प्रधानमन्त्री ओलीलाई बधाई



एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले दोस्रोपटक प्रधानमन्त्रीको शपथ लिएका छन् । हिजो छिटोछिटो बदलिएका राजनीतिक घटनाक्रममा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा दिनुअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको समर्थनमा संसद्को बहुमत पुग्ने भन्दै प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए । राष्ट्रपति कार्यालयले तत्काल उनलाई नियुक्त गर्दै हिजै शपथ ग्रहण कार्यक्रम आयोजना गर्‍यो । प्रधानमन्त्री ओलीले हिजै थप दुईजना सदस्यसहित मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्रीका रूपमा दोस्रो कार्यकाल सुरु गर्न लागेका ओली यसपटक अघिल्लो कार्यकालमा भन्दा निकै बलशाली हैसियतमा पदमा फर्केका छन् । यतिवेला उनको दल संसद्मा सबैभन्दा ठूलो दलका रूपमा छ र माओवादी केन्द्रको समर्थन र उससँगको गठबन्धनका कारणले उनलाई संसद्मा तत्काल कुनै चुनौती देखिन्न । झन्डै १९ महिनापछि फेरि नेपालका प्रधानमन्त्रीका रूपमा शपथ लिएका प्रधानमन्त्री ओलीसामु अब पहिलेकोजस्तो चुनौती पनि छैन तथा पहिलेकोजस्तो शंकाको लाभ पाउने अवस्था पनि छैन । उनले पद बहाली गरेको दिनदेखि नै के–के काम गर्नेछन् र के–के परिणाम दिएका छन् भनेर सम्पूर्ण जनताले अभिलेख राख्न थाल्नेछन्।

चुनौतीका तुलनामा प्रधानमन्त्री ओलीका लागि अवसर नै बलिया छन्, जसलाई व्यवस्थापन गर्ने कुशलता भने उनले देखाउनै पर्नेछ

अघिल्लो कार्यकालमा ओलीले नेपालको सार्वभौम सत्ता रक्षाका लागि लिएको अडानले जनताको पक्षमा खास काम नगरे पनि लोकप्रियता भने पाएका थिए । उनले देशका लागि केही गर्ने चाहना राख्दाराख्दै पनि नाकाबन्दीका कारण काम गर्न नपाएको भन्दै सरकारबाट बाहिरिँदा पनि लोकप्रिय समर्थन गुमाएका थिएनन् । यसपालि भने अवस्था सहज छैन । उनी स्थिर सरकार र आर्थिक समृद्धिको नारा दिएर निर्वाचनमा अपिल गर्न गएका थिए । वामपन्थी गठबन्धनसहित मतदातासँग आफ्ना लागि जित माग्न गएका ओलीलाई जनताले समर्थन गरेका छन् । यसैगरी यसपटक स्थानीय तहदेखि प्रदेश सरकारसम्म एमालेसहित वाम गठबन्धनको अधिकांश स्थानमा सरकार बनेको छ । यी तीनै तहका सरकारको सफलता असफलतासँग ओलीको भविष्य गाँसिएको छ ।

यसैगरी उनले समृद्ध नेपालको सपना साकार पार्न के गर्नेछन् भन्ने पनि परीक्षण हुनेछ । आर्थिक सूचक राम्रा नभएको तथा भ्रष्टाचारले सम्पूर्ण राज्यसंयन्त्र सुशासनका सूचकका दृष्टिले पंगु भएको सन्दर्भमा उनले सुशासन कायम गर्न र जनतामा परिवर्तनको आभास दिन के–के गरे भनेर हिसाब राखिनेछ । यता भारत र चीनका स्वार्थबीच फुकीफुकी पाइला चाल्न र सन्तुलित विदेश नीतिका माध्यमबाट दुवै देशको समृद्धिबाट देशले फाइदा लिन सक्ने गरी चल्नु उनका लागि अर्को चुनौती हुनेछ । आरम्भमै उनले माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन सकेनन् । यसले गठबन्धनमा केही न केही दरार रहेको सन्देश प्रसारित भएको छ । यसलाई व्यवस्थापन गर्न र दलभित्रको अन्तरविरोध सहज ढंगले हल गर्न सकेनन् भने उनलाई आफ्नो कार्यकाल स्थिर राख्न सहज हुनेछैन । तर, यी चुनौतीका तुलनामा उनका लागि अवसर नै बलिया छन्, जसलाई व्यवस्थापन गर्ने कुशलता भने उनले देखाउनै पर्नेछ । नयाँ कार्यकालका लागि प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना !

प्रतिक्रिया दिनुहोस्