दिलीप रायमाझी भन्छन्–युवतीले पेटमा बच्चा मागिन् !



‘भानुभक्त’ चलचित्रबाट डेब्यु गरेका दिलीप रायमाझीले त्यसपछि थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन् । चलचित्र क्षेत्रमा आउनुअघि नै उनको दमदार नृत्यका थुप्रै फ्यान थिए । चलचित्रमा देखिएपछि त झनै फ्यान फलोअर्स बढेको उनी बताउँछन् । तिनै फ्यानका किस्सा उनले गज्जबका महेश तिमल्सिनालाई सुनाए :

बसमा अटोग्राफ माग्ने युवती
०५१ को कुरा हो । त्यसवेला मैले चलचित्रमा अभिनय गरेको थिइनँ । जुनवेला म विभिन्न प्रोगाममा आफ्नो नृत्यको प्रस्तुति दिन्थेँ । मौसम पिक्चर अवार्डमा नाच्ने मौका पाएँ । त्यसवेला धेरै टेलिभिजन हुँदैनथे । नेपाल टेलिभिजन मात्र थियो । त्यसबाट म नाचेको भिडियो देखिन थाल्यो ।

मेरो घर कीर्तिपुर हो । म नृत्य सिक्न पुतलीसडक आउँदा सार्वजनिक यातायातमै आउँथेँ । मैले त्यो अवार्डमा दुईवटा नृत्य गरिसकेको थिएँ । मलाई आमदर्शकले चिनिसकेका होलान् भन्ने लागेको थिएन । तर, एक दिन बसमा यात्रा गरिरहेको थिएँ ।

त्यहाँ एक युवतीले मलाई तपाईँले नाचेको कति राम्रो लाग्यो, म तपाईँको फ्यान हुँ भनेर एक्कासि अटोग्राफ मागिन् । त्यो सुरुवाती क्षण थियो । फ्यान के हो भन्ने पनि थाहा थिएन । जसले गर्दा के लेख्ने के भनेर अकमक्क परेँ । त्यसपछि मैले आफ्नो हस्ताक्षर उनको हातमा गरिदिएँ ।

बलिउडका निर्माता–निर्देशकले मुम्बई लैजान खोजेपछि…
नेपाली चलचित्रको मौसम पिक्चर अवार्डको वेलामा हलिउड–बलिउडका निर्माता–निर्देशकको उपस्थिति थियो । त्यसवेला म राम्रो नृत्य प्रस्तुत गर्थेँ । त्यही क्रममा मलाई बलिउडका एक चर्चित निर्माता तथा निर्देशकले एकदमै मन पराए ‘मलाई तिम्रो प्रस्तुति एकदमै राम्रो लाग्यो म तिम्रो फ्यान भएँ, अब मुम्बई जाऊ’ भने । जुनवेला म भर्खरै १९ वर्षको थिएँ । मैले उहाँहरूलाई बिस्तारै जाउँला भनेँ । तर, उहाँ हृदयाघात भएर बित्नुभएछ । यी मेरा चलचित्रमा अभिनय नगर्र्दैका फ्यान हुन् ।

रगतले लेखेका बोराका बोरा चिठी आउँथे
जब मैले दर्पणछाया चलचित्रमा अभिनय गरेँ । त्यसपछि मेरा फ्यानले निकै पछ्याउन थाल्नुभयो । मैले दर्पणछाया चलचित्रमा अभिनय गर्दा अहिलेको जस्तो हातहातमा मोबाइल, सामाजिक सञ्जालको जमाना थिएन । त्यसवेला चिठी आदानप्रदान हुन्थ्यो । त्यसैले मेरो घरमा हरेक हप्ता बोरामा चिठी आउँथे । कतिपय बोरामा त रगतले लेखेका पनि चिठी हुन्थे । सुरुसुरुमा त मैले चिठीको प्रतिक्रिया पनि दिने प्रयास गर्थेँ । यसरी फ्यानले पठाएको चिठी हेर्दा निकै ऊर्जा आउँथ्यो । त्यसवेला फ्यानहरूले पठाएका कतिपय चिठी अझै पनि मैले संकलन गरेर राखेको छु ।

नारायणघाटमा युवायुवतीले गालामा किस गरे
धेरै पहिला म चलचित्र ‘आफ्नो मान्छे’ प्रदर्शन भएको ५१ दिनमा नारायणघाट गएको थिएँ । त्यहाँ जाँदा केटा मानिसले नै च्याप्प समातेर किस गरेका थिए । साथै, केटीले पनि मलाई देख्नासाथ गालामा किस गरे । मलाई अचम्म लागेको थियो । माया कसरी व्यक्त गरिँदोरहेछ भनेर अहिले सोच्छु ।

किरण केसी मेरो नृत्यको फ्यान
हास्यकलाकार किरण केसी रातामकै मेरो ठूलो फ्यान हुनुहुन्छ । उहाँले मेरो नृत्यलाई असाध्यै मन पराउनुहुन्छ । उहाँ यतिसम्म फ्यान हुनुहुन्छ कि हरेक स्टेज प्रोग्राममा मेरो नाम लिनुहुन्छ । उहाँ पनि आफैँमा राम्रो नाच्ने मान्छे हो । उहाँले मसँग कुनै पनि स्टेजमा सँगै प्रस्तुति दिन चाहन्छु पनि भन्नुहुन्थ्यो । पछि मैले एउटा नृत्य निर्देशन गर्र्न लागेको थिएँ । त्यसमा उहाँले म पनि भाइकै असिस्टेन्टको रूपमा रहेर नृत्य निर्देशन गर्छु भन्नुभयो । उहाँ मभन्दा राम्रो डान्सर हो । तर, उहाँ मेरो फ्यान भएको हुनाले मसँगै असिस्टेन्टको रूपमा रहेर नृत्य निर्देशन गर्नुभयो ।

पश्चिमकी युवतीले पेटमा बच्चा चाहियो भनेपछि
पश्चिमकी एउटी युवती हुनुहुन्थ्यो । उहाँको नाम खुलाउन चाहन्न । उहाँसँग मेरो सुटिङकै दौरानमा भेट भयो । मेरो डाइहार्ड फ्यान हुनुहुँदो रहेछ । उहाँले मसँग पहिलो भेटमा नै अचम्मको प्रस्ताव राख्नुभयो । विवाह गर्नुपर्दैन, मेरो पेटमा तपाईँले एउटा नासो छाडिदिनुस् न भन्नुभयो । म त अचम्म परेँ । त्यतिवेला मैले विवाह गरिसकेको थिएँ । उहाँलाई सम्झाएर पठाएँ ।

रातभरि खुट्टा मिचिदिने अशोक
आजभन्दा ५ वर्षअगाडि कार्यक्रमकै लागि थाइल्यान्ड गएको थिएँ । त्यहाँ एकजना अशोक पोखरेल नाम गरेका मेरा फ्यान हुनुहुँदो रहेछ । म एक महिना त्यहाँ बस्दा एक सेकेन्ड पनि छाड्नुभएन । म राति निदाउँदा पनि उहाँले मेरो गोडा मसाज गरिरहेको हुनुहुन्थ्यो । मैले यस्तो नगर्नु भन्दा पनि उहाँले रातभरि पनि खुट्टा मिचिरहनुहुन्थ्यो । उहाँ अहिले पनि मलाई भेट्न हरेक वर्ष नेपाल आइरहनुहुन्छ ।

पत्रिकामा छापिएका तस्बिर संकलन गरेर एल्बम
एक दिन म पोखरामा सुटिङ गरिरहेको थिएँ । त्यहाँ एउटी सानी नानी आएर एउटा बुक दिनुभयो । नानीलाई एल्बम दिन अरूले नै अह्राएका रहेछन् । अह्राउनेचाहिँ दुईजना युवती रहेछन् । उनीहरू घरको छतमा बसेका थिए । मलाई देख्नेबित्तिकै लुकिहाले । त्यो एल्बमभित्र पत्रपत्रिकामा त्यसवेलासम्म छापिएका फोटा थिए । एल्बममा सबै थिए । जिन्दगीमा मेरो फोटोलाई त्यसरी संकलन गर्ने को रहेछ ? मैले उहाँलाई भेट्न पाइनँ भनेर अहिले पनि चुकचुक लाग्छ ।

मलाई असाध्यै माया गर्ने निक भाइ
एकजना निक शर्मा भन्ने भाइ हुनुहुन्छ । उहाँ पनि मेरो एकदमै डाइहार्ड फ्यान हो । उहाँ रातदिन मसँगै हिँड्नुहुन्छ । मेरो चलचित्रबाट निकै प्रभावित हुनुभएको रहेछ । हामी अहिले दाजुभाइजस्तो भएका छौँ । उहाँले मलाई यति धेरै माया गर्नुहुन्छ कि मसँगै हिँड्न खोज्नुहुन्छ ।

मेरो हेयरस्टाइललाई फलोअप गर्ने फ्यान
मैले चलचित्रमा अभिनय गर्ने वेलामा मेरो आफ्नै गेटअप थियो । जसमध्ये पनि मेरो हेयरस्टाइल अलि फरक हुन्थ्यो । हेयरस्टाइललाई दिलीप रायामाझी कट भनेर धेरैले फलोअप गर्थे । कतिपयले अहिले पनि जमानामा म तपाईँको हेयरस्टाइलको ठूलो फ्यान थिएँ भन्छन् । जसले गर्दा गर्व महसुस हुन्छ ।

मैले भेटेपछि बिरामी पनि ठीक भएका छन्
धेरै वर्ष पहिला मैतीदेवीकी एकजना फ्यान गम्भीर बिरामी हुनुभएछ । उहाँको बुवा आएर मलाई तपाईँले भेटेपछि मेरी छोरी ठीक हुन्छ रे भन्नुभयो । म गएँ । मलाई भेटेपछि उनी ठीक पनि भइछिन् । (नयाँ पत्रिका गज्ज़ब)

प्रतिक्रिया दिनुहोस्