चालीस प्रतिशत जनता विद्युत् पहुँच बाहिर : ऊर्जामन्त्री थापा



भीमदत्तनगर, २८ माघ : उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले अझै मुलुकमा ४० प्रतिशत जनता विद्युत्को पहुँचबाट टाढा रहेको बताउनुभएको छ ।

मिडिया नेपाल कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आगामी पाँच वर्षभित्र हरेक घरमा विद्युत् सेवा पुर्याउने लक्ष्यअनुसार सरकारले काम अघि बढाएको जानकारी दिनुभयो ।

आगामी १० वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको तयारी रहेको बताउँदै ऊर्जामन्त्री थापाले  प्रदेश नंं ७ मा जलविद्युत्को अथाह सम्भावना रहेको जानकारी दिनुभयो । “नौ महिनाभित्र अपर तामाकोशी जलविद्युत् आयोजना सम्पन्न हुँदैछ ।”  उपप्रधानमन्त्री थापाले भन्नुभयो, “शनिबार उद्घाटन गरिएको चमेलिया जलविद्युत् आयोजना प्रदेश नं ७ मा अहिलेसम्मको ठूलो आयोजना हो ।”।

निर्वाचनमा उम्मेदवार नउठाउनु गम्भीर गल्ती
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधान एवं ऊर्जामन्त्री थापाले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार खडा नगर्नु ठूलो गल्ती भएको बताउनुभयो । “प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा हामीले पाँच क्षेत्रमा मात्रै उम्मेदवारी दियौँ ।उहाँले भन्नुभयो, “उम्मेदवार नभएका कारण पनि समानुपातिकमा मत आएन ।” आगामी दिनमा समेत हिन्दू राष्ट्र पार्टीको प्रमुख एजेण्डा रहने र  त्यसका निम्ती सडक संघर्ष गर्दै अघि बढिने छ ।” रासस

प्रतिक्रिया दिनुहोस्