‘ग्ल्यामरस हिरोइन’ अदिती बुढाथोकी (फोटो फिचर)



काठमाडौ । ग्ल्यामर क्षेत्रमा धमाका मच्चाइरहेकी अदिती बुढाथोकीले मिडियामापनि उत्तिकै हंगामा मच्याएकी छन् । मिडियाले उनलाई रहस्यमयी पात्र बनाएको छ । पछिल्लो समय युट्युबलगायत सामाजिक सञ्जालमा अभिनेत्री अदितीलाई खोजियो भने उनको ‘निजी कुरा’देखि ‘लाइफस्टाइल’सम्मका अनेक मसालेदार सामग्री फेला पर्छन् । तीमध्ये कतिपय सामग्री त अतिरञ्जितसमेत छन् । अतिरञ्जनाको यो चक्करमा भारतीय मिडियासमेत फसेका छन् । भारतीय मिडिया लेख्छन्, ‘सनी लियोनीजस्ती बोल्ड एक्ट्रेसलाई पनि मात दिइरहेकी छन्, यी नेपालकी हिरोइन ।

भर्चुअल संसारले आफूलाई कुनैबेलाकी पोर्न स्टारसँग दाँज्न थालेपछि ‘मिस्ट्री गर्ल’ अदितीले मुख खोल्नैपर्‍यो, ‘सनी लियोनीसँग तुलना गरेकामा म दुःखी छु ।’ सनी पोर्न उद्योगबाट बलिउडमा अवतरण गरेकी हुन् । अदितीको पृष्ठभूमि एकदम भिन्न छ । उनी मोडलिङ हुँदै रजतपटमा पदार्पण भएकी हुन् । पछिल्लो पटक अदितीको चर्चाको सन्दर्भ बेग्लै छ । उनको पहिलो फिल्म ‘कृ’ माघ अन्तिम साता प्रदर्शनमा आउँदैछ, जसमा उनले अनमोल केसीसँग स्किन सेयर गरेकी छन् । यही कारण फिल्म रिलिजअघि नै अदितीले ‘नेम र फेम’ पाइसकेकी छन् ।

फिल्म उद्योगमा आफ्नै ‘स्टारडम’ भएका चकलेटी हिरो अनमोलसँगको अनस्क्रिन रोमान्सलाई लिएर अदितीको चर्चा हुने नै भयो । त्यसबाहेक उनी त्यो रिक्त स्थानमा छिन्, जहाँ नेपाली हिरोइनहरुको उपस्थिति छैन । पछिल्लो छिमलमा खोजिने ‘ग्ल्यामर हिरोइन’मा अदिती फिट छिन् ।

प्रतिक्रिया दिनुहोस्