नर्कको ढोका : एक अनुसन्धान (भिडियो सहित)



कुनै पनि ठाउँमा जिन्दगी चल्नका लागि तातो, चिसो, हावा, पानी सबै कुरा ठिक्क मिलेको हुनुपर्छ। अत्यधिक गर्मी वा जाडो भयो भने त्यहाँ बाँच्न सकिँदैन।

पूर्वी अफ्रिकाको इथियोपियामा एउटा यस्तो ठाउँ छ जहाँ आगो बर्सिन्छ। यसलाई संसारको सबभन्दा तातो ठाउँ मानिन्छ।

यो स्थानको नाम दानाकिल डिप्रेसन हो । यहाँ नै पृथ्वीका तीन महादेशीय प्लेटहरू ठोक्किन आइपुग्छन्। यही कारणले गर्दा यहाँ धर्तीबाट लाभा र एसिड बाहिर निस्कन्छ । दानाकिल डिप्रेसनमा वर्षभरि नै ४५ डिग्री तापक्रम रहन्छ । त्यसैले यसलाई मानिसहरू नर्कको ढोका भन्छन्।

यति भयंकर गर्मी र तातो पानीका कारण पूरै क्षेत्रमा एसिड भरिएको छ। यहाँ जिन्दगी फल्ने फुल्ने सम्भावना अत्यन्त कम छ । तैपनि हालै यहाँ जिन्दगीका संकेतहरू पाइएका छन्।

अफ्रिकाको यो इलाकाको कमै मात्र अनुसन्धान भएको छ । समुद्र सतहभन्दा करीब ३३० फीट तल रहेको यो ठाउँमा मुश्किलले पानी पर्छ । त्यसैले यहाँ पग्लेको लाभा प्रायः चुहिरहन्छ।

दानाकिलमा पानीको पीएच स्तर ०.२ छ । पीएच भन्नाले पानीमा हाइड्रोजनको मात्रा बुझ्नुपर्छ । पानीमा यति धेरै हाइड्रोजनको मात्रा संसारमा अन्त कतै भेटिन्न।

यहाँ दुईवटा ज्वालामुखी प्रायः सक्रिय रहन्छन्। समुद्रको नूनिलो पानी ज्वालामुखीबाट निस्कने खनिज र लाभाका साथ मिसिँदा अनेक किसिमका चम्किला रंगहरू निस्कन्छन् ।

यस्तो वातावरणमा बाँच्न सकिने सम्भावना न्यून छ । तर यो ठाउँभन्दा केही पर घुमन्ते जातिका मानिसहरू बस्छन्। दानाकिलमा कीटाणु र चराहरूको लाश भेटिएकाले यहाँ जीवनको हल्का सम्भावनाको अनुमान गरिएको छ।

चन्द्रमा र मंगल ग्रहमा पनि यस्तै अवस्था रहेको बताइन्छ। दानाकिलमा गरिएको अनुसन्धानले मंगल ग्रहमा पनि जिन्दगी फल्ने फुल्ने सम्भावनालाई इंगित गर्छ।

वैज्ञानिकहरूले दानाकिलमा पाइएका कीटाणुहरूभित्र के परिवर्तन भएर यस्तो प्रचण्ड गर्मीमा बाँच्न सक्छन् भनी पत्ता लगाउन खोज्दैछन्।

यो अनुसन्धानले धर्तीमा जिन्दगीको शुरुवात कसरी भयो भन्ने बुझ्न पनि मद्दत गर्नेछ। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्