निर्वाचन आयोगले ५ दललाई प्रतिनिधिसभा समानुपातिकतर्फको सिट वाँडफाँड गर्‍यो (विवरणसहित)



निर्वाचन आयोगले गत १० र २१ मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फ दलहरूले प्राप्त गरेको सिट संख्या तोक्ने निर्णय गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिट संख्या आजै सम्बन्धित दलहरूलाई पठाउनका लागि पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

आयोगको निर्णय अनुसार, ४९ राजनीतिक दलमध्ये पाँच राजनीतिक दलले मात्रै सिट प्राप्त गर्ने भएका छन् । ३ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने ५ वटा दलहरुमध्ये एमाले) ४१, कांग्रेस ४०, माओवादी केन्द्र १७, राजपा र संघीय समाजवादी फोरमले ६/६ सिट प्राप्त गरेका छन् ।

संविधानको धारा ८४ को उपधारा (८) मा संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कूल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था छ ।

राजनीतिक दलहरुले प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र राष्ट्रिय सभातर्फ प्राप्त गरेको महिलाको सीट संख्याको आधारमा एमालेले कम्तीमा ३७ जना, कांग्रेसले कम्तीमा २० जना, माओवादी केन्द्रले कम्तीमा १६ जना, राजपाले कम्तीमा ६ जना र संघीय समाजवादी फोरमले कम्तीमा ५ जना महिलाको प्रतिनिधित्व सुनिश्चित गराउनु पर्नेछ ।

दलहरुले सम्बन्धित समावेशी समूहको प्रतिनिधित्व हुने गरी अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमका आधारमा उम्मेदवार छनौट गरी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (५) बमोजिम केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिबाट निर्णय गरी तीन भित्र (२९ मागको साँझ ५ बजे कार्यालय समय) भित्र दलहरूले नामावली निर्वाचन आयोगमा पेश गर्नुपर्ने छ । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्