काठमाडौ : राष्ट्रिय ध्वाजबाहक नेपाल वायु सेवा निगमले आन्तरिक उडानका लागि दुई नयाँ चिनियाँ वाई १२ सिरिजका जहाज भित्र्याएको छ। नेवानिले मंगलबार थप दुई चिनियाँ जहाज नेपाल ल्याएको हो। नयाँ चिनियाँ जहाज ल्याएसँगै नेवानिसँग आन्तरिक उडानका लागि ८ जहाज भएका छन्।
तर, थपिएका दुईवटा वाई १२ सिरिज जहाज सहित नेवानिसँग चार वाइ १२ जहाज भएको छ। तर, चार वाई १२ जहाज उडानका लागि दुई पाइलट मात्रै छन्।
विमानस्थल ट्राफिक कन्ट्रोलका प्रमुख सिताराम भन्डारीका अनुसार नयाँ दुई वाइ १२ सिसिजका जहाज मंगलबार दिउँसो एउटा फ्लाइट नम्बर ०७३६ १ः२१ र अर्को ०७५६ १ः४५ जाँदा त्रिभुवन विमानस्थलका ल्यान्ड गरिएको हो ।
नेवानिसँग अब आन्तरिक उडानका लागि दुई एमए ६० , चार वाई १२ र दुइ वटा ट्वीनअटर जहाज भएको छ। अहिले नेवानीको एक ट्वीनअटरले नियमति रुपमा उडान गरिरहे पनि एउटा ट्वीनअटर भने मर्मतमा छ।
तर, पाइलट अभावकै कारण यस अघि नै ल्याइएका दुई वाई १२ सिरिजका जहाजले पनि उडान गर्न सकेका छैनन्।सम्झोतामा दुईवटा अनुदान र चारवटा सहुलियत ऋणमा जहाज ल्याउने सहमति भएको थियो।सहमतिअनुसार नेवानिले २०७१ वैशाखमा पहिलो एमए ६० जहाज ल्याएको थियो भने सोही वर्षको कात्तिकमा वाई १२ जहाज ल्याएको थियो।
पहिलो पटक ल्याइएको दुवै जहाज अनुदानका थिए। २०७३ मा एमए ६० र वाई–१२ ल्याएको थियो। यसैगरी निगमले दुई सरकार बीचको सम्झौता अनुसार बाँकी रहेको दुई वटा वाई १२ जहाज ल्याउन लागेको हो।त्यसपछि ल्याइएका एक एमए ६० र तीन वटा वाई १२ सिरिजका जहाजमा नेपाल सरकारले करिब पौने चार अर्ब रुपैयाँ खर्च गरेको छ। तर, वाइ १२ जहाज कहाँ उडाने भने नेवानिसँग कुनै पनि व्यवसायी योजना छैन।
आन्तरिक उडानमा पनि उच्च दुर्गम क्षेत्रमा उडान गर्न सकिने जहाज नेवानिले अहिले काठमाडौंलाई आधार बनाएर भैरहवा, पोखरा र सिमरामा उडान गर्दै आएको छ। चारवटा वाई १२ जहाजका लागि कम्तिमा १० जना पाइलट हुनु पर्ने भएपनि दुईजना मात्रै पाइलट छन्। दुईजना पाइलटकलाई सातजना को–पाइलटले सहयोग गरिरहेको छन्। पाइलटको व्यवस्था नभएसम्म अहिले ल्याइएका नयाँ दुई चिनियाँ वाई १२ सिरिजका जहाज पनि तत्काल उड्न सक्ने अवस्थामा छैनन्। नेवानिलाई सरकारले जवरजस्ती वाई १२ जहाज भिराएको निगम स्रोत बताउँछ्।
वाई १२ सिरिजका जहाज खर्चले नेवानिलाई खर्च मात्रै गराएको छ। नयाँ जहाज ल्याएको बेला नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारले उच्च दुर्गम क्षेत्रमा उडान गर्ने बताइरहेपनि उडान हुन सक्ने अवस्था छैन। जहाज ल्याउन भन्दा पहिले नै आवश्यक जनशक्ति तयार गर्नु पर्ने भएपनि नेवानिले जहाज आउने समय तय भएपछि मात्रै पाइलटका लागि विज्ञापन गरेको छ।
अहिले दुई वटा वाई १२ जहाज उडाइरहेका पाइलटलाई थप दुई जहाज उडाउने जिम्मेवारी पनि थपिने भएको हो। नेपाल एयरलाइन्सका रविन्द्र प्रवक्ता श्रेष्ठले वाई १२ सिरिजका जहाज उडानका लागि दुईजना मात्रै पाइलट रहेको स्विकार गरे। ‘नेपाल र चीनबीचको पुरानो सम्झौताका कारण पाइलट अभाव भए पनि जहाज ल्याउनैपर्ने वाध्यता छ’, उनले भने। नेवानिले पाइलटका लागि विज्ञापन पनि गरिसकेको छ।’
नयाँ जहाजका लागि प्राधिकरणले नाईन एन एकेयु र नाइैन एन एकेभी दिएको उनले जानकारी दिए। नयाँ जहाजबाट उडान सुरुभएपछि नेवानिले अहिले उडान गरिरहेको गन्तव्यमा थप उडान गर्ने र दुर्गममा पनि उडान सुरु गर्ने उनले बताए। साथै नेवानिले यसै वर्ष अन्तर्राष्ट्रिय उडानका लागि करिब २२ अर्ब रुपैयाँको खर्चका दुई वाइडबडी जहाज ल्याउने छ। योसँगै नेवानिसँग अन्तर्राष्ट्रिय उडानका लागि एउटा बोइङ, दुई वटा एयरबस र दुई वाइडबडी जहाज हुनेछ।
(अन्नपुर्ण पोस्ट)