सह–अध्यक्षको मोडालिटीमा पार्टी एकता : जनार्दन शर्मा



माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले वाम एकता हुन्छ कि हुँदैन भनेर आशंका नगर्न आग्रह गरेका छन् । पार्टी एकता प्रक्रिया पूर्णता पाउने घडीमा पुगेको उनले बताए ।

‘२८ सालदेखि फरक धाराका रुपमा अघि बढेका दुईवटा धाराहरु अब एक हुँदैछन्, यसमा कुनै शंका छैन,’ सोमबार बिर्तामोडमा प्रेस सेन्टर झापाद्वारा आयोजित पत्रकार सम्मेलनमा पूर्व गृहमन्त्रीसमेत रहेका नेता शर्माले भने, ‘एउटा धारा झापा आन्दोदन हुँदै अघि बढ्यो, अर्को धारा सशस्त्र क्रान्तिको बाटो हुँदै अघि बढ्यो, जनमतको कदर गर्दै अब चाहिँ एक हुने नै हो ।’

एउटै घोषणापत्रमा चुनाव लड्नु नै वाम एकता भएबराबर भएको उनको भनाइ छ । एकतालाई व्यवहारिक र सैद्धान्तिक रुपले मात्र टुंगो लगाउन बाँकी रहेको नेता शर्माले बताए । एकता संयोजन समितिको बैठकले एकता प्रक्रियालाई पूर्णता दिएपछि घोषणा गरिने उनले जानकारी दिए ।

एकतापछि सम्बृद्धि र समाजवादमा कसरी अगाडि बढ्ने भन्ने विषयमा महाधिवेशनमा छलफल गरिने शर्माले बताए । वाम गठबन्धनका सुत्रधारसमेत रहेका नेता शर्माले सह–अध्यक्षको मोडालिटीमा पार्टी एकता प्रक्रिया अगाडि बढिरहेको खुलासा गरेका छन् । ‘अहिलेलाई केपी–प्रचण्ड मोटालिटीमा अघि बढिन्छ,’ उनले भने, ‘बाँकी कुरा त महाधिवेशनले टुंगो लगाइहाल्छ नि !’

सरकार निर्माण प्रक्रिया र पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने उनको भनाइ छ । फागुनको पहिलो हप्ता नै एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बन्ने उनले बताए । एक फरक प्रशंगमा बोल्दै नेता शर्माले पार्टीमा ‘एक व्यक्ति एक पद’ लागु गर्नु राम्रो हुने प्रतिक्रिया दिए । ‘एक व्यक्ति एक पद लागु गर्न सक्नु राम्रो कुरा हो,’ उनले भने, ‘तर, तत्काल नभएर महाधिवेशनपछि चाहिँ त्यो हुन सक्छ ।’
वर्तमान समयमा एकले अर्कालाई स्वीकार गरेर अगाडि बढ्नु नै उत्तम हुने शर्माको भनाइ छ । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्