विराटनगर, ४ फागुन २०७४
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिँजो पदभार ग्रहण गर्नुभएको छ ।
मुख्यमन्त्री राईले सरकारका प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई नियुक्त गर्नुभएको छ ।
मुख्यमन्त्री राईको अध्यक्षतामा हिजै बसेको मन्त्रिपरिषद्को बैठकले शहीदहरुको सम्झनामा एक–एक नमूना गाउँ बस्ती निर्माण गर्ने निर्णय पनि गरेको छ ।
प्रदेश नं १ मा प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनमा शहादत दिनुभएका जननेता मदन भण्डारीको जन्मस्थल ताप्लेजुङको ढुङ्गेसाँघु, रत्नकुमार बान्तवाको जन्मस्थल इलाम, बमप्रसाद बान्तवाको हत्या गरिएको स्थल इलाम, चमेता, सुखानी हत्याकाण्ड स्थल झापा, रामलक्ष्मणको हत्यास्थल ओखलढुङ्गा रामपुर र धनकुटाको छिन्ताङ हत्याकाण्ड स्थल रहेका छन् ।
त्यस्तै नेत्र गुरागार्इंको हत्यास्थल तेह्रथुमको आङबुङ, २००७ सालका योद्धा रामप्रसाद राईको जन्मस्थल भोजपुर, बासीखोरा, हरि नेपाल र चन्द्रबहादुरको हत्यास्थल संखुवासभा, स्याबुन, जमीन राईको हत्यास्थल भोजपुर, हतुवागढी आदि छन् ।
मन्त्रिपरिषद्को बैठकले २०७४ कार्य विभाजन, सम्पादन र प्रदेशस्तरको सार्वजनिक लिखित प्रमाणीकरण नियमावली स्वीकृत गरेको छ ।
चाँडै मन्त्रिमण्डलले पूर्णता लिने र महिला पनि मन्त्रिमण्डलमा सहभागी हुने जनाइएको छ ।