आँखा झिम्क्याएको आरोपमा भ्यालेन्टाइन गर्ल विरुद्ध प्रहरीमा उजूरी



दिल्ली, फागुन २, २०७४

सामाजिक सञ्जाल अहिले भ्यालेन्टाइनमय बनेको छ। प्रयोगकर्ताहरुले विभिन्‍न फोटो, भिडियो, कविता, गजलहरु पोस्ट गरेर माया साटासाट गरिरहेका छन्। अहिले सामाजिक सञ्जालमा एक भारतीय युवती निकै चर्चामा छिन्। उनको अभिनय रहेको भिडियो क्लिप ट्वीटर, फेसबुक, इस्टाग्राम र वाट्सएपमा भाइरल भइरहेको छ।

भिडियोमा एक युवतीले आफ्नो हाउभाउबाट ब्वाईफ्रेन्डप्रति प्रेम दर्शाउँछिन्। यो भिडियो सामाजिक सञ्जालमा भ्यालेन्टाइन डेको सिम्बोल नै बनेको छ। यस भिडियोलाई अहिलेसम्म युट्युबमा मात्रै १ करोड ४९ लाखभन्दा धेरैले हेरिसकेका छन्। फेसबुक, ट्वीटरमा यही भिडियो शेयर गर्ने ट्रेन्ड चलेको छ। उजूरी दर्ता उनले आँखा झिम्क्याएको भिडियो धेरै चर्चामा आएपछि अहिले यी युवती विरुद्ध हैदरावादको पुलिस स्टेशनमा उजूरी परेको छ।

मुस्लिम युथ ग्रुपले दर्ता गरेको उजूरीमा उनका क्रियाकलापले मुस्लिमहरुको भावनामाथि ठेस पुगेको उल्लेख छ। उजूरीमा उल्लेख भएअनुसार यस भिडियोलाई धेरै मुस्लिम युवकहरुले मन पराए जुन, मुस्लिम भावना विपरीत छ। भिडियोमा देखिएकी युवती हुन्, मलयाली अभिनेत्री प्रिया प्रकाश वारिया। भर्खरै मात्र उनले मोडलिङ गरेको मलयाली गीत ‘मानिका मलयारा पूवी’ रिलिज भएको थियो ।

यो भिडियो क्लिप त्यही गीतको भिडियोबाट लिइएको हो। यो गीत प्रिया प्रकाशको अभिनय रहेको पहिलो फिल्म ‘ओरु अडार लभ’ ३ मा समावेश छ। फिल्म मार्चमा रिलिज हुँदैछ । फिल्मको निर्देशन ओमार लुलुले गर्दैछन्। १८ वर्षीया प्रिया प्रकाश वारिया केरलाबाट हुन्। उनी ग्राज्युयट पढ्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्