अब २८ हजार पर्ने मोबाइल १ रुपैयाँमै लिन पाइनेछ



काठमाडौं,२ फागुन २०७४

तपाईंसँग पैसा छैन तर तपाईंलाई मोबाइल भने तत्काल किन्नुपर्ने अवस्था आयो। त्यो पनि राम्रै फिचर भएको मोबाइल, अब के गर्नुहुन्छ? के व्याजमै भए पनि ऋण खोजेर मोबाइल किन्ने तयारीमा हुनुहुन्छ? यदि महँगो व्याज तिरेर मोबाइल किन्दै हुनुहुन्छ भने तपाईंले व्याजको पैसा नचलाए पनि हुन्छ। अथवा मोबाइल किन्नै पर्ने छ र अहिले पैसा छैन भने पनि चिन्ता गर्नुपर्दैन। प्रत्येक महिनाको तलबबाट वा व्यवसाय गरेर आएको आम्दानीबाट १/२ हजार तिर्छु र राम्रै फिचर भएको मोबाइल चलाउँछु भन्ने तपाइको योजना छ भने त्यो योजना पूरा हुने भएको छ। यसका लागि तपाईंसँग तत्कालका लागि मात्रै १ रुपैयाँ भए पुग्छ।

सुन्धाराको सिटिसी मलमा रहेको इजी मोबाइल केयर प्रालिले ६ महिनाअघि अर्थात गत साउन महिनाबाट ३० हजार रुपैयाँभन्दा कम मूल्यको मोबाइलका लागि २५ प्रतिशत र त्यसभन्दा माथिको मूल्यको मोबाइलका लागि ३० प्रतिशत डाउन पेमेन्ट गरेर अधिकतम एक वर्षका लागि किस्तामा दिने योजना ल्याएको थियो। यो योजना सफल भएसँगै इजीले १ रुपैयाँ भएपछि मोबाइल किन्न पाइने अर्को योजना ल्याएको हो। यस योजनाअन्तर्गत तपाईंसँग १ रुपैयाँ छ भने मोबाइल किन्न पाउनुहुनेछ।

सोमबारबाट २८ हजार २९० रुपैयाँ पर्ने स्यामसुङ ‘जे सेभेन’मा यस्तो योजना अघि बढाइएको छ। सुरुमा तपाईंले १ रुपैयाँमा मोबाइल किन्न पाउनुहुनेछ भने त्यसपछि अधिकतम १८ महिनासम्म लगाएर किस्ता तिर्न पाउने गरी व्यवस्था गरिएको इजी मोबाइल केयरका अध्यक्ष सुजित पौडेलले बताए। ‘ग्राहकसँग १ रुपैयाँ भएपछि मोबाइल लैजान पाउनेछन्। बाँकी रकम ६, १२ वा १८ महिना लगाएर तिर्नुपर्नेछ’, पौडेलले भने। पौडेलका अनुसार यसको व्याज भने तिर्नुपर्ने छैन।

के हो प्रकिया?

इजीले ल्याएको यो योजना तपाईंलाई मनपर्‍यो र मोबाइल किन्न चाहनुभयो भने यी प्रकिया पूरा गर्नुपर्नेछ। यो योजनाका लागि तपाईंसँग २ वटा पासपोर्ट साइजको फोटो, नागरिकताको फोटोकपी र १ रुपैयाँ भने अनिवार्य चाहिनेछ। साथै तपाईंले नाेकरी गर्नुहुन्छ भने तपाईंको संस्थाले उक्त कार्यालय वा संस्थामा यति समयदेखि काम गरेको छ भनेर पत्र बनाइदिनुपर्नेछ।

यो पत्र पनि बोकेर तपाईं सिटिसी मलको चौथो तलामा रहेको इजी मोबाइल केयरमा जानुपर्नेछ। यी काम सकेर १ रुपैयाँ बुझाएपछि कति महिनाको किस्ता गर्ने भन्ने विषयमा तपाईंले एउटा फर्म भर्नुपर्ने छ, जहाँ तपाईंको फोटो टाँसिनेछ र तपाईंले हस्ताक्षर पनि गर्नुपर्नेछ।

यसपछि मासिक रूपमा किस्ता तिर्नका लागि इजीले कुनै एक बैंकमा क्रेडिट कार्ड बनाइदिनेछ। यसअनुसार महिना महिनामा किस्ता तिर्नुपर्नेछ। नाेकरी नगर्ने तर व्यवसाय गर्ने हो भने त्यसको प्रमाण खुल्ने कागज वा अरू कुनै आम्दानीको स्रोत छ भने त्यसको कागज दिएपछि पनि हुनेछ।

यदि २८ हजार २९० रुपैयाँ पर्ने मोबाइल १८ महिनाको किस्तामा किन्नुभयो भने मासिक १ हजार ५०० रुपैयाँ तिरेर मोबाइल चलाउन पाउनुहुनेछ। किस्ता तिरेर सक्दासम्म तपाईंको मोबाइल बिग्रियो भने नि:शुल्क इजी केयरले बनाइदिने र त्यसको थप १ वर्ष वारेन्टी रहने व्यवस्था गरिएको अध्यक्ष पौडेलले जानकारी दिए।

६ महिनामा ५ हजार किस्ताका मोबाइल

अध्यक्ष पौडेलका अनुसार इजी केयरबाट ५० हजार मोबाइल किस्तामा बिक्री भएको छ। इजीले गत साउनबाट किस्तामा मोबाइल बेच्न सुरु गरेको थियो। यसका लागि ३० हजार रुपैयाँभन्दा कम मूल्य पर्ने मोबाइललाई कम्तीमा २५ र त्यसभन्दा बढी मूल्य पर्ने मोबाइललाई ३० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने व्यवस्था गरिएको थियो। ‘हामीले ६ महिनामा ४/५ करोड रुपैयाँ मूल्य पर्ने ५ हजार मोबाइल किस्तामा बिक्री गरिसकेका छौँ’, पौडेलले भने।

प्रतिक्रिया दिनुहोस्