प्रणय दिवसको औपचारिक शुरुआत सन् २६९मा रोमबाट शुरु भएको मानिन्छ । रोमका तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए ।सम्राट्को आदेशको उल्लंघन गर्दै त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि धेरै सैनिकको उनले सार्वजनिक रुपमा विवाह गराएको बताइन्छ ।आदेश तोडेको आरोपमा उनलाई इ.पू ७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउन थालिएको हो ।विश्वभरि नै यस दिनलाई उत्सवका रूपमा मनाउने गरिन्छ । नेपालमा अझै पनि खुला रुपमा प्रेमको कुरा गर्नु विपरीत लिंगीसँगै हिँड्नुलाई सकारात्मक रुपमा सहज रुपमा ग्रहण गरिंदैन ।
प्रणय दिवसले नेपालमा धेरै विकृति भित्रिएको भन्दै यसको विरोध गर्ने पनि छन् । जसले आफ्ना छोराछोरी प्रेममा नफसून् भन्ने धारणा राख्नेको कमी छैन ।पछिल्लो समय छिट्टै आकर्षण हुने र अलग हुने क्रम पनि बढ्दो छ । ६५ वर्षीया मञ्जु थापा पछिल्लो समय युवाहरुमा प्रेम गर्दै छाड्ने चलन बढेकोप्रति असन्तुष्ट छन् ।‘खुला रुपमा प्रेम गर्ने अनुमति त्यो बेला थिएन तर अहिले त आज एउटासँग प्रेम छ, भोलि अर्कोसँग यो विकृति नभए के होला ? अहिलेका युवाको प्रेमप्रतिको भावना देखेर चिन्ता लाग्छ ।’ उनले भनिन् ।एक अर्काबीच व्यक्त गर्न नसकेको प्रेमलाई व्यक्त गर्ने र प्रेममा भएका जोडीले माया अझ प्रकट गर्ने दिनका रुपमा आजको दिनलाई उपयोग गर्छन् । आजको दिन युवाले आफ्ना प्रेमीप्रेमिकालाई रातो गुलाफका साथ विभिन्न उपहार आदानप्रदान गरेर प्रेम दिवस बनाउने गर्छन् ।