मिडिया हबका मालिक सोम धितालले फेरि कलाकारलाई धरधरी रुने अवस्थामा पुर्याएका
छन् ।
चर्चित टेलिशृंखला भद्रगोलबाट जमेका कुमार कट्टेल र अर्जुन घिमिरेहरुलाई गलहत्याएर यसै सातादेखि शंकर आचार्यलाई भित्र्याएको छ । यसरी धुर्मुसका भाइ कुमारलगायतलाई निकाल्नुको खास कारण हो, रौतहटको सन्तपुरमा धुर्मुस सुन्तली फाउण्डेसनद्वारा निर्मित एकीर्कत बस्तीकै विषयमा केन्द्रित शृंखला निर्माण ।
३४ मिनेटको यो शृंखला काटेर २० मिनेटमा झारी उँट बनाइदिने कर्मचारी हुन् मनराज श्रेष्ठ । उनले मिडिया हबका लगानीकर्ता तथा एनएनएस क्रियसनका सुदीप थापाको निर्देशनमा यो शृंखलालाई उँट बनाइदिएका छन् । यता, मिडिया हबबाट पैसा नपाएर कलाकारको बेहाल छ ।
उनीहरले प्रतिशृंखला १ लाख ५ हजारमा बनाउने सम्झौता गरेका थिए । २७ भागको पैसा लिन बाँकी छ । ऋण खोजेर बनाएको भद्रगोल शृंखलाको पैसा कसरी चुक्ता गर्ने सोम धितालसँग उठाउने भन्ने चिन्तामा रुमल्लिएका छन्, कलाकार । कलाकारलाई नतिरेका धितालले नेपाल टेलिभिजनलाई समेत करोडौं बुझाउन बाँकी छ । नियम कानून अनुसार धिताल नेपाल टेलिभिजनको कालोसूचीमा पर्नुपर्ने व्यक्ति हुन् । तर, तिनैलाई अस्ति टेलिभिजनको वार्षीकोत्सवमा सम्मान गरिएको छ ।
यता, यस विषयमा जनआस्थाले सम्पर्क गर्दा शंकर आचार्य पहिलेदेखि नै भद्रगोलमै रहेको र छाडी गएका कलाकारलाई छिट्टै फर्काइने प्रयास भइरहेको धितालले प्रतिक्रिया दिए ।