नेपालको साहस



काठमाडौँ — पारस खड्काको शतक पन्छाउँदै यूएईले नेपालमाथि ७ रनको जितबाट विश्व क्रिकेट लिग डिभिजन २ को उपाधि हात पारेको छ । बिहीबार यूएईलाई जितेको भए उपाधिको हिसाबमा नेपालले सबैभन्दा ठूलो सफलता पाउने थियो ।

नामिबियामा भएको प्रतियोगिताको फाइनल प्रवेशसँगै नेपाल र यूएई दुवै अर्को महिना जिम्बावेमा हुने विश्वकप छनोटमा पुगेका छन् । विन्डहकस्थित वान्डरर्स पार्कमा टस जितेको यूएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाई २ सय ७७ रन जोड्यो । पारस क्रिजमा रहेको अवस्थामा नेपाललाई जितका निम्ति अन्तिम ३ ओभरमा ३४, २ ओभरमा ३१ र अन्तिम ओभरमा २८ रन आवश्यक थियो ।
अन्तिम ओभरको पहिलो दुई बलमा पारस र वसन्त रेग्मीले १–१ रनमात्र जोडेपछि नेपालको पराजय निश्चित भइसकेको थियो । पारसले तेस्रो बलमा छक्का प्रहार गर्दै शतक पूरा गरे । चौथो बल डट खेलेका पारसले मोहम्मद नाभिदको अन्तिम २ बलमा लगातार छक्का प्रहार गरी हार अन्तर घटाएका थिए ।
पारसको नटआउट १ सय १२ रनमा नेपालले ८ विकेट गुमाई २ सय ७० रन बनायो । १ सय ३ बल खेलेका उनले ३ चौका र ८ छक्का प्रहार गरे । कप्तानले दीपेन्द्र ऐरीसँग तेस्रो विकेटमा ७३, शरद भेषावकरसँग चौथोमा ६३ र छैटौं विकेटमा रोहित पौडेलसँग ४२ रनको साझेदारी गरेपछि नेपालले यूएईलाई बलियो चुनौती दिएको थियो । दीपेन्द्रले ६६ बलमा २ छक्कासहित ३५, शरदले ३७ बलमा ३ चौकासहित ३० र रोहितले १७ बलमा ३ चौका प्रहार गरी २३ रन बनाए ।
ओपनरद्वय ज्ञानेन्द्र मल्ल २५ बलमा २४ र दिलीप नाथ २९ बलमा १३ रन बनाई आउट भए । तल्लोक्रममा आरिफ शेख ७, करण केसी २, सोमपाल कामी ६ रनमा आउट भएपछि पारसले सहयोगी पाएका थिएनन् । वसन्त ६ बलमा ५ रन बनाई नटआउट रहे ।
यसअघि अस्फाक अहमदले १ सय १४ रन बनाउँदा यूएईले राम्रो स्कोर बनाएको थियो । अस्फाकले १ सय २३ बल खेल्दै १० चौका र ३ छक्का प्रहार गरे । उनले रोहन मुस्ताफासँग १ सय ९ रनको साझेदारी गरेका थिए । मुस्ताफालाई ५१ रनमा आउट गरी वसन्तले नेपाललाई २५ औं ओभरमा पहिलो सफलता दिलाएका थिए । अहमदलाई ४३ औं ओभरमा सन्दीप लामिछानेले आउट गरे । रमिज शेहजाद ४६ बलमा ४१ रन बनाई नटआउट रहे । साइमन अनवरले २४ बलमा २ चौका र ३ छक्का प्रहार गरी ४० रन बनाए । सन्दीपले १० ओभरमा ३९ र वसन्तले ५३ रन दिएर १–१ विकेट लिए । सोमपालले ९ ओभरमा ५६ रन खर्चेका थिए १ विकेट लिन ।
नेपालले राउन्ड रोबिनको खेलमा यूएईलाई ४ विकेटले पराजित गरेको थियो । नेपालले राउन्ड रोबिनमा ४ खेल जितेर ८ अंक बटुलेको थियो । यूएई, ओमान र आयोजक नामिबियाको ६–६ अंक भए पनि राम्रो रनरेटका कारण यूएई फाइनल पुगेको थियो ।
अफगानिस्तानको समूहमा नेपाल
नेपाल विश्वकप छनोटको समूह ‘बी’ मा जिम्बावे, अफगानिस्तान, स्कटल्यान्ड र हङकङसँग परेको छ । समूह ‘ए’ मा वेस्ट इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र यूएई छन् । जिम्बावेमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले सन् २०१९ मा इङ्ल्यान्डमा हुने विश्वकपमा प्रवेश पाउनेछ ।
नेपालले मार्च ४ मा जिम्बावेसँग खेलेर प्रतियोगिता सुरु गर्नेछ । वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्ड र अफगानिस्तान टेस्ट मान्यताप्राप्त राष्ट्र हुन् । नेदरल्यान्ड्ससँग वान–डे अन्तर्राष्ट्रिय मान्यता छ । यी बाहेक विश्वकप छनोटमा शीर्ष तीनमा पर्ने राष्ट्रले वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउने छ । पुछारका दुई टोली फेरि डिभिजन २ मै फर्किने छन् ।

पारसको तेस्रो शतक
कप्तान पारस खड्का नेपाली राष्ट्रिय टोलीबाट तीन शतक बनाउने पहिलो खेलाडी बनेका छन् । यूएईसँग बिहीबार नटआउट १ सय १२ रन बनाउँदैपारसले यो कीर्तिमान बनाएका हुन् । यसअघि राष्ट्रिय टोलीबाट अनिल मण्डलले पनि दुई शतक बनाएका छन् । शक्ति गौचन र शरद भेषावकरको नाममा पनि उमेर समूह र राष्ट्रिय टोलीबाट गरी २–२ शतक रहेको छ ।
पारसले सन् २०१२ मा एसीसी ट्रफी इलिटमा कुवेतविरुद्ध १ सय ६ तथा दुई वर्षअघि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध १ सय ३ रन बनाएका थिए । नामिबियासँगको खेलमा मात्र पारसको शतकमा नेपालले विजय हात पारेको छ । बिहीबार पारसले अन्तिम ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए । अन्तिम तीन बलमा २० रन बनाउनुपर्ने भएकाले त्यतिखेर नेपालको पराजय निश्चित भइसकेको थियो ।
यूएईसँगको स्कोर पारसको व्यक्तिगत रलिस्ट ‘ए’ मान्यताप्राप्त खेलमा नेपाली खेलाडीको उच्च स्कोर पनि हो । लिस्ट ‘ए’ मान्यता खेलमा पारस दोस्रो शतक बनाउने पनि नेपालका पहिलो खेलाडी हुन् ।
यूएईसँगको इनिङ्सले पारसलाई नामिबिया भएको डिभिजन २ मा उच्च स्कोरर पनि बनायो । उनले कुल २ सय ४१ रन जोडे । यूएईका अस्फाक अहमदले २ सय ३७ रन बनाए । अस्फाकले फाइनलमा नेपालसँग १ सय १४ रन बनाएका थिए । २०१५ मा नामिबियामै भएको डिभिजन
२ मा पारस म्यान अफ द सिरिजमा चुनिएका थिए । यसपालि यो पुरस्कार नेपालकै सन्दीप लामिछानेले पाए । उनले प्रतियोगितामा कुल १७ विकेट लिएका थिए । (कान्तिपुर)

प्रतिक्रिया दिनुहोस्