सन्दीपको शानः एक्लैले झारे केन्याका पाँच विकेट



काठमाडौँः इन्डियन प्रिमियर लिगको टोली दिल्ली डेयर डेभिल्सले किनेसँगै चर्चाचाको शिखरमा रहेका नेपालका युवा स्पिनर सन्दीप लामिछानेले केन्याविरुद्ध सोमबार भएको खेलमा आफ्नो स्पिनको जादु पुनः देखाएका छन् ।

आईसीसी विश्व क्रिकेट डिभिजन २ अन्तरत नेपालको चौथो खेलमा केन्या सन्दीपले स्पिनको जादुलाई कायमै राखेका हुन् । केन्याले १७८ रनको चुनौती दिएको खेलमा टस जितेर पहिले फिल्डिङमा उत्रेको नेपालका लागि सन्दीपले नै पहिलो र अन्तिम अर्थात् आठौँ विकेट पनि लिए ।

सुरुवातमा नेपाललाई दबाबमा राख्दै रन बटुलिरहेको केन्याविरुद्ध सन्दीप बलिङमा उत्रिँदै स्पिनको जादुसहित प्रभावशाली खेल पस्किए । नेपालका १७ वर्षीय स्पिनर सन्दीपले उत्कृष्ट ब्याटिङ गरिरहेका ओबान्डालाई १६.६ ओभरमा पेभेलियनको बाटो देखाए । ४६ बलमा ४१ रन बनाएको अवस्थामा सन्दीपले ओबान्डालाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

त्यसैगरी सन्दीपले खेल १८.४ ओभरमा पुगेको अवस्थामा डिएम गोन्डारियालाई पनि पेभेलियनको बाटो देखाए । उनले ५ बलमा ४ रन बनाएको अवस्थामा गोन्डारियालाई आउट गर्न सफल भए ।

सन्दीपले ३३.१ र २ ओभरमा केन्याका लगातार दुई विकेट झार्न सफल भएका छन् । उनले ३३ ओभरमा पहिलो बलिङ गर्दै पाँचौ क्रममा आएका केन्याका कप्तान आरआर पटेललाई कप्तान पारस खड्कामार्फत क्याच आउट गराउन सफल भए ।

त्यसैगरी दोस्रो बलमा पनि उनले छैटौँ क्रममा क्रिजमा आएका आरएन पटेललाई एलबीडब्लु धरापमा पार्दै शून्य रनमा पेभेलियन फर्काइदिए । केन्याले पुरै ५ ओभर खेलेको अवस्थामा नेपालका लागि अन्तिम अर्थात् आठौँ विकेटका रुपमा सन्दीपले नै एनएन ओढियाम्बोलाई पेभेलियनको बाटो देखाइदिए । नेपालका लागि अन्य एक-एक विकेट वसन्त रेग्मी, शरद भेशवाकर र सोमपाल कामीको नाममा रह्यो ।

यसअघि उनले संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा नेपालका लागि ५ ओभर बलिङ गर्दै १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिन सफल भए । सन्दीपले नेपालका लागि ५ ओभर बलिङ गर्दै १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । उनले खेलको १८औं ओभरमा लगातार २ विकेट लिएका थिए ।

नेपालले ओमानसँगको खेलमा पराजित हुँदा पनि युवा स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएका थिए । त्यसैगरी सोमपाल कामी र वसन्त रेग्मीले एक-एक विकेट लिएका थिए।

त्यसैगरी नामिबियाविरुद्ध विजयी भएको पहिलो खेलमा पनि सन्दीपले ४ विकेट लिएका थिए । त्यो खेलमा सोमपाल कामीले ३, बसन्त रेग्मी, पारस खड्का र शरद भेषावकर एकएक विकेट लिएका थिए । (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्