गायिका अन्जु पन्तसँग फ्यानका किस्सा : ‘पूर्वश्रीमान् नै मेरा फ्यान’



अञ्जु पन्त नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका हुन् । उनको स्वर रहेका अधिकांश गीत हिट छन् । ‘न बिर्सेँ तिमीलाई’, ‘तिमीले पराई ठानेपछि’, ‘म तिमीविना मरिहाल्छु, ‘भुन भुन बोल्यो भमरा’, ‘तिमी रोएको पल’लगायतका उनका हिट गीत हुन् । ०५२ बाट औपचारिक रूपमा सांगीतिक क्षेत्रमा होमिएकी उनी एकाएक हिट हुँदै गइन् । यसका साथै उनका फ्यान पनि बढ्दै गए । सांगीतिक क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताइरहँदा उनले थुप्रै फ्यान भेटिन् । तिनै फ्यानका किस्सा उनले यसरी सुनाइन् :

फ्यानलाई जेल हालेँ
सुरुसुरुमा अहिलेको जस्तो हातहातमा मोबाइल थिएन । साथै, सामाजिक सञ्जालमा पनि व्यापकता आएको थिएन । जसले गर्दा स्रोताहरूले मेरो अनुहार चिन्दैनथे । जसले गर्दा त्यसवेला मेरो स्वरका फ्यान निकै थिए । म भिडियोमा नदेखिए तापनि मेरो घरनजिकका मानिसले भने चिन्थे । जसले गर्दा मलाई एकजनाले निकै पछ्याउन थाल्नुभयो । उहाँ नक्साल भगवतीबहालमा नै बस्नुहुन्थ्यो । उहाँचाहिँ म भोकल सिक्न जाँदा, बाहिर कतै निस्कँदा पनि मेरै पछिपछि लागेर दिक्कै पार्नुहुन्थ्यो । उहाँ वास्तवमा मेरो डाइहार्ड फ्यान हुनुहुँदो रहेछ । तर, फ्यान भए पनि उहाँले मलाई निकै दुःख दिन थाल्नुभयो । पछि लागेपछि त मलाई जता गए पनि निकै डर लाग्न थाल्यो । त्यसैले अति भएपछि प्रहरीको सहयोगमा जेल नै हाल्नुपरेको थियो ।

गिफ्ट पठाउने फ्यानले आत्महत्या गरिन्
पश्चिमतिरकी एउटी युवती थिइन् । उनी मेरो डाइहार्ड फ्यान हुन् । आजभन्दा १० वर्षअघि उनले मलाई ताजमहल गिफ्ट पठाइदिएकी रहिछिन् । गिफ्टसँगै एउटा रगतले लेखेको चिठी पनि पठाएकी थिइन् । उनले त्यो चिठीमा तपाईंलाई भेटेर खुट्टा ढोग्न मन छ, मलाई तपाईँको एकदमै माया लाग्छ जस्ता पीडादायी भावना पोखेकी थिइन् । साथै, मेरो नम्बर फेला पारेर दिनहुँ फोन गरेर दिक्क लगाउन थालिन् । म पनि उनलाई राम्रैसँग सम्झाउँथेँ । उनले मलाई पहिलोपटक गिफ्ट दिँदा १६ वर्षकी थिइन् । तर, १९ वर्षको हुँदा आत्महत्या गरिन् भन्ने खबर सुनेँ । यो खबरले म निकै दुःखी भएँ ।

रातभरि खुट्टा माडिदिने कतारकी युवती
म केही वर्ष पहिला कतार गएकी थिएँ । त्यहाँ एकजना डान्सर बहिनी हुनुहुन्थ्यो । उहाँ मेरो डाइहार्ड फ्यान हुनुहुँदो रहेछ । म त्यहाँ गएको भन्ने थाहा भएपछि उहाँ त्यो रात मसँगै सुत्नुभयो । रातभरि मेरो खुट्टा माडेर बस्नुभयो । त्यस्तै, मसँगै बसिरहनका लागि रातभरि कपाल पनि बाटिदिनुभएको थियो ।

श्रीमान् नै मेरा फ्यान
मेरो पूर्वश्रीमान् मनोजराज पनि मेरो डाइहार्ड फ्यान हो । एकपटक रेडियो नेपालमा एउटा प्रतियोगितामा म प्रथम भएँ । त्यो प्रतियोगितामा मनोजजी पनि हुनुहुन्थ्यो । उहाँले त्यसवेलादेखि नै मलाई पछ्याउनुभएको थियो । सँगै म्युजिक प्राक्टिस गरौँ भन्नुहुन्थ्यो । तर, म मान्दिनथेँ । यसरी उहाँ लामो समयसम्म मेरो पछि लागेपछि हामीले विवाह गरेका हौँ ।

चकलेट खान फ्यानले पैसा दिन्थे
मैले म्युजिक सिक्दा बाहिर नै स्पिकर राखेका थियौँ । जसले गर्दा मैले प्राक्टिस गरिरहेको बाहिरसम्म सुनिन्थ्यो । मेरो स्वर सुन्नका लागि इन्स्टिच्युटअगाडि आएर धेरै फ्यान बस्नुहुन्थ्यो । मैले गाएको गीत सुन्न पाइन्छ भनेर टाढाटाढाबाट आउनुहुन्थ्यो । म बाहिर निस्केपछि चकलेट खानु भनेर फ्यानहरूले नै दुई हजार, पच्चीस सयजति पैसा दिनुहुन्थ्यो ।

मलाई भेटेपछि ईश्वर भेटेँ भन्ने बेलायतका युवक
केही समयअघि म बेलायत गएकी थिएँ । त्यहाँ एउटा युवक थिए । उनीचाहिँ बेलायतमै जन्मेका हुन्, तर नेपाली । मेरो फ्यान रहेछन् । त्यहाँको कार्यक्रममा मैले गीत गाउन थालेँ, उनी मेरो गीत सुनेर एकोहोरो भएर आँखाबाट आँसु खसाल्न थाले । मैले किन रोएको भनेर सोधेँ । उनले त तपाईँलाई भेटेपछि ईश्वर भेटेजस्तै भयो भन्न लागे । बेलायतमै जन्मे पनि उनी मेरा गीत सुन्दा रहेछन् । उनले त्यस्तो भनेको सुनेर म अचम्ममा परेँ ।

अमेरिकामा युवती खुट्टा समातेर रोए
म केही समयअघि अमेरिकाको एउटा कार्यक्रममा गएकी थिएँ । त्यो कार्यक्रममा म गीत गाउनका लागि स्टेजमा उक्लिएँ । त्यसपछि त्यहाँ रहेका केही केटीले हामी आउँ भन्नुभयो । मैले आउनु भनेर हातको इसाराले बोलाएँ । उहाँहरू त उत्साहित भएर स्टेजमा आएर मेरो खुट्टा समातेर रुन थाल्नुभयो । ठूलै स्वर निकालेर रोएपछि उनीहरूलाई सम्हाल्नै गाह्रो भयो ।

विवाह नगरे आत्महत्या गर्छु भन्ने पर्वतका युवक
पर्वतका एकजना युवक हुनुुहुन्छ । उहाँको नामचाहिँ मैले भुलेँ । तर, उहाँ मलाई साह्रै दुःख दिनुहुन्थ्यो । मलाई निकै मन पराउनुहुँदो रहेछ । साथै, मसँग विवाह गर्ने सोच पनि बनाइसक्नुभएको रहेछ । यतिसम्म कि मसँग विवाह नगरे आत्महत्या गर्छु पनि भन्नुभयो । तर, मैले उहाँलाई सम्झाएँ । यसरी विवाह गर्छु भन्ने त देश–विदेश जताततै छन् ।

मलाई छोएको हात एक हप्तासम्म नधुने इजरायलकी दिदी
म केही वर्षअघि इजरायल जाँदा महिला दिदी–बहिनी फ्यानहरू मलाई भेट्नका लागि आउनुभएको थियो । उहाँहरूमध्ये एकजना दिदीचाहिँ रातभरि नै मेरो हात समातेर बस्नुभयो । उहाँले मलाई छोएको हात एक हप्तासम्म धुनुभएन रे ।

फ्यानहरूबीच झगडा हुँदा एकजनाको ज्यान गयो
महेन्द्रनगरमा भएको एउटा कार्यक्रममा गएकी थिएँ । त्यहाँ एक लाखको हाराहारीमा दर्शक हुनुुहुन्थ्यो । उहाँहरूले मलाई भेटेर छुनका लागि निकै कोसिस गर्नुभयो । त्यसपछि त्यहाँ ठूलो भिड लाग्न थाल्यो । केही समयपछि त फ्यानहरूबीचमा हात हालाहाल नै भयो । यसरी हात हालाहाल हुँदा एकजनाको ज्यान नै गएको थियो ।

फ्यानलाई नै थर्काएर पठाउनुपर्यो
लुक्लामा एउटा कार्यक्रममा गएकी थिएँ । त्यहाँ मेरी मञ्जु दिदी पनि जानुभएको थियो । एकजना केटी मेरो एकदमै फ्यान रहिछिन् । उनी कलाकार नै हुन् । मलाई छाड्दै छाडिनन् । त्यसपछि मेरी दिदीले उनलाई झपारेर पठाउनुपरेको थियो ।

तकियामा मेरो फोटो छापेर सुत्ने फ्यान
हेटौँडामा मेरो एकजना डाइहार्ड फ्यान हुनुहुन्छ । उहाँको नामचाहिँ मलाई याद छैन । तर, उहाँले मेरो फोटो तकियामा छाप्नुभएको छ रे । जुन कुरा त्यहीँका एकजना फ्यानले नै भन्नुभएको थियो ।

विवाह गर्न अझै कुरेर बसिरहेका छन्
पूर्वमा एकजना फ्यान हुनुहुन्छ । उहाँले मलाई निकै मन पराउनुहुन्छ । ‘तपाईँले मान्नुहुन्छ भने जिन्दगीभर कुर्न तयार छु, तर तपार्इँँले मसँग विवाह गर्नुभएन भने म अरूसँग पनि विवाह गर्दिनँ’ भन्नुहुन्छ । अहिले पनि मसँगै विवाह गर्ने भनेर कुरिरहनुभएको छ । यो त एउटा प्रतिनिधि पात्र मात्र हो । मसँगै विवाह गर्छु भनेर कुरेर बस्ने कति छन् कति । (नयाँ पत्रिकाबाट)

प्रतिक्रिया दिनुहोस्