फेसबुकले बिथोलेको दैनिकी



फेसबुकले हाम्रो संस्कारभित्रको नाता सम्बन्धमा रहेको भावनात्मक तथा कर्तव्यबोधको गहिराइलाई औपचारिकतामा सीमित गर्दै लगेको छ ।

साधना प्रतीक्षा

काठमाडौँ — घाटको ब्रह्मनालमा राखिएको पार्थिव शरीरको फोटो सेयर गरिएको अनि त्यसलाई दिइएका असंख्य ‘लाइक’ देख्दा म चकित भएँ । अनायास मुखबाट निस्क्यो, ‘धन्य फेसबुक संस्कृति !’ प्रश्न आफैसँग गरेँ, ‘मृत्यु पनि लाइक हुन्छ र ?’ केटाकेटीमा पढेकी थिएँ, ‘लाइक’ले मनपराउनु भन्ने अर्थ दिन्छ ।

तर अहिले फेसबुकले यसको नयाँ अर्थ सम्प्रेषित गरिरहेको छ । कसले के लेख्यो वा के सेयर गर्‍यो, पुरै पढ्नु वा बुझ्नु नपर्ने, फेसबुक खोल्नासाथै जे देख्यो, त्यसैमा एक–एक लाइक गर्दै जानु अहिले फेसबुक प्रयोगकर्ताको धर्म बनेको रहेछ । अझै रोचक कुरा त के रहेछ भने कुनै व्यक्तिले आफ्नो रहर वा लहडमा लेखेका हरेक स्ट्याटस एवं फोटो दृश्यमा उसका फ्रेन्डहरूले पोजेटिभ कमेन्ट गरिदिनुपर्ने π यस्तै लाइक र कमेन्ट नै आज व्यक्तिको आफन्त र पराया वा शत्रुता र मित्रताको मापक बनिरहेको देखिन्छ । यति मात्र होइन, यसले नाता सम्बन्धभित्रै पनि दूरी बढाउने र घटाउने दुबै काम गरिरहेको छ ।

बिहान उठ्यो, एउटा स्ट्याटस लेख्यो वा कुनै फोटो–दृश्य आदि सेयर गर्‍यो, अनि बस्यो, त्यसमा आउने लाइक र कमेन्ट गन्न तथा त्यसको जवाफ दिन । अनि त दिन काटेको पत्तै नहुने π किन भौंतारिनु व्यर्थै कामको खोजीमा π केही समयअघि चीन घुम्न गएका एक आफन्त आत्तिँदै फर्केका थिए, किनकि उनी दिनभरजस्तो फेसबुकमा अपडेट हुने मान्छे, त्यहाँ त यहाँजस्तो फेसबुक चलाउन नपाइने रहेछ । अन्य कतिपय मुलुकमा पनि फेसबुकमा प्रतिबन्ध लगाएको पाइन्छ । केही देशमा भने यसका लागि निश्चित समय निर्धारण पनि गरिएको देखिन्छ । यस अर्थमा हामी भने निकै भाग्यशाली रहेछौँ, किनभने हामीकहाँ बाला, युवा, वयस्क, वृद्ध सबैले निर्वाध रूपमा यसको प्रयोग गर्न पाउँछौँ । के घर, के बाटो, के कार्यालय अनि के कलेज र विद्यालय π सर्वत्र यसले प्रवेश पाएको छ ।

विश्व परिवेशमा विज्ञान र प्रविधिले यति धेरै उन्नति गरिरहेको अवस्थामा हामी पनि सूचना प्रविधिको क्षेत्रमा यसरी विस्तारित हुनपाउनु पक्कै पनि गौरवको कुरा हो । फेसबुक लगायत सामाजिक सञ्जालका माध्यमबाट संसारको जुनसुकै कुनामा भएका आफन्तसँग एकाकार हुनसकेका छौँ । एकअर्काका गतिविधिसँग तुरुन्त परिचित हुनपाएका छौँ । भाइबर, मेसेन्जर आदिका माध्यमबाट निशुल्क कुराकानी गर्नेमात्र होइन, भिडियो कलका माध्यमबाट भौगोलिक रूपले टाढा रहेका आफन्त तथा मित्रसँग प्रत्यक्ष भेटघाटको अनुभूतिसमेत गरिरहेका छौँ ।

आफ्ना विचार, भावना तथा दृष्टिकोण फेसबुक तथा ट्विटरका माध्यमबाट आफन्त तथा मित्रबीच बाँड्नुका साथै त्यसको प्रचार–प्रसार गर्दै स्वस्थ प्रतिक्रियाद्वारा बौद्धिक विकासको अवसर पनि प्राप्त गरिरहेका छौँ । आफ्नो यात्रा, भावी कार्यक्रम, गन्तव्य आदिका बारेमा आवश्यक सूचना प्रवाह गर्ने सरल माध्यम पनि बनिरहेको फेसबुकले संसारभर छरिएर रहेका व्यक्तिहरूलाई वैचारिक तथा भावनात्मक रूपले जोड्ने काम पनि गरिरहेको छ । यस अर्थमा फेसबुक अत्यन्त उपयोगी भएकोमा कसैको दुईमत हुनसक्दैन ।

कुनै पनि कुराको फाइदा–बेफाइदा त्यसको प्रयोगमा भर पर्छ । फेसबुक जस्तो सामाजिक सञ्जालको प्रयोगमा पनि आज यही मान्यता लागु भैरहेको छ । हामीकहाँ यसको प्रयोगका लागि कुनै उमेर समूह, समय तथा स्थानको सीमा निर्धारित छैन, जसका कारण केही बालबालिका तथा अधिकांश किशोर–किशोरी प्रभावित देखिएका छन् । वैचारिक परिपक्वताको अभावका कारण उनीहरूलाई फेसबुक संस्कृतिले गलत बाटोतिर प्रेरित गरिरहेको देखिन्छ । स्कुल तथा कलेजमा समेत विद्यार्थीले लुकीछिपी यसको प्रयोग गर्नाले उनीहरूको पढाइ बिग्रिरहेको हुन्छ । कतिपय प्रविधिका नकारात्मक असरबाट अनभिज्ञ भएर वा त्यसप्रति बेवास्ता गरेर हामीले कलिला बालबालिकाका हातमा मोबाइल तथा ट्याब थमाउँदै फेसबुक र युट्युब संस्कृतितर्फ उनीहरूलाई प्रेरित गरिरहेका हुन्छौँ, जसको भावी प्रभाव भने सकारात्मक देखिँदैन ।

फेसबुक व्यक्तिको सामाजिक जीवनसँग सम्बन्धित हुनुपर्नेमा आजभोलि यसले व्यक्तिका नितान्त व्यक्तिगत अवस्था तथा प्रसङ्गहरूको प्रस्तुति गरेको देखिन्छ । कहिलेकाहीँ त यसका प्रयोगकर्ताले दाम्पत्य जीवनका निजी प्रसङ्ग, अवस्था, अभिव्यक्ति तथा फोटो सेयर गरेको देखिन्छ । यसले फेसबुकको सही उद्देश्य बहन गर्नसकेको देखिँदैन । यसैगरी कहिलेकाहीँ यो आपसी मनमुटाव तथा गालीगलौजको माध्यम पनि बन्ने गरेको पाइन्छ । किनभने यसमा स्ट्याटस लेख्ने अनि कमेन्ट गर्ने अस्वस्थ प्रतिस्पर्धा पनि हुने गर्छ । यसका कारण कतिपयको व्यक्तिगत तथा पारिवारिक जीवनमा नकारात्मक असर पर्नुका साथै बदनामसमेत भएका घटना पनि देखिएका छन् । यसैगरी मानिसहरू फेसबुकमा बढी केन्द्रित हुनाका कारण दैनिक जीवनका अन्य पक्षमा असहजता उत्पन्न पनि हुने गर्छ ।

कुनै पनि मुलुक र समाजलाई कमजोर पार्न त्यहाँको भाषा, कला तथा संस्कृतिमाथि प्रहार गर्ने गरिन्छ । यसरी प्रहार गर्ने एउटा माध्यम अहिले फेसबुक आदि सामाजिक सञ्जालको गलत प्रयोग पनि बनिरहेको छ । नक्कली एकाउन्ट बनाएर जाति, वर्ग, सम्प्रदाय तथा संस्कृतिमाथि आरोप–प्रत्यारोप गर्ने, सामाजिक सहिष्णुता र सद्भाव खलबल्याउने कार्य पनि हुने गर्छ । यस्तै निर्वाचनका बेला यो राजनीतिक परिवेशमा हिलो छ्यापाछ्याप गर्ने सर्वसुलभ साधन पनि बनेको देखिएको छ । यसैगरी हाम्रो सामाजिक परिवेशमा अश्लील लाग्ने दृश्य तथा तस्बिर, यौन उत्तेजनामूलक विषयवस्तु आदि सेयर गरिनाले परिवार तथा बालबच्चासामु फेसबुक खोल्दा लज्जित हुनुपर्ने अवस्था पनि आउने गर्छ । यस प्रकारका सामग्री समाजमा विकृतिको बाहक बन्ने गरेको देखिन्छ । फेसबुकको पाश्चात्य संस्कृतिको प्रभावमा आज हाम्रो परम्परागत पारिवारिक मूल्य–मान्यता पनि ओझेलमा पर्दै गएको छ । घर–परिवारमा एक–अर्काप्रतिको दायित्वबोध गर्नु अनि परेको बेला साथ–सहयोग गर्नुभन्दा फेसबुकमार्फत शुभेच्छा र खुसी व्यक्त गरिनुलाई महत्त्व दिइने हुनाले नै आज फेसबुकका लाइक र कमेन्टका आधारमा सम्बन्ध बन्ने र बिग्रने गरेको पाइन्छ । हाम्रो संस्कारभित्रको नाता सम्बन्धमा रहेको भावनात्मक तथा कर्तव्यबोधको गहिराइलाई यसले औपचारिकतामा सीमित गर्दै लगेको देखिन्छ । फेसबुकलाई व्यक्तिगतभन्दा सामाजिक जीवनसँग आबद्ध गरिनुका साथै लाइक, कमेन्ट र सस्तो मनोरञ्जनभन्दा माथि उठेर व्यक्तिगत मात्र नभई सामाजिक सञ्जालकै रूपमा प्रयोग गरिनुपर्ने बहस पनि आजको आवश्यकता बनेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्