समानुपातिक तर्फ कुन दलले कति सिट प्राप्त गरे ?



काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको समानुपातिक परिणाम सार्वजनिक गरेको छ। आयोगको आज बसेको बैठकले मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले प्राप्त गरेको सिट संख्या तोकेको हो।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिट संख्यालाई आजै सम्बन्धित राजनीतिक दलहरूलाई पत्राचार गरेर आयोगले पठाएको छ। आयोगको निर्णय अनुसार, ४९ राजनीतिक दलमध्ये पाँच राजनीतिक दलले मात्रै सिट प्राप्त गर्न सफल भएका छन्। तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने ५ वटा दलहरुमध्ये नेपाल कम्युनिष्ट पार्टी (एमाले) ४१, नेपाली कांग्रेस ४०, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/ समाजवादी जनता पार्टी/जनजागरण पार्टी, नेपाल १७, राष्ट्रिय जनता पार्टी नेपाल ६ र संघीय समाजवादी फोरम, नेपालले ६ सिट प्राप्त गरेका छन्।

नेपालको संविधानको धारा ८४ को उपधारा (८) मा संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कूल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था छ।

राजनीतिक दलहरुले प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र राष्ट्रिय सभातर्फ प्राप्त गरेको महिलाको सीट संख्याको आधारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कम्तीमा ३७ जना, नेपाली कांग्रेसले कम्तीमा २० जना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/समाजवादी जनता पार्टी/जनजागरण पार्टी नेपालले कम्तीमा १६ जना, राष्ट्रिय जनता पार्टी नेपाल ले कम्तीमा ६ जना र संघीय समाजवादी फोरम, नेपालले कम्तीमा ५ जना महिलाको प्रतिनिधित्व सुनिश्चित गराउनु पर्ने आयोगले जनाएको छ।

दलहरुले सम्बन्धित समावेशी समूहको प्रतिनिधित्व हुने गरी अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमका आधारमा उम्मेदवार छनौट गरी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (५) बमोजिम केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिबाट निर्णय गरी ३ (तीन) भित्र अर्थात् माघ २७ गतेदेखि माघ २९ गते साँझ ५ बजे (कार्यालय समय) भित्र दलहरूले नामावली निर्वाचन आयोगमा पेश आयोगले भनेको छ। (नागरिक न्युज)

प्रतिक्रिया दिनुहोस्