शाही बने प्रदेश ६ को मुख्यमन्त्री



माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही प्रदेश ६ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । एमालेको समर्थनमा शाही मुख्यमन्त्री नियुक्त भएका हुन् ।

संविधानअनुसार निर्वाचनको मतपरिणाम आएको ३० दिनभित्र मुख्यमन्त्री नियुक्त गरिसक्नुपर्ने थियो । सोही व्यवस्थाअनुसार ३०औँ दिनमा शाही मुख्यमन्त्री नियुक्त भएका हुन् ।

३ बजे शपथग्रहण
मुख्यमन्त्री शाहीले शनिबार ३ बजे शपथग्रहण गर्ने कार्यक्रम छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गराउँछन् । सत्तारूढ दल एमाले र माओवादीका नेतासँगको छलफलपछि शपथग्रहणको समय निर्धारण भएको हो । भनी आजको नयाँ पत्रिकामा खबर छ ।

शपथग्रहणमा सानो मन्त्रिमण्डल बनाउने तयारीसमेत भएको छ । माओवादीले शनिबार बिहान छलफल गरी मन्त्रीको नाम टुंगो लगाउने तयारी गरेको छ । एमालेले पनि मन्त्रीका लागि सहमति जुटाउने प्रयास गरिरहेको छ ।

प्रशस्त चुनौती छन् : मुख्यमन्त्री शाही
‘हामीले विस्तृत रूपमा सरकार गठन भएपछि नीति तथा कार्यक्रम सार्वजनिक गर्छौँ, त्यहाँ प्रदेश ६ को समृद्धिका कार्यक्रम हुनेछन् । यो प्रदेश चुनौतीको पहाडमा छ,’ मुख्यमन्त्री नियुक्त भएपछि शाहीले भने, ‘आर्थिक घाटामा रहेको प्रदेश हो ।

अहिलेसम्म अनुदानमा चलेको छ । त्यसकारण यसलाई आत्मनिर्भर बनाउने गरी कार्यक्रम ल्याइनेछ । शनिबार सानो भए पनि मन्त्रिमण्डल बन्छ ।’

प्रतिक्रिया दिनुहोस्