प्रदेश ७ मा भट्ट मुख्यमन्त्री नियुक्त



प्रदेश नम्बर सातको मुख्यमन्त्रीमा माओवादी नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् । प्रदेश प्रमुख मोहनराज मल्लले बिहीबार भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

भट्टले एमाले र माओवादीका ३६ सांसदको समर्थनमा बुधबार प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । प्रदेश प्रमुखको कार्यालयमा बिहीबार प्रदेश प्रमुख मल्लले मुख्यमन्त्री नियुक्त भएको पत्र भट्टलाई प्रदान गरे ।

प्रदेश सभामा सांसद भट्टको पक्षमा स्पष्ट बहुमत रहेको देखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । एमाले र माओवादी सांसदसहित भट्ट मुख्यमन्त्रीमा नियुक्तिको पत्र लिन प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

मुख्यमन्त्री भट्ट डोटीको प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित सांसद हुन् । प्रदेश नम्बर सातमा माओवादी नेतृत्वमा सरकार गठन गर्ने सहमति वाम गठबन्धनबीच भएको थियो । ५३ सदस्यीय प्रदेश सभामा एमालेका २५ जना, माओवादीका १४ जना, कांग्रेसका १२ जना र राष्ट्रिय जनता पार्टीका २ जना सांसद छन् ।

शपथग्रहण शनिबार
नवनियुक्त मुख्यमन्त्री भट्टले शनिबार शपथग्रहण गर्नेछन् । प्रदेश प्रमुखको कार्यालयले शनिबार दिउँसो ३ बजे शपथग्रहणको कार्यक्रम राखेको छ । प्रदेश प्रमुख मल्लले मुख्यमन्त्री भट्टलाई शपथग्रहण गराउनेछन् ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव हिरालाल चौधरीले शनिबार दिउँसो ३ बजे मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रम तय भएको जानकारी दिए ।

‘सम्भावनाको उपयोग गरी विकास गर्छु’
नवनियुक्त मुख्यमन्त्री भट्टले प्रदेश नम्बर सातका सम्भावनाको उपयोग गरेर प्रदेशलाई समृद्ध बनाउने बताए । मुख्यमन्त्रीमा नियुक्त भएपछि पत्रकारसँग कुरा गर्दै उनले प्रदेशलाई समृद्ध बनाउनु आफ्ना लागि चुनौती र अवसर दुवै भएको बताए ।

‘हिजोदेखि एकात्मक राज्य व्यवस्थाबाट उपेक्षा र उत्पीडनमा परेको क्षेत्र हो । हामी विकासमा पछाडि छौँ, अभाव छन् ।

तर, सम्भावना पनि धेरै छन्,’ मुख्यमन्त्री भट्टले भने, ‘अब हामीले आफ्नो विकास आफैँले गर्ने अधिकार पाएका छौँ । सुदृढ प्रशासन र प्राकृतिक स्रोतको सही तरिकाले परिचालन गर्ने हो भने विकासमा फड्को मार्न सक्छौँ ।’

जलस्रोत र जडीबुटीको उपयोग, कृषिको आधुनिकीकरण, पर्यटकीय क्षेत्रको विकास, भ्रष्टाचार अन्त्य र ससुशासनलाई आफूले प्राथमिकता दिने उनले बताए । मुलुकमा पहिलोपटक कार्यान्वयन हुन लागेको संघीयताको बलियो जग बसाल्नु पनि आफ्नो प्राथमिकता रहने भट्टले बताए । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्