प्रदेश ३ का सांसदलाई हेटौडामा २०० गुणा सस्तोमा घडेरी



माघ २७, २०७४

काठमाण्डौ, प्रदेश ३ का सांसदलाई स्थायी रूपमा घर निर्माण गर्न हेटौंडा उपमहानगरपालिकाले अहिलेको बजारभाउ भन्दा करिब २०० गुणा सस्तो गरी किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने भएको छ। नगर विकास समितिको स्वामित्वमा रहेको जग्गालाई सरकारी दररेटमै उपलब्ध गराउने निर्णय शुक्रबार बसेको सर्वदलीय बैठकले गरेको हो। बजारमा अहिले सरकारी दररेट भन्दा २०० गुणा बढीले कारोबार भैरहेको ब्यवसायीहरु बताउँछन् ।

करिब सरकारी दरकै रकम लिएर वडा नं. ८ कमानेमा नगर विकासको स्वामित्वमा भएको करिब ७ बिघा जग्गाबाट बाहिरी जिल्लाका सांसदहरुलाई १० धुरका दरले जग्गा उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख महतले बताए । ५ वर्षको अवधिमा सांसदहरूले हेटौंडामै स्थायी निवास बनाउन सकुन् भनेर सहुलियत दरमा घडेरी उपलब्ध गराउन लागेको नगर विकास समितिले जनाएको छ। अध्यक्ष राजीव सुवेदीकोअध्यक्षतामा उपमहानगरपालिकामा बसेको बैठकले ५ वर्षभित्र रकम भुक्तानीको समयसीमा तोकेको छ।

सांसदहरूले घर निर्माण नगर्दासम्म हेटौंडा उपमहानगरपालिकाले सरकारी तथा उद्योगका भवन र निवासमा राख्ने व्यवस्था मिलाएको छ। घर भाडामा लिएर बस्नुपर्ने बाध्यता अन्त गर्न उपमहानगरले यस्तो व्यवस्था मिलाएको हो।

प्रतिक्रिया दिनुहोस्