माघ २७ माघ २०७४
बाहुनडाँगी (झापा) — झापाको मेचीनगर ३ बाहुनडाँगीका दम्पती मनबहादुर राई र आशमाया राई यसपालि ९० वर्ष पुगे । उनीहरूको बुढेसकालको आडभरोसा एउटी छोरीमात्रै छिन् । उनी पनि अपांग छिन् । तर, तिनै अपांग छोरी सोममायाले पालेकी छन् उनीहरूलाई । उनी बोल्न सक्दिनन् । तर, उनीसँग सीप छ । त्यही सीपले आज उनले आफूमात्रै होइन वृद्ध वा आमालाई पनि पालेकी छन् ।
स्थानीय मुकुन्द नेपालका अनुसार सोममाया बाँसको चोटाबाट डोको, थुन्चे, भकारी बुनेर बिक्री गर्न बजार जान्छिन् । त्यही पैसाले वा आमालाई पालेकी छन् । ‘धेरै अपांगका लागि सोममाया प्रेरक महिला हुन्,’ नेपालले भने, ‘कम्तीमा उनी बजारमा मागेर हिँडेकी छैनन्, आत्मनिर्भर बनेकी छन् ।’
राई दम्पती मेचीनगर नगरपालिका ३ बाहुनडाँगीको विकट गाउँमा बस्छन् । नजिकै इलामको रोङ गाउँपालिका छ । रोङकै सिमानामा उनीहरूको झुप्रो छ । त्यो पनि जीर्ण । उनीहरूको न सुत्ने ओछ्यान राम्रो छ । न त ओड्नेओछ्याउने नै गतिलो छ । ‘आङकै लुगा ओडेर रात काट्छौ,’ धेरै कान नसुन्ने तर बोल्न सक्ने वृद्ध आशमायाले भनिन्, ‘कसले हेर्छ र हामीलाई ।’
यो गाउँमा पानीको हाहाकार छ । स्थानीय निन्दा खोलाको पानी पिउन बाध्य छन् । ‘१ घण्टा पैदल हिँडेपछि खोलासम्म पुगिन्छ,’ आशमायाले सुनाइन्, ‘हामी वर्षौदेखि खोलाकै पानीको भरमा छौँ ।’ राई दम्पती २०२१ सालभन्दा अघिदेखि जंगल फँडानी गरेर यहाँ बसोबास गरेका हुन् । तर, अहिलेसम्म उनीहरूको जमिन र घरको धनीपुर्जा छैन । उनीहरूमात्रै होइन करिब १४ घर स्थानीय लामो समयदेखि धनीपुर्जाविहीन छन् । स्थानीय जनप्रतिनिधि छोटबहादुर राईका अनुसार २०२४ सालतिर यो करिब १० बिघा क्षेत्रमा नापी भएको थियो ।
जंगलको जमिन भनेर नापी नापजाँच नगरी फर्किएको थियो । केही समयअघि वनसँग पनि मुद्दा परेको थियो । वनले आफ्नो जमिन कब्जा गरेर बसेको भन्दै हटाउने प्रयत्न पनि गर्यो । तर, स्थानीयले छाड्न मानेनन् । स्थानीय तिलक सोङमेनका अनुसार वनकै जमिनमा बसोबास गर्ने अरूले धनीपुर्जा ल्याए हामीले ल्याउन सकेनौं । उनले भने, ‘टाठाबाठाले बेलैमा धनीपुर्जा ल्याए हामीले सकेनौं । हाम्रो पक्षमा कसैले बोलिदिएन ।’ (कान्तिपुर )