जानिराखौं ! बोझोको फाइदा र खाने तरिका



गाउँघरतिर घाँटी दुख्दा बोझो चपाउन दिइने गरेको पाइन्छ । बोझो मुखमा हालेपछि यसको टर्रो र तिख्खर स्वादको रस आउँछ । उक्त रसले घाँटी दुखेको वा टन्सिलको समस्यामा आरम दिन्छ । तर, बोझोको उपयोगिता यतिमा मात्र सकिदैन । यो यस्तो औषधिय गुणको वनस्पति हो, जसले हामीलाई प्राकृतिक उपचारमा प्रभावकारी ढंगले काम दिन्छ ।

के हो त बोझो ?
बोझो एक प्रकारको बनस्पती हो । यसको जरालाई हामी बोझो भन्दछउ । पात चुप्पी जस्तै वा ग्लाडिओल्स प्रजातिका फूल जस्तै हुन्छ । आर्युवेदमा यसको खास महत्व रहेको छ ।

कहाँ पाइन्छ त ?
बोझो सामान्यत पहाडी र तराई प्रसस्त क्षेत्रमा पाइन्छ । काठमाडौंमा समेत कतिपयको घर बगैंचामा बोझो हुन्छ । यो ओसिलो स्थानमा फस्टाउँछ । सिमसार त बोझोको लागि अनुकुल स्थान नै भयो । कति ठाउँमा यो आफै उम्रन्छ ।

कतिपय ठाउँमा भने आफैले रोप्नुपर्छ । बोझो रोपेको एक बर्षपछि प्रयोग गर्न मिल्छ । यसको जराबाट बोट फैलन्छ । एक पटक राम्ररी फस्टाएको बोझो अक्सर मासिएर जाँदैन । जरा टुक्राएर प्रयोग गरेपछि, अर्को भागबाट पुन बोट पलाउँछ ।

कसरी प्रयोग गर्ने ?
बोझोको जरा वा भनौ कान्डलाई उखेलेर पखाल्ने । त्यसलाई टुक्रा बनाएर त्यतिकै चपाउन सकिन्छ । लामो समय राखेर खानका लागि चाहि टुक्रा बनाएर सुकाउन सकिन्छ । यसरी सुकाएको बोझोलाई सिसाको बोत्तलमा राखेर आवश्यक्ता अनुसार प्रयोग गर्न सकिन्छ ।

के हुन्छ उपचार ?
बोझोको फाइदा अनेकौ छन् । घाँटी दुखेको निको पार्नदेखि भोक जगाउन समेत बोझो उपयोगी हुन्छ । यो पिनासको समस्यामा पनि लाभदायक हुने बताइन्छ ।

आर्युवेदविज्ञहरुका अनुसार बोझोले स्नायु प्रणालीमा प्रभाव पार्छ । मेडिकल रिसर्चले समेत यो पुष्टि गरिसकेको बताइन्छ । शरीर लठ्याउनका लागि बोझो प्रयोग गरिन्छ ।

१. घाँटी दुखेको ठिक हुन्छ ।
२. शरीर वा जोर्नीको दुखाई निको पार्न काम गर्छ ।
३. पेट दुखेको अवस्थामा बोझो सेवन गर्न सकिन्छ । यसले आरम दिन्छ ।
४. मानसिक तनाव कम गर्न बोझो सेवन गर्न सकिन्छ ।
५. हिस्टेरिया, अनिन्द्रामा समेत यो उपयोगी हुन्छ ।
६. यसले स्मरणशक्ति बढाउन काम गर्छ ।
७. उच्च रक्तचाप नियन्त्रणमा बोझो प्रभावकारी मानिन्छ ।
८. बोझोले श्वासप्रश्वासको गति सामान्य तुल्याउन सहयोग गर्छ । दम रोगमा यसले प्रभावकारी काम गर्छ ।
९. पेटको समस्या भएमा बोझो सेवन गर्नुपर्छ ।
१०. पेटको ग्यास निकाल्न, दिसा खुलाउन, बान्ता गराउन पनि बोझो उपयोगी हुन्छ ।

कति सेवन गर्ने ?
कुनैपनि औषधीको मात्रा हुन्छ । राम्रो काम गर्छ भन्दैमा धेरै वा जथाभावी सेवन गर्दा त्यसको नकारात्मक असर पर्न सक्छ । नेपाली समाजमा उखान नै छ, धेरै खायो भने अमृत पनि बिष हुन्छ । चूर्ण वा धुलो बनाएर सेवन गर्ने हो भने २५ देखि ५ सय मिलिग्रामसम्म सेवन गर्न सकिन्छ । बढी सेवन गर्दा कतिपय असर गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्