झापादेखि सिंहदरबारसम्म : ओलीको विगत



एमालेका अध्यक्ष केपी ओली मुलुकको ४१औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनले बिहीबार नै पद तथा गोपनियाताको शपथ ग्रहण गरेका छन् । उनको राजनीतिक जिवन निकै उतार चढावपूर्ण छ । उनी लामो समय जेल परेका थिए ।

प्रधानमन्त्री ओलीको विगत यस्तो छः

जन्म ११ फागुन ००८, इवा–२, तेह्रथुम, माता–स्व. मधु ओली पिता– मोहनप्रसाद ओली । ०२० सालदेखि झापामा बसोबास ।

०२३ सालमा माक्र्सवादी अध्ययन दलमा संगठित, ०२५ सालदेखि पूर्णकालीन राजनीतिक कार्यकर्ता, ०२६ माघमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त ।

१६ फागुन ०२७ मा झापामा पहिलोपटक गिरफ्तार । ०३० सम्म १० पटक गिरफ्तार र रिहा । ०२८ मा झापा आन्दोलन संगठन कमिटीको प्रमुखमा मनोनीत ।

२३ असोज ०३० मा राज्य विप्लव तथा विध्वंसात्मक कार्यलगायतका विभिन्न आरोपमा गिरफ्तार, चार वर्ष गोलघरसहित १४ वर्ष जेल सजाय ।

११ पुस ०३५ मा जेलमै रहँदा नेकपा मालेका संस्थापक नेताको हैसियत । ११ असार ०४४ मा जेलबाट रिहा, पुस २ गते पार्टीको केन्द्रीय सदस्य मनोनीत ।

०४६ मा तत्कालीन नेकपा (माले) को लुम्बिनी अञ्चलको इन्चार्जको जिम्मेवारी बहन । १ जेठ ०४७ मा पार्टीको युवा संस्था– प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष ।

२२ पुस ०४७ मा माले र माक्र्सवादी मिलेर गठन भएको एमालेको संस्थापक केन्द्रीय सदस्य । ०४८ को संसदीय चुनावमा झापा ६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित । ०५१ को मध्यावधि निर्वाचनमा झापा–२ बाट प्रतिनिधिसभामा निर्वाचित । १४ मंसिर ०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकारका गृहमन्त्री ।

०५६ मा झापा–६ बाट प्रतिनिधिसभामा पुनः निर्वाचित, ०५६–०५९ मा संसद्मा प्रमुख प्रतिपक्षी दलको उपनेता ।

०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री । ०७० मंसिरमा झापा–७ बाट संविधानसभा सदस्यमा निर्वाचित । २१ माघ ०७० मा संविधानसभा तथा व्यवस्थापिका संसद्को दलका नेतामा निर्वाचित ।

१ साउन ०७१ मा नवौँ राष्ट्रिय महाधिवेशनबाट एमाले अध्यक्ष निर्वाचित । २४ असोज ०७२ मा प्रधानमन्त्रीमा निर्वाचित, ९ साउन ०७३ मा राजीनामा ।

३ फागुन ०७४ मा दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त र शपथग्रहण ।

प्रतिक्रिया दिनुहोस्