पछिल्लो पुस्ताका हिरोइनमध्ये सर्वाधिक चर्चा र सफलता हासिल गर्ने दीपिका



सञ्जयलीला भन्सालीको विवादीत फिल्म पद्मावतले प्रदर्शनको दुई सातामा २३६ करोड भारु व्यापार गरेको छ । अभिनेत्री दीपिका पादुकोण प्रमुख भूमिकामा रहेको पद्मावतले उनका अघिल्ला सबै फिल्मको व्यावसायिक रेकर्ड तोडेको छ । पछिल्लो पुस्ताका हिरोइनमध्ये दीपिकाले सर्वाधिक चर्चा र सफलता हासिल गरिरहेकी छिन् । दीपिका अभिनीत शाहरुख खानको चेन्नई एक्सप्रेसले भारतीय बजारमा कुल २२६ करोड भारु व्यापार गरेको थियो भने पद्मावतले दुई सातामै २३६ करोड कमाइसकेको छ । प्रमुख चार हिन्दीभाषी राज्य गुजरात, राजस्थान, मध्यप्रदेश र हरियाणामा पद्मावत रिलिज हुन सकेको छैन । तर, पनि फिल्मले व्यावसायिक रेकर्ड कायम गरिरहेको छ ।

भारतीय अनलाइनले उल्लेख गरेअनुसार दुई सातामै पद्मावत सर्वाधिक पैसा कमाउने १० हिन्दी फिल्ममा परिसकेको छ । बाहुबली–२, दंगल, पिके, टाइगर जिन्दा है, बजरंगी भाइजान, सुत्तान, धुम–३, कृष–३ र किक सर्वाधिक कमाउने फिल्मको लिस्टमा छन् ।

दीपिकाका यसअघिका थुप्रै फिल्मले सय करोडभन्दा बढी कमाइसकेका छन् । उनको सन् २०१४ को ह्याप्पी न्यु इअर फिल्मले कुल २०३ करोड भारु कमाएको थियो । रोहित शेट्टी निर्देशित सो फिल्ममा शाहरुख खान र उनको जोडी छ ।

त्यसैगरी, सन् २०१३ को ए जवानी है दिवानीले कुल १९० करोड भारु कमाएको थियो । सन् २०१५ को सञ्जयलीला भन्साली निर्देशित बाजीराव मस्तानीले भने १८० करोड भारु कमाएको थियो । सो फिल्ममा दीपिकाका साथमा उनका प्रेमी रणवीर सिंह मुख्य भूमिकामा छन् । दीपिकाको अर्काे सर्वाधिक कमाइ गरेको फिल्म हो, गोलियोँका रासलीला रामलीला । सन् २०१३ मा रिलिज भएको यो फिल्मले ११० करोड भारु कमाएको थियो । यो पनि भन्सालीकै फिल्म हो । दीपिका, जोन अब्राहम र सैफअली खान अभिनीत अब्बास मस्तानको रेस–२ ले १०२ करोड भारु कमाएको थियो ।

सन् २००७ को ओम शान्ति ओमले कुल ७९ करोड भारु कमाएको थियो । शाहरुख खानले निर्माण गरेको ओम शान्ति ओम नै दीपिकाको डेब्यु फिल्म हो । सन् २०१५ को दीपिका, इरफान खान अभिनीत पिकु फिल्मले पनि ७९ करोड व्यापार गरेको थियो । दीपिकाका अधिकांश फिल्म सुपरहिट भएका छन् । पद्मावतले त उनलाई झनै चर्चामा ल्याएको छ । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्