीधा सम्पर्क भएर पनि त्यसले कमिटी प्रणालीलाई विस्थापित गर्न पाउँदैन।’ (मदन : संकलित रचना भाग– १, पृ. ३०१)
यसैगरी अर्को ठाउँमा लेखिएको छ, ‘जनवादमा आधारित एकता, अनुशासनका सीमाहरू पनि भएको स्वतन्त्रता, पार्टीको जनवाद र केन्द्रीयता, स्वतन्त्रता र अनुशासन पार्टी विधानको ठोस निर्देशनअनुरूप हुनुपर्छ।’ (उही, पृ. ३०३)।
पार्टीले कुनै पनि ठूलो कदम चाल्नुपूर्व ‘डटेर छलफल गर्न पाउनुपर्ने’ कुरा पाँचौं महाधिवेशनको प्रतिवेदन र कार्यक्रममा दर्जनौं ठाउँमा लेखिएको छ।
अहिलेको एमाले के जबजले निर्माण गर्न चाहेको पार्टीअनुसार चलेको छ त ? जहाँ अति सीमित नेतृत्वको घेराबाट सबैथोक निर्णय गरिन्छ, जहाँ पोलिटब्युरो र केन्द्रीय समितिको बैठक महिनौंसम्म बस्दैन र बसे पनि खुला छलफलको कुनै गुन्जायस छैन, त्यहाँ सत्ताको रस चुस्नेहरूले जबजअनुसार पार्टी सञ्चालित भएको देखेका छन्। एमालेको नवौं महाधिवेशनयता हरेक महत्वपूर्ण निर्णयहरूमा केन्द्रीय समिति वा पोलिटब्युरोले फड्के किनाराको साक्षी हुने काम मात्रै पाएको छ। सानो कोटरीले पहिले नै के गर्ने भन्ने निर्णय गर्छ, त्यसलाई स्थायी समितिमा छिराइन्छ। केही मानिसले असहमति राख्छन्। पारित गरिन्छ। ती कुरालाई महिनौंपछि, सन्दर्भ बिरानो भइसकेपछि बसालिएको केही घन्टाको केन्द्रीय समितिले अनुमोदन गर्नुपर्दछ। अहिले निर्वाचित भएका सबै तहका सांसदहरूलाई एमालेको पोलिटब्युरो र केन्द्रीय समितिले आधिकारिकरूपमा चिन्दैन, किनभने छलफल भएकै छैन। अब कुनै दिन अनुमोदन गराइनेछ। आन्तरिक लोकतन्त्र वा जनवाद भनेको चित्त नबुझ्दा प्रस्तावका विपक्षमा निर्णय हुन सक्ने भए प्रयास गर्न पाउनु हो। लागू भइसकेका यी तमाम कुरा अनुमोदन गर्नु बाध्यता हुन्छ। यो त होइन जबजले बनाउन खोजेको पार्टी !
समाज र पार्टी दुवैमा विविध विचार स्विकार्नु जबजको खास कुरा हो। यहाँ त फरक विचारलाई सम्मान गर्ने त कुरै छोडौं, महाधिवेशनमा पारित विचारविरुद्ध अभियान चलाउनेहरूलाई पुरस्कृत गर्ने परिपाटी बसालिएको छ। पार्टीको आधिकारिक विचार बोक्नेहरूलाई यो वा त्यो तरिकाले पछाडि पार्ने, कामको जिम्मा नदिने वा दिए पनि भूमिकाविहीन बनाइदिने काम गरिएको छ। कसैले केही बोल्यो भन्ने आडमा सबै गलत कुरा लुकाउने र ‘लौ जबजमाथि आक्रमण भयो’ भनेर स्याल हुईंया पिट्ने काम गरिएको छ। साँच्चै कसैले कमजोरी छन् भनेर देखायो भने जबजले त्यसलाई त ‘लौ आऊ, छलफल गरौं’ पो भन्छ, दुत्कार्दैन।
जबजको सान्दर्भिकताका बारेमा
नेपाली समाजमा जबजको सान्दर्भिकता बाँकी छ कि छैन भनेर दुई तरिकाले जाँच गर्न सकिन्छ– (१) जबजको अर्थराजनीतिक कार्यक्रमको विश्लेषणबाट र (२) जबजले गरेको माक्र्सवादको व्याख्याबाट। जबजले नेपाली समाजको रूपान्तरणका बारेमा तीनवटा चरणको व्याख्या गरेको छ– (१) सामन्तवाद र साम्राज्यवादका शोषण–दमनका सबै अवशेष समाप्त गर्ने चरण, (२) जनताको जनवादी व्यवस्था सुदृढ गर्ने चरण र (३) समाजवादमा संक्रमण गर्ने चरण (हेर्नुस्– उही, पृ. ३१७ र ३६५)।
जनक्रान्ति २०६३ को बलमा २०६५ साल जेठ १५ गते राजतन्त्र समाप्त गरिएसँगै नेपालबाट सामन्तवादको राजनीतिक अवशेष पनि समाप्त भयो तर साम्राज्यवादको आडभरोसामा टिकेको दलाल पुँजीवादी शोषण झन् गहिरो बनेको छ। जनताको जनवादी व्यवस्थाको सुदृढीकरण गर्ने प्रक्रिया अर्थात् राष्ट्रिय पुँजीको जगर्ना र विकास गर्ने प्रक्रियासँगै दलाल पुँजीवाद कमजोर हुँदै जानेछ। समाजवादउन्मुख अर्थतन्त्र जतिजति बलियो बनाउँदै लगिनेछ, त्यतित्यति दलाल पुँजीवाद विस्थापित हुनेछ।
नेपालको संविधान (२०७२) ले तीनखम्बे अर्थनीतिको माध्यमबाट समाजवाद निर्माण गर्ने बाटो देखाएको छ। जतिखेर जबज लेखिएको थियो त्यतिखेर ‘तीनखम्बे’ शब्द प्रयोग गरिएको थिएन, समाजवादउन्मुख मिश्रित अर्थतन्त्र लागू गर्ने कुरा उल्लेख गरिएको थियो। कुनकुन आर्थिक क्षेत्रमा राज्यको मात्रै लगानी रहन सक्ने भन्ने विषयसमेत जबजको आर्थिक कार्यक्रममा उल्लेख गरिएको छ। सारतः त्यो भनेको तीनखम्बे अर्थनीतिकै कुरा हो।
विदेशी पुँजी भित्र्याउनु हुँदैन तथा आफ्नै पुँजीमा भर परेर अगाडि बढ्नुपर्छ भन्ने परम्परागत आर्थिक चिन्तन बोकेको कम्युनिस्ट जमातका अगाडि मदन भण्डारीले लेखेको जबज कार्यक्रमले नयाँ कुरा अगाडि सार्यो। देशको हितलाई ध्यानमा राखेर वैदेशिक पुँजी र प्रविधि भित्र्याउनुपर्दछ भन्ने कुरा पनि जबजको आर्थिक कार्यक्रममा उल्लेख भएको देखिन्छ। समग्रतामा भन्नुपर्दा नेपाली माटोमा समाजवादसम्मको यात्राका लागि बाटो खोलिदिएको हुँदा जबजले आफ्नो सान्दर्भिकता कायमै राखेको छ।
परमाणुको सूक्ष्म संरचनादेखि लिएर विश्व–ब्रह्माण्डको संरचना र गति द्वन्द्वात्मक छ। हरेक पदार्थ, गति दिक् र कालमा समेत द्वन्द्ववादले काम गर्ने तर शासनसत्ता र पार्टी सञ्चालन अद्वन्द्ववादी हुने भन्ने कुरा आफैंमा गलत छ। शासन सत्तामा द्वन्द्ववादको प्रतिष्ठापन र बहुलताको स्वीकारोक्ति जबजले कम्युनिस्ट आन्दोलनमा स्थापित गरेको कुरा हो। यसैले जबजको यो खोज त झनै सान्दर्भिक छ। सत्ता (पार्टी र सरकार दुवै) को आडमा आम कार्यकर्ताको आवाज थुनिएको सन्दर्भमा त जबजका अवधारणा झनै सान्दर्भिक देखिन्छन्।
एउटा देशमा एउटा मात्रै कम्युनिस्ट पार्टी हुन सक्छ भनेर मान्नु र आफूबाहेक अरूलाई गैरकम्युनिस्ट देख्दै विभिन्न आरोप लगाउनु परम्परागत कम्युनिस्ट दृष्टिकोण हो भने विभिन्न विचारको विविधतालाई स्वीकार गर्नु जबजको नयाँ मान्यता हो। एउटा देशमा धेरै कम्युनिस्ट पार्टी हुन सक्छन् र तिनीहरूका बीचको वैचारिक छलफल तथा तीव्र विमर्शबाट कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा योगदान नै पुग्नेछ भनेर एक कम्युनिस्ट पार्टीले अर्कोको अस्तित्व स्वीकार गर्नु नै जबजको पार्टी एकतासम्बन्धी दृष्टिकोण हो। एमाले र माओवादी केन्द्रले एकले अर्कोलाई कम्युनिस्ट पार्टीका रूपमा स्वीकार गरेकाले नै एकता हुने सम्भावना तयार भएको हो। यही नै जबज कार्यान्वयनको एक पाटो हो। यसैले अब दुवै पार्टीको एकता हुँदा कागजमा ‘जबज’ भनेर लेखिन्छ कि लेखिन्न ? चिन्ता गर्नु आवश्यक देखिन्न। अहिले यही शब्द लेख्ने वा नलेख्ने भनेर कसैले विवाद झिक्छ र एकता प्रक्रियामा भाँजो हाल्छ भने ऊ जबजको सच्चा अनुयायी नै होइन। जबजका योगदानहरूको चर्चा गरेर अगाडि बढ्न सकिन्छ, यसबाट हलो अड्काउने होइन।
जबजले आफ्नो एउटा मिसन पूरा गरेको छ र नयाँ मिसनका लागि देशमा रहेका विभिन्न कम्युनिस्ट घटकहरूका बीचमा एकता कायम गरेर जानुको विकल्प छैन। जबजको सोचअनुसारको पार्टी छैन अहिले। कागजमा लेखेर मात्रै भएन, आचरण नभएपछि। नेताले जे बोल्छ, जे गर्छ सबका सब सही हुन्छ, नेताले गल्ती गर्नै सक्दैन भन्ने सोच्नु, भन्नु, भन्न लगाउनु, जबजको विचार होइन। गलत विचार र व्यवहार हटाउन तयार रहनु, व्यवहारमा निरन्तर खारिन तयार रहनु, आलोचना स्वीकार गर्नु, पार्टीभित्र र समाजमा लोकतन्त्र वा जनवाद स्थापित गर्न निरन्तर क्रियाशील रहनु जबजलाई पालन गर्नु हो। अन्यथा जबजको भजन गाएर सत्ताको रस चुस्ने उपक्रममात्रै हो। (अन्नपूर्ण)